वडा–वडामा सुपथ पसल
दैलेख (गुराँस), ११ बैशाख ।
दैलेखको गुराँस गाउँपालिकाले लक–डाउनका बेला आफ्ना नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन टोल–टोलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ पसलमा बाहिरभन्दा केही सस्तो पर्छ। गाउँपालिकाले जथाभावी हिँड्डुल र सार्वजनिक कार्यक्रममा पूर्ण रोक लगाएको छ । अध्यक्ष खेमराज वलीले लक–डाउनका बेला महँगी बढेकाले गाउँपालिकाले सबै वडामा सुपथ मूल्य पसलहरू सञ्चालन गरिएको बताए ।
‘खाद्यान्नको ढुवानी भाडा गाउँपालिकाले व्यहोर्छ, सहकारीमार्फत बिक्री हुन्छ,’ उनले भने, ‘यसबाट बजारको भन्दा सस्तोमा जनताले खाद्यान्न पाएका छन् ।’ गाउँपालिकाले ३० लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । कोषमार्फत औषधी, स्वास्थ्य सामग्री तथा क्वारेन्टाइनमा रहेकालाई खाना–खाजाको व्यवस्था गरेको छ । गाउँपालिकामा रहेका एक सय १२ अति विपन्न परिवारलाई निःशुल्क खाद्यान्नको व्यवस्था गरिएको छ । गाउँपालिकाले ७८ जना क्षमताको क्वारेन्टाइन र दुई बेडको आइसुलेसन वार्ड स्थापना गरेको छ ।
स्वास्थ्यकर्मीलाई घर–घरमा पु¥याएर नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रबाहिर रहेका, भारतमा मजदुरीका लागि गएका नागरिकलाई उद्धार गरेर ल्याएको छ । ‘यो संकटले हामी जनतासँगै छौं र साँच्चै जनताका प्रतिनिधि हौं भन्ने कुराको पुष्टि गरेको छ,’ अध्यक्ष वलीले भने, ‘स्थानीय सरकारलाई गुनासो नआउने गरेर हामीले कामहरू गरिरहेका छौं ।’ (नागरिक अनलाइनबाट)
