डोल्पा अस्पतालमै प्रसुति शल्यक्रिया सुरु

रामचन्द्र न्यौपाने
डोल्पा, १२ बैशाख ।
सदरमुकाम दुनैमा रहेको एकमात्र जिल्ला अस्पतालले जिल्लामै शल्याक्रिया सहितको प्रसुति सेवा दिन थालेपछि अस्पतालमा सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । अस्पतालले प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नै नियुक्त गरेर शल्याक्रिया सहितको प्रसुति सेवा सुरु गरेपछि सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको हो ।

जिल्लामै जटिल अवस्था भएका गर्भवतीको पनि सफल शल्याक्रिया हुन थालेकाले विकट गाउँबस्तीहरुबाट सुत्केरी गराउन आउने गरेका हुन् । अस्पतालले भरपर्दो सेवा सुविधा दिन थालेपछि सुरक्षित सुत्केरी गराउनकै लागि नेपालगञ्ज, काठमाण्डौ, सुर्खेत लगायतका जिल्ला बाहिरका शहरमा जानु पर्ने अवस्था हटेको छ ।

मंसिर यतामात्रै ज्यानै जोखिममा परेका आठ वटा गर्भवतीको सफल शल्याक्रिया गर्न सफल भएको प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर शंकर प्रसाद राउतले बताए । एस.एन.सि.यु र आई.सि.यु मा राख्नु पर्ने अवस्थामा मात्रै सुत्केरीको हेलिकप्टरबाट उद्धार गर्ने गरिएको राउतको भनाई छ ।

“पेटमा उल्टो बच्चा भएको, बच्चा खेल्ने पानी सुकेका, सुत्केरी हुन तोकिएको म्याद नाघेरपनि सुत्केरी हुन नसकेका लगायतका जटिल प्रकारको शल्याक्रिया पनि सफल रुपमा गरेकाछौ” डाक्टर राउतले भने । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोली नआउँदा दुई बर्षसम्म डोल्पा अस्पतालको सम्पुर्ण शल्याक्रिया सेवा ठप्पभएको थियो ।

पहिलाको भन्दा जिल्ला अस्पतालको प्रसुति सेवा धेरै राम्रो हुँदै गएको सुत्केरी हुन जिल्ला अस्पताल पुगेकी मनिसा रोकायले बताइन् । सुरक्षित प्रसुति सेवा नपाएर अकालमै ज्यान गुमाउँदै आएका ग्रामीण महिलाहरुलाई विशेषज्ञ सेवा दिएर ज्यानसँगै जिल्लाबाहिर लैजादालाग्ने लाखौँ रुपैँया जोगिएको अस्पताल प्रमुख डाक्टर सिजन रावलले बताए ।

ग्रामीण भेगका महिलामा चेतना बढ्दै गएकाले सुरक्षित सुत्केरी गराउनका लागि अस्पताल आउने सङ्ख्या बढ्दै गएको डाक्टर मेलिना हमालले बताइन् । जारी आवमा मात्रै ७० जना भन्दा धेरैको सुरक्षित सुत्केरी र आठ जनाको शल्याक्रियाबाट सुत्केरी गराएको डाक्टर हमालले जानकारी दिइन् । कतिपय महिलाहरु नियमित स्वास्थ्य चेकजाँच बिनानै एकै पटक सुत्केरी गराउन अस्पताल आउने गरेकाले कहिले काही समस्या हुने हमालको भनाई छ ।

अस्पतालमा व्लड बैंकको व्यवस्था नहुँदा तत्काल शल्याक्रिया गर्नुपर्ने अवस्थामा मान्छे खोजेर रगत दिन लगाउनु पर्ने अवस्था रहेको डाक्टरहरुले गुनासो गरे । दुनै बजार देखि अस्पताल पुग्ने बाटो घुमाउरो र साँघुरो हुँदा बिरामीहरु ल्याउन लैजान एकदमै समस्या हुने गरेको अस्पतालले जनाएको छ । जटिल प्रकृतिको बिरामी भएमा घुमाउँरो बाटो हुँदै अस्पताल पुरयाउँदासम्म बिरामीको ज्यानसमेत जान सक्ने खतरा रहेकाले सिधै अस्पताल जोड्ने एक बेलिब्रिज पुलको ट्टकारो अवाश्यक्ता रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया