समाजवादीका असन्तुष्ट सांसदहरुको गोप्य भेला

काठमाडौं, १३ बैशाख ।
समाजवादी पार्टीका असन्तुष्ट सांसदहरुको गोप्य भेला भएको छ । केही दिनअघिमात्रै समाजवादी पार्टीले राजपा नेपालसँग एकता गरेको छ । असन्तुष्ट सांसदहरुले विद्रोह गर्न लागेको र छुट्टै पार्टी गठन गर्न लागेको हल्लाबीच समाजवादी र राजपा नेपालबीच रातारात एकता भएको हो । दुई पार्टीबीच एकता भएर बैशाख ११ गते लोकतन्त्र दिवसको दिन जनता समाजवादी पार्टी, नेपाल जन्मिएको छ । तर, राजपा नेपालका ६ जना अध्यक्ष मण्डलका सदस्यमा अनिल झा र राजकिशोर यादवले एकता प्रक्रिया बहिष्कार गरेका छन् । उता, छुट्टै पार्टी गठन गर्ने तयारी गरेका समाजवादी पार्टीका असन्तुष्ट सांसदहरु अब के गर्ने भन्नेबारे छलफलमा जुटेका छन् ।

समाजवादी पार्टीका असन्तुष्ट सांसदहरु अब कसरी प्रस्तुत हुने भन्नेबारे छलफलमा जुटेका छन् । प्रमुख सचेतक समेत रहेका उमाशंकर अरगरियाले आफूहरु छलफलमा जुटेको बारे रिपोर्टर्स नेपाल लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनले भने, हामी असन्तुष्ट सांसदहरुको छलफल सुरु भएको छ । हेरौं, अब के हुन्छ ? उनले छलफलपछि एकीकृत नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपालमा जाने वा नजाने भन्नेबारे निश्कर्ष निकालिनेपनि बताए । असन्तुष्ट सांसदहरुको नेतृत्व अरगरिया र रेणु यादवले गरेको बुझिएको छ । जसमा प्रदीप यादव, कलुदेवी विश्वकर्मालगायत रहेको बाहिर चर्चा छ ।

तपाईको प्रतिक्रिया