कविता : आमा

Pipala Dhungana : पिपला ढुङ्गाना


‌अँधेरो मझेरीको जून हुन् उनी
जसले सँधैभरि उदाइरहनु पर्छ
झलमल्ल भएर
बादलिने अधिकार छैन उनलाई
किनकी उनी आकास होइनन्
बादल लाग्ने अधिकार त
केवल उचाई सँग हुन्छ
सगर सँग हुन्छ
कि त हुन्छ सागर सँग
पुर्ण गहिराइ सँग

उनी न पुर्ण गहिरिन पाउँछिन्
न पुर्ण उचाई छुन
कर्तव्यको दायराले
निलुन्जेल सम्म
पानीको रफ्तारले
काटुन्जेल सम्म
निभाइरहनु पर्छ उनले
निस्फिक्री बगिरहने नदिको
दर्शक धर्म

उनी त बगर हुन्
जसले निल्नु पर्छ
प्रत्येक बहाव र छालहरु
र पनि सुख्खा रहनुपर्छ
त्यो उनको नियति हो

चुनौती पनि
किनकी उनी आमा हुन्
अनि
आमा मात्रैले सक्छिन्
यति विघ्न भार थाम्न
सहन
र सहेर मुस्कुराउँन
त्यसैले त जिन्दगीको
चन्द्रमा हुन् उनी
कहिल्यै नथाक्ने
कहिल्यै नलुक्ने
लाग्दैन उनमा
झरीको सुत्र
न लाग्छ बादलकै
न त ग्रहण नै लाग्छ कहिल्यै
र त स्वस्ति शान्ती हुन् उनी
प्रत्येक जीवनको
ग्रह गोचर शान्त बनाउने
धर्तीमा भएका प्राणी जगतका सम्पूर्ण आमाहरु प्रती हार्दिक नमन ! ?

तपाईको प्रतिक्रिया