प्रहरी बन्न चाहान्थेँ तर व्यापारमा होमिएँ

पश्चिम सुर्खेतको विद्यापुरमा जन्मिएका गोपालप्रसाद पौडेल परिवारका कान्छा छोरा हुन् । जन्मिएको र हुर्किएको ठाउँमै उनले निम्न माध्यमिक तहको शिक्षा हाँसिल गरे । मध्यम वर्गीय परिवारमा जन्मिएका पौडेलले बाँकी माध्यमिक तहको पढाइ भने कैलालीको टिकापुरमा पूरा गरेका थिए । सरकारी जागिर खान नेपाल प्रहरीको असई पदमा आवदेनसमेत दिएका थिए । तर बुवाआमाले प्रहरीको जागिरप्रति चाहना नराखेकाले उनी व्यवसायमै होमिए । प्रस्तुत छ, आजको जम्काभेटमा वीरेन्द्रनगरमा रहेको हिरो शोरुमका सञ्चालक पौडेलसँग गरिएको कुराकानी  :-

आइएसम्मको पढाइ
बुवाआमाले देखाएको पथमै हिँड्ने र असल छोरा बन्ने सोच उनमा थियो । बुवाआमाले आफ्ना लागि गरेको श्रमले उहाँको चाहनाविपरित हिँड्ने सोच उनको मनमा कहिल्यै जागेन । माध्यमिक विद्यालयसम्मको पढाइ टिकापुरमा सकेर उनी बाँकी पढाइ पूरा गर्न काठमाडौं हानिए । परिवारको आग्रहअनुसार नै उनले काठमाडौंमै बसेर आइएसम्मको पढाइ पूरा गरे ।

परिवारवारको चाहना व्यापार
काठमाडौंमा पढ्ने क्रममा पौडेलले २०५३ सालको अन्त्यतिर नेपाल प्रहरीको असइ पदमा आवेदनसमेत दिए । ऊबेला प्रतिस्पर्धामा उत्रने कमै थिए । प्रहरीमै जागिर खान चाहेको भए उनी असइ हुने निश्चित जस्तै थियो । तर बुवाआमाले प्रहरी बन्नुभन्दा व्यापारमै होमिन कर गरेपछि काठमाडौं छाडेर पौडेल सिधै लम्की हानिए ।

पौडेल मेहनती र पौरखी व्यापारी हुन् । बुवा आमाले नै पहिलादेखि नै व्यापार गर्दै आएकाले उहाँहरुकै देनबाट लम्कीमा २०५७ बाट व्यापारमा होमिए । बोल्नेभन्दा काममा लगाव राख्ने पौडेलले लम्कीमै हार्डवयेर पसलको शुरुवात गरे । सशस्त्र द्वन्द्व चर्किन थालेपछि व्यापारमा भने उतरचढाव भयो । राम्रोहुँदै गएको व्यापार विस्तारै ओरालो लाग्यो । तर उनले कहिल्यै हिम्मत हारेनन् । हरेक दिनको सुनौला विहानीसँगै आशाका किरणहरु मनमा जगाउँथे । ‘आज पो व्यापार छैन, एकदिन अवश्य राम्रो होला नी भन्दै ति दिन विताएँ’ विगत सम्झदै पौडेलले भने, ‘संर्घषसँग जुध्यो भने विस्तारै सफलताले नि पछ्याउँदो रहेछ ।’ पाँच वर्षसम्म उनले लम्कीमै व्यापार गरे । देशमा विस्तारै आशाका किरणहरु उदाए ।

लम्कीबाट नेपालगंजतिर
‘०६३ सालको आन्दोलनपछि देशले विस्तारै गति लिएपछि व्यापार पनि राम्रो हुँदै गयो’ पौडेलले थपे, ‘देशमा सशस्त्र द्वन्द्वको अवसानपछि पनि लम्कीमै व्यापार गरिरहेको थिएँ । पछि २०६४ सालमा त्यहाँको पसल विक्री गरेर नेपालगञ्जमा व्यापार शुरु गरेँ ।’ लम्कीबाट नेपालगञ्ज हानिएका पौडेलको व्यवसाय नेपागञ्जमा पनि राम्रो हुँदै गयो । हार्डवयेरबाट कपडा पसलको शुरु गरे पनि बुवाआमाबाट सिकेको ज्ञान नेपालगञ्जमै व्यवहारमा लागु गरेको पौडेल बताउँछन् । ‘नेपालगञ्जको व्यापार पनि राम्रो थियो ।

त्यसक्रममा थप सम्भावना पनि खोजिरहेको थिएँ’ पौडेलले भने, ‘जन्मभूमिमै केही गर्न सकिन्छ की भनेर २०६६ सालमा सुर्खेतमै नयाँ व्यवसायको थालनी गरेँ ।’ चार वर्षसम्म पौडेलले नेपालगञ्जमै कपडा पसल सञ्चालन गरे ।  त्यो विचमा उनले सुर्खेतमा हिरो मोटरसाईकल कम्पनीको सोरुम पनि सुर्खेतमा स्थापना गरिसकेका थिए । परिवार अलग अलग भएर व्यापार गर्दा समस्या भएपछि पौडेलले २०६८ सालमा नेपालगञ्जको कपडा पसल विक्री गरेर सुर्खेत आए ।

अनि जन्मथलोमै आएँ…
जिन्दगीको यो यात्रासम्म आइपुग्न बुवाआमाकै देन रहेको बताउने पौडलले भने, ‘संर्घष नै व्यापारमा सफलता हो, हरेकदिन हरेक चुनौतीको सामना गर्दै व्यापारमा होमिन सहज पनि त छैन । तर म कहिल्यै विचलित भइँन ।’ सुर्खेत नै जन्मथलो भएकाले सुर्खेतमै केही गर्नुपर्छ भन्ने ध्येयका साथ पौडेलले सुर्खेत यात्रा थालेका हुन् । तर उनलाई स्थापित हुन भने सहज थिएन । यहाँ स्थापित भइसकेका व्यापारीहरुसँग प्रतिस्पर्धा गरेर शुन्यबाट व्यापार गर्नु थियो । उनले व्यापारिक यात्रामा सिकेका ज्ञानहरु लागु गर्दै सुर्खेतमा स्थापना भएको हिरो मोटरसाईकलको सोरुममा लाग ु गर े । विस्तारै व्यापारले गति लियो । परिवारको साथ र समर्थनले सुर्खेतमा सञ्चालन आएको व्यापारबाट पौडल सन्तुष्ट रहेको बताउँछन् । उनी नभएको बेला उनको श्रीमतीले नै व्यापारको सम्हाल्ने गरेकी छन् ।  ‘मानवीय आवश्यकता त असिमित हुन्छन् । चाहनाहरु कहिल्यै पूरा हुँदैनन् । तर व्यापारमा पूर्ण सन्तुष्ट नै छु’ पौडेल भन्छन् ।

हिरो मोटरसाइकलको शोरुम
हिरो कम्पनीको मोटरसाईकलहरुमा स्टाइलभन्दा पनि कम खर्चिला छन् । पछिल्ला वर्ष फेसनवाला मोटरसाईकल खोज्नेको ताँती नै लागे पनि हिरो मोटरसाईकल खरिद गर्नेहरुको क्रेज पनि उत्तिकै रहेको पौडेलको भनाइ छ । यही सोरुमलाई उनले व्यवस्थित गर्दै ग्राहकहरुलाई थप सुविधा दिने योजनामा छन् । सोरुमबाटै मोटरसाईकल खरिद गरेका ग्राहकहरुलाई सोरुममै पुगेर मोटरसाइकल सर्भिस गर्न सुझाव पौडेल दिन्छन् ।
गोपाल प्रसाद पौडेल (सञ्चालक) हिरो शोरुम, सुर्खेत (२०७७ बैशाख १२ गते शुक्रबार युगअाव्हान दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया