वीरेन्द्रनगर कार्यपालिकाका दर्जन निर्णय

सुर्खेत, १३ बैशाख ।
कोरोना भाईरस नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनबाट प्रभावित नागरिकलाई वीरेन्द्रनगर नगरपालिका सुर्खेतले १६ हजार ९१ घरधुरीलाई राहत वितरण गरेको छ । न्यून आयस्रोत भएका वीरेन्द्रनगरका स्थायीबासी, अस्थायीबासी, ज्यालामजदुरी गर्ने नागरिक, कोठाभाडामा बस्ने विद्यार्थीहरुलाई तीन चरणमा राहात सामाग्र वितरण गरिएको हो । पहिलो चरणमा ६६८२ परिवार, दोस्रो चरणमा ९१२७ परिवार र तेस्रो चरणमा कल सेन्टर १०१ मा आएको फोनका आधारमा २८२ परिवारलाई राहत वितरण गरिएको नगरपालिकाका कार्यवाहक प्रमुम मोहनमाया ढकालले जानकारी दिनुभएको छ ।

राहत व्यवस्थापन तथा वितरणमा १ करोड ९६ लाख ६३ हजार ६ सय २३ रुपैयाँ खर्च भएको जनाइएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्त ३० लाख र विभिन्न दाताबाट प्राप्त गरी जम्मा ३६ लाख ८३ हजार २ सय पन्ध्र रुपैया सहयोग भएको साथै सो कोषमा नगरपालिकाको संचित कोषबाट कार्यपालिका बैठकको निर्णयानुसार २ करोड ८० लाख थप गरी कुल जम्मा ३ करोड १६ लाख ८३ हजार २ सय १५ रुपैया जम्मा भएको का.वा. प्रमुख ढकालको भनाई छ ।

वीरेन्द्रनगर कार्यपालिकाको शनिबार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । नगरपालिका कार्यालयबाट वितरण गरिने विशेष राहत मागका लागि टेलिफोन गर्न नसक्ने तथा आफूसँग फोन नभएका अतिविपन्न असहाय व्यक्तिहरुको विवरण वडा अध्यक्षमार्फत लिइ राहत वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । नगरक्षेत्रका पूर्वाधार निर्माण कार्यलाई मेसीन तथा जनशक्तिको प्रयोगबाट हुने काममा भौतिक दूरी कायम गरी स्थानीय प्रशासनसँग समन्वय गरेर परियोजना अगाडी बढाउने निर्णय गरिएको छ ।


नगरपालिका र अन्तर्गत गरी करिव ७५ जना स्वास्थ्यकर्मीहरु पूर्व सावधानी गृह, स्वास्थ्य संस्था र हेल्थ डेस्कहरुमा परिचालन गरिएको छ । कार्यपालिका बैठकले नगरपालिकाभित्र भएर आवतजावत गर्ने यात्रुहरुबाट कोरोना संक्रमण फैलिन नदिन वीरेन्द्रनगर भ्यालीका चार वटा प्रमुख नाकामा स्वास्थ्य चेक जाँच गर्ने हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको छ । सुव्वाकुना, छेडा गढी, बाँगेसिमल, फँलाटेमा हेल्थ डेस्क राख्ने र पैदल आउने अन्य स्थान बामेखोला र शक्तेकाँडामा सम्बन्धीत स्वास्थ्य संस्थाले व्यवस्थापन गर्ने निर्णय भएको छ ।

वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका विभिन्न २० वटा विद्यालयहरुमा नर्सिङ कार्यक्रम सञ्चालन गर्नका लागि छनौंट गरिएको छ । त्रिपुरेश्वर मा.वि. ढोडेखाली, प्रभात मा. वि. कोलडाँडा, हरिडिलभूमी मा. वि. तातापानी, भैरव मा.वि. भैरवस्थन, नेराआवि चिसापानी, जन मावि वीरेन्द्रनगर, कृष्ण संस्कृत तथा साधारण मा.वि. इत्राम, नेराआवि खजुरा, शिव मा.वि. लाटीकोइली, जनसेवा मा.वि. घुस्रा, चन्द्रगंगा मा. वि. गाग्रेताल, अमरज्योती मा. वि. नेवारे, नेरामावि करेखोला, सिद्ध मा. वि. गढी, नेरामावि रतु, आदर्श मा.वि. मेहेली, नेरामावि डाँडास्कुल, शिव मा.वि. धुलियाबिट, आनन्द मा. वि. कृष्णगंज र हस्तविर आवि चनौंटे छनौंट गरिएको छ ।

वीरेन्द्रनगरले पूर्व सावधानी गृह तथा विश्राम स्थल सञ्चालनमा ल्याएको छ । विश्राम स्थलमा अन्य पालिका तथा जिल्लाका करिव ७ सय जनालाई खाना, खाजा र अस्थायी बासको व्यवस्था गरी सम्बन्धित पालिकासँग समन्वय गरी उद्दार सहयोग गरि पठाइएको छ । विश्राम स्थललाई थप प्रभावकारी बनाउँदै अलपत्र नागरिक, मजदुरहरु भएमा प्रत्येक दिन साँझ ६ बजेभित्र प्रवेश गराईसक्ने निर्णयको छ । नगरपालिकाका १६० जना नागरिकको कोरोना परीक्षण (आरडीटी) भएको छ ।



ताजा समाचार