बालुवाटारमा ओली र गौतमको चर्काचर्की

काठमाडौं, १४ बैशाख ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । शनिबार साँझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ । अध्यादेश प्रकरणपछि स्थायी समिति बैठककोे माग भइरहेका बेला त्यसलाई टार्ने योजनामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली लागेका छन् ।

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका बहुसंख्यक नेताहरु बैठक बोलाएर त्यसको छिनोफानो गर्ने पक्षमा छन् । यहि क्रममा प्रधानमन्त्री ओलीले शनिबार पार्टी सचिवालयका चार शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटेर सचिवालय बैठक तत्काल नबोलाउने संकेत दिइसकेका छन् । ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुटार बोलाएर छलफल गर्दै अध्यादेश फिर्ता भएको अवस्थामा स्थायी समिति बैठक बोलाउन आवश्यक नभएको भन्दै टार्न खोजेका थिए ।

तर ओली र गौतमबीच शनिबारको भेटवार्तामा चर्काचकीमात्रै होइन, एकले अर्कालाई देखाइदिने सम्मको चुनौती दिएका छन् । स्रोतका अनुसार भेटमा नेता गौतमले ओलीलाई बेमौसममा अध्यादेश ल्याएर पार्टी र सरकारकै बद्नाम भएको भन्दै तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न सुझाएका थिए । तर, गौतमको यस्तो सुझाव सुनेर आक्रोसित बनेका ओलीले यसको हिसाव किताव राम्रैसँग गर्ने जवाफ फर्काएका थिए । नेताहरुबीच विवाद चर्कदै गएपछि एकले अर्कोलाई हैसियत देखाउने सम्मका अभिव्यक्ति दिएका थिए ।

‘तपाईले बेमौसममा अध्यादेश ल्याएर गम्भीर गल्ती गरिसक्नुभयो । यसमा तपाइको मनस्थिति ठिक देखिएन । अब खुरुक्क राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् । त्यसैमा तपाईको भलो हुन्छ’, ओलीलाई गौतमको सुझाव थियो । तर गौतमको सुझाव सुनेपछि ओली आक्रोसित मात्र भएन्न, गौतमलाई देखाइदिने धम्की नै दिएका थिए । ओलीले गौतमलाई धम्क्याउदै भनेका थिए, ‘यो त अति भो, पाटीभित्रैबाट यस्तो षडयन्त्र हुन्छ भन्ने मैले सोचेको पनि थिइँन । म राजीनामा कुनै हालतमा दिन्न । सक्नुहुन्छ भने हटाएर देखाउनुस् ।’

बालुवाटार श्रोतका अनुसार दुई नेताबीच झण्डै आधा घण्टा यस्तो चर्काचर्की परेको थियो । आफूविरुद्ध मोर्चाबन्दी भइरहेको भन्दै ओलीले त्यसको हिसावकिताव आफुसँग रहेको भन्दै गौतमलाई धम्क्याएका थिए । गौतम नेकपाभित्रका हक्की स्वभावका नेता हुन् । नेकपाभित्र ओलीको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेको छ । अध्यादेशको चर्को विरोधपछि फिर्ता लिएका प्रधानमन्त्री ओलीले शुक्रबार विपक्षी दलका नेता शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुटटै र सामूहिक भेटवार्ता गरेका थिए ।

गत बैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्िवधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ संशोधन गर्ने निर्णयलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ति दुवै अध्यादेश प्रमाणिकरण गरेकी थिइन् । त्यसको चार दिनमै १२ गते अध्यादेश फिर्ता लिनुपरेको थियो ।

अप्ठ्यारोमा ओली : नेताहरुको तीव्र दौडधुपको सन्देश के ?
लकडाउनकै बीच केही दिनयता सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेताको दौडधुप तीव्र बनेकोे छ । बन्दाबन्दीले मुलुक ठप्प रहेका बेला नेताहरुको अस्वभाविक दौडधुप र कोठे बैठक बाक्लिएपछि नेपाली राजनीति भने चलायमान नै रहेको संकेत दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई अचम्मित पार्ने गरी ८ बैशाखमा ल्याएका दुई अध्यादेशले कोरोनाले ठप्प नेपाली राजनीतिलाई तरंगित बनाउन थप मलजल गरेको धेरैको बुझाइ छ । उक्त अध्यादेशको अध्याय समाप्त भइसकेपनि त्यसका तरंगहरु भने अझै साम्य भैसकेका छैनन् ।

यहि क्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)र प्रतिपक्षी दलका केही नेताबीच अस्भाविक भेटघाट समेत बाक्लिदै गएका छन् । यस्तो भेटघाटको श्रृंखला भने लामो छ । काँग्रेस स्रोतका अनुसार नयाँ वर्ष २०७७ को सुरुमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिबीच गोप्य भेटवार्ता भयो ।

उनीहरुबीचको भेटवार्तापछि नै प्रधानमन्त्री ओलीले अध्यादेशको तमासा देखाएका थिए । किनभने ओली नेतृत्वको (तत्कालीन एमाले र माओवादी केन्द्र सम्मिलित) पहिलो सरकार ढाल्न मुख्य पात्र निधि नै भएको त्यतिबेला चर्चा थियो । पछि प्रचण्ड नेतृत्वको सरकारमा उनी काँग्रेसका तर्फबाट नेतृत्व गर्दैगृहमन्त्री बन्नसफल भएका थिए ।

यतिबेला पनि निधि र प्रचण्डबीचको वार्तालाई केपी ओली पक्षले अर्थपूर्ण रुपमा हेरेको छ । त्यसपछि प्रचण्ड आफ्ना पार्टीका नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतसँग निरन्तर संवादमा जुटेका छन् । सत्तापक्षका प्रचण्ड पक्षमात्रै होइन प्रतिपक्षी नेताहरुले पनि आन्तरिक भेटघाटलाई तीव्र बनाएको सम्पर्क स्रोतहरुले पुष्टि गरेका छन् । संसदमा सरकारको पक्षमा प्रस्ट बहुमत रहेको अवस्थामा काँग्रेसले पनि सरकारविरुद्ध पार्टी्भित्र र बाहिर बलियो मोर्चाबन्दी बनाउने कसरत बढाउदै गएको देखिन्छ ।

यो कसरत र मोर्चावन्दीलाई प्रधानमन्त्री ओलीकोस्वेच्छाचारी शैली रोक्न दवाव कि सरकार परिवर्तनको खेल ? प्रश्न अनूउत्तरित छ । विशेषगरी वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बिहीबार साँझ बसेको सचिवालयका ६ जना नेताहरुको अनौपचारिक बैठकपछिको नेताहरुको दौडधुप चाखलाग्दो छ । उक्त बैठकको एउटा उद्देश्य सफल भइसकेको छ ।

अध्यादेश फिर्ता नभए शनिबारै स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्री ओलीलाई अप्ठेरोमा पार्ने उनीहरुको रणनीतिमा अध्यादेश फिर्तापछि आंशिक ब्रेक लागिसकेको छ । उनीहरुबीच ओलीलाई संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाटै हटाउनेसम्मको तयारी भएको नेकपा वृतमा चर्चा चलेको थियो ।

त्यो भन्दा थप चर्चा सोही दिन प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको वान टू वान वार्ताको छ । भैंसेपाटीको बैठक सकेर प्रचण्ड जाउलाखेलस्थित देउवाका साला भुषण राणाको निवासमा देउवा भेट्न पुग्नुलाई ओली समुहले निकै अर्थपूण रुपमा हेरेको छ । तर काँग्रेस स्रोतकाअनुसार वान टू वान वार्ता भएकाले प्रचण्ड र देउवाबीचको कुराकानी गर्भमै छ । त्यसको दोस्रो दिन प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको निवास बालुवाटार बोलाएर देउवासँग छलफल त्यतिकै गरेका होइनन् । अर्को्तिर आध्यादेश विरुद्ध आक्रमक देखिएको काँग्रेससँग डिल गर्नु पनि थियो ।

किनभने प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएलगत्तै राजनीतिक विवाद साम्य भइसकेको देखाउन शुक्रबार बालुवाटारमा देउवासँग छलफल गरेको बुझ्न गाह्रो छैन । मधेशवादी दल विभाजनको योजना असफल भएपछि ओलीले देउवासँग आगामी दिनमा राज्य सञ्चालनमा सहमतिका साथअघि बढ्ने बचन दिएको बुझिएको छ ।

ओलीले त्यसलगत्तै देउवासँगै प्रचण्डलाई पनि राखेर कुराकानी गर्ने प्रयास गरेका थिए । तर काँग्रेसमा नेकपाले ओलीको विकल्प खोज्दा साथ दिनुपर्ने आवाज बलियो छ । काँग्रेस निकट बुद्धिजिवीले पनि काँग्रेस नेताहरुलाई सोही सुझाव दिएको बताइन्छ । यस्तै नवगठित जनता समाजवादी पार्टीले त ओलीको विदा गर्नपर्ने कुरा जोडदार ढंगले उठाइरहेको छ । शनिबार मात्र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीको विदाइ गर्नुपर्ने जिकिर गरेका थिए । प्रधानमन्त्री र देउवासँगको भेटपछि पनि प्रचण्डको भेटवार्तामा ब्रेक लागेका छैन । बरु दिनमा दुईपटक वार्तामा बसिरहेका छन् ।

शनिबार पनि नेकपाका नेताहरु खुमलटार र बानेश्वर भेटवार्ता भएको स्रोतको दावी छ । प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड, वामदेव गौतम र नेता मातृका यादवबीच विहान एक घण्टा भेटवार्ता भएको बुझिएको छ । त्यसपछि दिउँसो नयाँ बानेश्वरमा नेकपाका केही नेता र राप्रपाका अध्यक्ष कमल थापाबीच समेत भेटवार्ता भएको छ । एक घण्टाको छलफल पनि कमल थापा बाहिरिएका थिए भने नेकपाका नेताहरु थप वार्तामा बसेको थिए । तर वार्ताको भित्री कुरा बाहिर खोल्न अहिलेसम्म कुनै नेता तयार छैनन् । यता नेकपामा कोरोनाको कहरका बीच ४५ सदस्यीय स्थायी कमिटी बैठक बस्न जोडदार माग उठिरहेको छ । स्थायी कमिटीको माग गर्ने २० जना नेतामध्ये अधिकांश ओलीमाथि नैतिकताको प्रश्न बर्साइरहेका छन् । उक्त बैठकमा ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने आवाज उठाउने ओलीइतरको तयारी छ ।

नभए नैतिकताको घेराबन्दीमा पार्ने र बैठकमै नेपाललाई प्रधानमन्त्री बनाउनसम्मको प्रस्ताव ल्याउने चर्चा राजनीतिक बृत्तमा चुलिन पुगेको छ । यता काँग्रेसले त १७ बैशाखका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइसकेको छ । अध्यादेशका लागि बोलाइएको उक्त बैठक स्थगित भैनसकेकाले काँग्रेस बैठकको मुद्दा के बन्ने भन्ने निश्चित भैसकेको छैन ।

अध्यादेश प्रकरणले प्रधानमन्त्री ओलीले सरकार चलाउने वैद्यता गुमाइसकेको काँग्रेसको भनाई छ । किन भने काँग्रेसका ११ युवा नेताले मंगलबार प्रधामन्त्री ओली सरकार सञ्चालनको वैधानिकता गुमाएको ठहर गर्दै केन्द्रीय समिति बैठकको माग गरेका थिए । नेताहरुको मागपछि काँग्रेस सभापति देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँगको छलफलपछि उक्त बैठक बोलाएकाले पनि काँग्रेस सरकारविरुद्धको मोर्चाबन्दीमा कडा निर्णयमा पुग्न सक्ने देखिन्छ । जसलाई नेताहरुको पछिल्लो दौडधुपसँग पनि जोडेर हेर्न थालिएको छ ।

गणितीय हिसाबले ओली नेकपाभित्र सबै कमिटीमा पहिले नै अल्पमतमा परिसकेका अवस्थामा सरकार परिवर्तनको संकेत बढी झल्किन्छ । यता प्रधानमन्त्री ओलीमा नैतिक र राजनीतिक ताकत पनि क्षय हुँदै गएको देखिन्छ । आफ्नो बहिर्गमन रोक्न पार्टीले संसदीय दलको नेताबाट हटाएको अवस्थामा पार्टी फुटाउने ताकत र मत पनिओलीसँग नभएको कतिपयको भनाइ छ । तर पार्टी्भित्र र बाहिरको मोर्चाबन्दीलाई नियालिरहेका ओलीले पनि आफुनिकटका नेताहरुसँको छलफललाई तीव्रता दिएका छन् । ओली निकट मानिने नेकपाका नेताहरु सुवास नेम्वाग, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरुसँग छलफल तीव्र पारेका ओलीले स्थायी समिति बैठक बोलाउन आएको दवावलाई कसरी टार्ने भन्ने भन्ने रणनीति बनाउन जुटेकोे नेकपाभित्रै चर्चा चलेको छ । (राताेपाटी अनलाइनबाट)

तपाईको प्रतिक्रिया