‘भर्चुअल बैठक’ ले नेकपा कर्णालीमा खैलाबैला

सुर्खेत, १५ बैशाख ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले प्रचण्ड–नेपाल समूहको घेराबन्दी केन्द्रमा सामना गरिरहनुभएको । राजनीतिक दल विभाजन सम्बन्धीको अध्यादेश पार्टीभित्र छलफल नगरी ल्याएको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो । पार्टीभित्र आलोचना र घेराबन्दी हुन थालेपछि प्रधानमन्त्री ओलीले अध्यादेश त फिर्ता लिनुभयो तर घेराबन्दी टुङ्गिएको छैन ।

केन्द्रकै समूहगत झझल्को दिने गरी कर्णाली प्रदेश सरकार र कर्णालीको पार्टी नेतृत्वको भर्चुअल बैठक आइतबार भएको छ । ओली पक्षिय नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कँडेल र कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटीलाई वाईपास गरी उनीहरुलाई सहभागिता नै नगराएर भर्चुअल बैठक गरिएको हो ।

नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर वोगटी र सह–इन्चार्ज यामलाल कंडेललाई थाहै नदिई सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भर्चुअल बैठक गर्नुभएको छ । पार्टीका कर्णाली इन्चार्ज जनार्दन शर्मा र पार्टी सचिव मायाप्रसाद शर्मा छलफल भएपछि प्रदेश सरकारका गतिविधि र पार्टीको भूमिका विषयमा छलफल गर्ने गरी भर्चुअल बैठकको आयोजना गरिएको थियो । एउटा समूहलाई बाइपास गरी बैठकको आयोजना गरिएपछि नेकपा कर्णाली वृत्तमा खैलाबैला मच्चिएको छ ।

भर्चुअल बैठकमा नेकपा प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह–इन्चार्ज तथा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, नेकपा प्रदेश सचिव माया प्रसाद शर्मा, मुख्यमन्त्री महेन्द्र बहादुर शाही, प्रदेशका मन्त्रीहरुको सहभागिता रहेका स्रोतको भनाई छ ।  बैठकमा नेकपा सहइन्चार्ज ज्वालालाई पार्टीको भूमिका भन्दापनि सरकारको मन्त्रीको हैसियले बैठकमा बोलाएर साँची राखिएको थियो । मुख्यमन्त्री महेन्द्र बहादुर शाही सचिवालयको आधिकारिक पेजबाट आइतबार साँझ सार्वजनिक गरिएको भर्चुअल बैठकको तस्वीरमा सरकारका मन्त्री र पूर्व माओवादी पक्षधरका नेताहरुको मात्रै बैठकमा सहभागिता भएको देखिन्छ ।

नेकपा कर्णाली सहइन्चार्ज नेता यामलाल कंडेलले आइतबारनै कर्णाली प्रदेशका मन्त्रीहरुले आफ्ना जिल्लाका नागरिकहरुलाई स्वास्थ्य परिक्षण नै नगरी आफुखुशी भित्र्याउने होडबाजी चलेकोतर्फ लक्षित गर्दै आफ्नो सामाजिक सञ्जालमा स्टाटससमेत लेख्नुभएको छ । ‘अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना भाईरसको प्रभाब देखिएको छैन । राम्रो कुरा हो । यस्तै रहिरहोस हामी सबैको कामना छ । सबै आ–आफ्नो स्थानमा सजग नै रहेको पाईन्छ । प्रदेश सरकारले पनि आफ्नो सक्रियता बढाइरहेको हुदा हुँदै पनि सरकारमा रहनुभएका साथीहरूले जे गरिरहनु भएको छ गम्भीरतापूर्वक समीक्षा गरी लकडाउन अनुकुलको निर्णय र व्यवहार गर्न हार्दिक अनुरोध गर्दछु’ नेता कँडेलले लेख्नुभएको छ ।

नेकपा सहइन्चार्ज कँडेलको यो स्टाटसपछि मुख्यमन्त्री शाहीले इन्चार्जसँग कुराकानी गरेको नेकपा श्रोतको दाबी छ । नेकपा कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कंडेलले उक्त बैठक बारे कुनै पनि जानकारी नभएको बताउँदै भए गरेका कुराको बारेमा अनभिज्ञता प्रकट गर्नुभएकोछ । ‘मलाई केहि जानकारी नै छैन ।’ उहाँले भन्नुभयो, ‘यस बारेमा मैले थप कुरा के भन्नु र ?’ ‘प्रदेश सरकारले आयोजना गर्ने यस्तो बैठकमा पूर्व एमाले पक्षधरका नेतालाई वाईपास भएको छ । यो आपत्तिजनक छ ।’ अनेरास्ववियू सुर्खेतका संयोजक धुपेन्द्र शाहीले सामाजिक सञ्जालमा लेख्नुभएकोछ ‘सरकारले नै गुट चलाईरहेको छ जस्तो महसुस भएको छ ।’

तपाईको प्रतिक्रिया