एमयूमा सेनिटाइजर उत्पादन सुरु

सुर्खेत, ११ बैशाख ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतले सेनिटाईजर उत्पादन सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाममा उपयोग हुनेगरी सेनिटाइजर उत्पादन कार्य विहिबार एक कार्यक्रमवीच उद्घाटन गरिएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले सेनिटाईजर उत्पादन कार्यको उद्घाटन गर्नुभएको थियो ।

विश्वविद्यालयलाई अध्ययन अनुसन्धानको केन्द्र बनाउनुका साथै विभिन्न क्षेत्रको अध्ययन प्रयोगशाला बनाउने, विश्वविद्यालयलाई उत्पादनमा जोड्ने उद्देश्यले सेनिटाइजर उत्पादन सुरु गरिएको हो । पहिलो दिन विहिबार मात्रै ९ सय थान उत्पादन भएको छ । विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको साइन्स ल्याबमा सेनिटाईजर उत्पादन सुरु गरिएको थियो ।

‘विश्वविद्यालयलाई समुदाय र इन्डस्ट्रीसङ्ग जोड्दै उच्च शिक्षालाई उत्पादन र आर्थिक समृद्धि एवं समाज सेवासङ्ग जोड्ने यो ऐतिहाँसिक सेनिटाइजर उत्पादन परियोजनाको समन्वय गरिएको छ’–उपकुलपति प्रा.डा. सिंहले भन्नुभयो । हाल सानो क्षमतामा उत्पादन सुरु गरिएको भएपनि यसको आवश्यकता र बजारिकरणका आधारमा अटोमेटिक मेसिन खरिद गरी उत्पादनलाई बृद्धि गर्दै लगिने उहाँको भनाई छ । पहिलो पटक उत्पादन गरिएका ९ सय पिस सेनिटाईजर प्रदेश अस्पताल कालागाउँ, मुख्यमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरुमा निःशुल्क वितरण गरिने जनाइएको छ ।

त्यसैगरी रजिस्ट्रार सह प्रा. यम बहादुर कार्कीले विश्वविद्यालयले उपकुलपतिज्युको नेतृत्व र भिजनमा व्यवहारिक र प्रायोगिक शिक्षालाई जोड्ने गरी कार्यक्रम अगाडि बढाउने भन्दै लकडाउनको यो प्रतिकुल समयमा पनि सम्पुर्ण व्यवस्थापन र समन्वय गरी यो सफलता हाँसिल गरेकोमा सेनिटाइजर उत्पादन समन्वय समितिको टीमलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद चपाईले अब प्राध्यापक र विद्यार्थीहरुले अध्ययन, अध्यापन र अनुसन्धानको नियमित कार्यसङ्ग यस्ता उत्पादनमुखी परियोजना कार्य बढाउने बताउनुभयो । युवा बैज्ञानिक राजेन्द्र बिष्टले विश्वविद्यालयको संयोजनमा भएको यो सेनिटाइजर अन्य उत्पादन भन्दा सस्तो, गुणस्तरीय र स्वास्थकर रहेको दाबी गर्दै विश्वविद्यालयसङ्ग जोडिएर आगामी उत्पादन कार्यमा सङ्गसङ्गै सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

उक्त परियोजनाको समन्वय समितिका सङ्योजक समेत रहेका शिक्षाशास्त्र सङ्कायका सहायक डीन बिष्णुकुमार खड्काले भोलिदेखी नै विश्वविद्यालयको लोगो रहेको स्टिकर टास गरि कर्णाली प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्रालयहरु, अस्पतालहरु र सर्वसाधारणको लागि पहिलोपटकको उत्पादन निशुल्क वितरण गरि बिक्रीवितरण गर्ने गरी दोस्रो चरणको उत्पादन गरिने जानकारी दिए ।

उक्त समुद्घाटन कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषदका सदस्य पदमराज जोशी, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेजबिक्रम बस्नेत, शिक्षाशास्त्र केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख जसबिर रोका, मुसुमका निर्देशक डा. सुशील शाही लगायत प्राध्यापक एवं विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया