सुर्खेत, १२ बैशाख ।
यही वैशाख ५ गतेदेखि कर्णालीमा प्रदेश संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशन कोरोनाको त्रास र लकडाउनका कारण स्थगित भएको हो । यो अधिवेशनमा प्रदेश सभाले एउटा पनि विधेयक पास गर्न सकेन । लकडाउनका कारण अधिवेशन नै अन्त्य भएपछि कर्णालीका सांसदहरु अहिले गाउँ पुगेका छन् । लकडाउनका कारण विशेषगरी मजदुर र विपन्न परिवारलाई समस्या भएको छ ।
यो अवधिमा जननिर्वाचित सांसदको भूमिकाको खोजी भएको छ । तर कतिपय सांसदहरु अहिले आफैं सुरक्षित भएर घरमै बसेका छन् । अलपत्र परेका र छाक टार्न समस्या भएको नागरिकले सांसदहरुको चर्को आलोचना गरिरहेका छन् । संकटको समयमा पनि सांसदहले प्रभावकारी भूमिका निर्वाह नगरेको उनीहरुको आरोप छ ।
संकटमा सहयोग पाउने आशमा समस्यामा परेका नागरिकले सांसदलाई फोन गर्छन् । तर अधिकांश सांसदले बारम्बार फोन गर्दा पनि उठाउँदैनन् । अर्थात राहत र उद्दारका लागि नै फोन आएको ठानी धेरै जना सांसदले फोनै नउठाउने गरेको पीडितहरुको भनाइ छ । लकडाउनका कारण रोजगारीका लागि विभिन्न जिल्लामा पुगेका नागरिकहरु अलपत्र छन् । लकडाउन खुल्ने टुङ्गो नभएपछि मजदुरहरुलाई कसरी गाउँ जाने भन्ने चिन्ता छ । मजदुरी गरेर साँझविहान छाक टार्ने नागरिकहरुको चुलो बल्नै छोडेको छ ।
कतिपय ठाउँमा राहत वितरण राजनीति गरेको गुनासा गर्नेहरु पनि कम छैनन् । यस्तो समयमा नागरिकले नेता र सांसदको थोरै भए पनि आश मान्नु स्वभाविक हो । चुनावमा घरदैलोमा खुट्टा ढोक्दै हिँड्ने तिनै सांसदहरु हिजोआज भने नागरिकको फोनै उठाउन डराउने गरेका हुन् । कोरोना महामारीविरुद्ध सांसदको भूमिका र दैनिकीका विषयमा शुक्रबार हामीले प्रतिक्रिया लिन खोज्दा ११ पटकसम्म फोन गर्दा पनि धेरै सांसदहरुको फोन उठ्न सकेन । उनीहरुले फोन नउठाउनुको एकमात्र कारण नागरिकले राहत र उद्दारका लागि फोन गरेकी भन्ने त्रास रहेछ ।
पटक/पटक फोन गर्दा पनि नउठेपछि केही सांसदलाई भने हामीले पत्रकार हुँ भनेर म्यासेज नै गर्नुप¥यो । करिब १३ जना सांसदलाई फोन गर्दा केही सांसदको मात्रै प्रतिक्रिया समेट्न सक्षम भयौँ । ‘राहत र उद्दारका लागि दैनिक ५० देखि ९० जनासम्मको फोन आउँछ ’ एक सांसदले भने,‘मन्त्रीहरुले आफ्ना क्षेत्रका मजदुरहरु उद्दार गरे फेसबुकमा फोटा हाले, हामी त मन्त्री हुन सकेनौँ । अहिले फोन उठाउनै गाह्रो छ, केही दिन नसक्ने अवस्थामा फोन उठाएर पनि के गर्नु ?’ तर यही अवस्थामा पनि केही सांसदले भने गाउँमै राहत र उद्दारका काममा सक्रिय छन् । तर पनि अधिकांश सांसद संकटमा मौन बसेपछि उनीहरुको आलोचना पनि बढेको हो ।
पार्टी र डाक्टरसँग निरन्तर समन्वय
यामलाल कँडेल/प्रदेश सांसद तथा नेकपा सह–इन्चार्ज
लकडाउनको अवधिमा कर्णाली प्रदेश सभाका सांसद यामलाल कँडेल स्थानीय तहले बाँढेको राहत, उद्दार र समग्र कर्णालीको अवस्था बारे जानकारी लिन्छन् । नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका उनी पार्टीका गतिविधि र प्रदेश अस्पतालका डाक्टरसँग पनि निरन्तर अपडेटमा छन् ।
‘कोरोनाबाट बच्नका लागि लकडाउनको पालना गर्नुको विकल्प छैन’ कँडेल भन्छन्, ‘स्थानीय तहको राहत वितरणलाई सघाउँदै पार्टीका गतिविधिदेखि कर्णाली प्रदेशमा कोरोना परीक्षणको बारेमा डाक्टरसँग निरन्तर अपडेटमा छु ।’ यसका साथै राहत वितरणमा जनताले गरेका गुनासाहरुको सम्बोधन र लकडाउन सम्बिए विकासे आयोजनालाई अघि बढाने विषयमा छलफल व्यस्त छन् । कर्णालीलाई कोरोना संक्रमणबाट जोगाउन स्थानीय, प्रदेश र केन्द्र सरकारसँग आवश्यक समन्वय भइरहेको उनले बताए । साथै उनले लकडाउनलाई पालना गर्नसमेत सबैलाई आग्रह गरे ।
अलपत्रहरुको उद्दारमा पहल
जीवन बहादुर शाही/प्रदेश सांसद तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही लकडाउनपछि काठमाडौंँमा छन् । विहान एक घण्टा योगा अध्ययन र अलपत्र नागरिकको उद्दारको लागि पहल गर्दैमा उनको समय बित्छ । ‘रोजगारीका लागि विभिन्न जिल्लामा पुगे अलपत्र परेका नागरिकहरुले उद्दारका लागि दिनहँु फोन गर्नुहुन्छ, समन्वयका लागि उपप्रधानमन्त्रीदेखि स्थानीय तहका प्रमुखसँग पहल गर्छु’ शाही भन्छन्, ‘सकेसम्म जहाँ छन्,त्यही बस्न सक्ने व्यवस्था मिलाउँछु, ठाउँ छोडेर हिँडेका र बाटोमा अलपत्र भएकाहरुलाई उद्दारका लागि पहल गरिरहेको छु ।’ अलपत्र नागरिक र सञ्चारमाध्यमबाट आउने फोन रिसिभ गर्दैमा दिनको ५/६ घण्टा वित्ने उनी बताउँछन् । यसका अलवा जिल्ला र कर्णालीवासीको अवस्थाबारे जानकारी लिने र सरकारसँग निरन्तर समन्वय र सहकार्यमा गर्दैमा उनको समय वितेको छ । साथै प्रदेश सरकारलाई पनि कोरोना रोकथामबारे सल्लाह दिने गरेको उनले सुनाए ।
कार्यकर्ता परिचालनमा व्यस्त
गोपाल शर्मा/प्रदेश सांसद तथा नेकपा अध्यक्ष पश्चिम रुकुम
कर्णाली प्रदेशका अर्का सांसद गोपाल शर्मा गृह जिल्ला रुकुमपश्चिममा पुगेका छन् । उनलाई आफूभन्दा पनि जनतालाई कसरी बचाउने भन्ने चिन्ता छ । ‘राजनीतिकर्मीको व्यक्तिगत जीवन हुँदो रहेनछ’ शर्मा भन्छन्, कोरोनाबाट जनतालाई बचाउन भोलेन्टियर रुपमा पार्टीका कार्यकर्ता खटाइरहेको छु ।’ नेकपाको जिल्ला अध्यक्ष भएका कारण पनि लकडाउनकै बीचमा पार्टीका तीन वटा बैठक सम्पन्न गरेका छन् । सामाजिक दुरी कायम राख्दै आफू र कार्यकर्तालाई राहत र उद्दारमा खटाउने गरेका उनी बताउँछन् । चौरजहारी सामुदायिक अस्पताललाइ आइसोलेसन अस्पताल बनाउने र त्यसको अवस्था र भइरहेका विकास निर्माणबारे निरन्तर अपडेटमा रहको उनको भनाइ छ । उनले बाँकी समय हालसम्म भएका विकास निर्माणको समिक्षा र विगतका अनुभव र अनुभूतिहरु लेखेर समय बिताउने गरेका छन् ।
राहत जुटाउन दौडधुप
सुशिल थापा/प्रदेश सांसद
लकडाउनपछि कर्णाली प्रदेश सभाका सांसद सुशिल थापालाई भने राहत जुटाउन भ्याइनभ्याई छ । लकडाउनमा समस्यामा परेका मजदुर र विपन्न परिवारका लागि उनी राहत सामग्री जुटाउन जुटिरहेका हुन् । यस्तै आफ्नो निर्वाचन क्षेत्र रहेको दैलेखमा उनले आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका छन् । केही दिनअघि दैलेखका विभिन्न स्थानीय तहमा साढे तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेर उनी हिजोआज सुर्खेत फिर्ता भएका छन् । व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री वितरण गरेपछि हिजोआज उनको ध्यान विपन्न परिवारमा छ । उनी सुर्खेतमा बसेर राहत जुटाउन सरकार, सांसद र समाजसेवीसँग समन्वय गरिरहेका छन् । ‘मन्त्री भएका जिल्लामा मात्रै सरकारको ध्यान पुग्यो, अन्य जिल्लाका नागरिकले राहत पाएनन् ।
स्थानीय सरकारसँग हातेमालो
देवि ओली/ प्रदेश सांसद
कर्णाली प्रदेशसभाका सांसद देवी ओली यतिबेला गाउँ पुगेकी छिन् । सासुआमाको निधनका कारण उनी घर बाट निस्कन भने पाइनन् । ‘लकडाउनपछि गाउँमा आएँ, घर बाहिर निस्कने वातावरण मिलेन’ उनी भन्छिन्, ‘सामाजिक दुरी कायम गर्दै स्थानीय सरकारले गरेका विकास निर्माण र र ाहतका कामहरुमा सक्रिय छु ।’गाउँघरमा ठूलो भिडभाड नहुने र खेतिपातिको समय भएका कारण बाली भित्र्याउन सहयोग गर्दै आएको उनले जनाइन् । ‘अहिले किसानले बाली भित्रायाउने समय हो, कहिले किसानलाई सघाउँछु, कहिले नागरिकका लागि स्थानीय सरकारले गरेका कामलाई सघाउँछु ।’ उनी भन्छिन्,‘बाँकी समय बाहिरबाट आएका नागरिकको स्वास्थ्य अवस्था बुझ्छु ।’ राहत र उद्दारका लागि आफूले जिल्लामा रहेका स्थानीय सरकारसँग हातेमालो र समन्वय गरिरहेको उनको भनाइ छ ।
युग संवाददाता । । १२ बैशाख २०७७, शुक्रबार १६:१९