नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीको विशेष सन्देश (पूर्ण पाठ)

नेपाल कम्युनिष्ट पार्टीकाे स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अाेलीकाे विशेष सन्देशकाे
पूर्ण पाठ

आज अप्रिल २२ (वैशाख १० गते), ७१ बर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आज अप्रिल २२, आजकै दिन विश्वमा दूरगामी महत्वको परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो ।

यस विशेष दिनको अवसरमा म नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल लगायत सबै अग्रज संस्थापकहरुप्रति हार्दिक श्रद्धासुमन र सम्मान व्यक्त गर्दछु । त्यसैगरी, विश्व क्रान्तिका नायक लेनिनप्रति भावपूर्ण श्रद्धासुमन र सम्मान व्यक्त गर्दछु ।

सामाजिक परिवर्तनका विश्व प्रयाशहरुमा सबभन्दा स्पष्ट, सबभन्दा न्यायोचित र समतासहितको समृद्धिको पक्षमा युगान्तकारी परिवर्तनका सफल नेतृत्वकर्ता र भिजिनरी लिडरका रुपमा लेनिन हामी माझ सदा स्मरणीय र प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । उहाँका विचार, उहाँको नेतृत्वमा संचालित आन्दोलन र त्यसको सफलताले एउटा नयाँ राजनीतिक र आर्थिक प्रणालीसहितको सोभियत संघ मात्रै स्थापना गरेन, त्यसको प्रभाव विश्वव्यापी नै रह्यो । औपनिवेशिक देशहरुले त्यसबाट मुक्तिको बाटो, आत्मविश्वास र शक्ति प्राप्त गरे । अन्याय र असमानतामा आधारित प्रणालीहरु हल्लिन थाले । तिनले आफ्नो बचाऊका लागि सुरक्षाका विभिन्न उपायहरुको खोजी गर्न थाले । जसले पूँजीवादलाई समेत आफ्नो प्रणालीमा सुधार गर्न बाध्य पा¥यो । बीसौं शताब्दीका विनाशकारी विश्वयुद्धहरु वास्तवमा पूँजीवादका उत्पादन थिए । र, शान्ति, स्वाधीनता र न्यायको पक्षका अग्रगामी परिवर्तनहरुमा महान् लेनिनको विचार र सोभियत संघको उपस्थितिका विशेष योगदान थिए । लेनिनको अनुकरणीय योगदान के पनि थियो भने उहाँले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै परिवर्तनको नयाँ गोरेटो पहिल्याउनु भयोे ।

सात दशकको अवधिमा लेनिनले स्थापना गर्नुभएको सोभियत संघ त बिघटन भयो । तर लेनिनवादी सिद्धान्तको आलोक र लेनिनकै जन्म दिनमा जन्मेर हुर्किएको हाम्रो प्यारो पार्टी नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो ।

वितेका यी बर्षहरुमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आयो । अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरह्यो । पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाई अघि बढायो । सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोगमार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो । कम्युनिष्ट पार्टीले लोकप्रिय जनमतमार्फत जनप्रतिनिधिमूलक निकायहरुमा प्रायः दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि हो ।
यस आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक परिपाटीको स्थापनामा राजनीतिक नेतृत्व मात्रै होइन, निर्वाचित संविधानसभाबाट नयाँ संविधान बनाउने, नयाँ संविधानको कार्यान्वयनबाट मुलुकमा स्थिरता कायम गर्ने, सुशासन र विकासको अभियान संचालन गरी त्यसमार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने कामको नेतृत्व गरिरहेको छ ।

यसले नेपाललाई विकासको बाटोमा द्रूत गतिमा अघि बढाउन सफल कदमहरु अघि बढाइरहेको छ । सामाजिक न्याय र समानताको निम्ति यो पार्र्टी स्थापनाकालदेखि नै एक मात्र अभियन्ता रहेको तथ्य स्पष्टै छ । आज यहाँसम्म आइपुग्दा त्यस दिशामा हामीले ठूलो सफलता हासिल गरेका छौं । राष्ट्रिय स्वाभिमान र गौरवको रक्षा र अभिवृद्धि गर्दै देशको सार्वभौमसत्ता र स्वाधीनताको वास्तविक अर्थमा अभ्यास गरेर हामीले नयाँ उचाइमा उठाएका छौं । हाम्रा राष्ट्रिय आकांक्षाहरु पूरा गर्न छिमेक सम्बन्धलाई सन्तुलित, विश्वसनीय र भरपर्दो ढंगले अघि बढाउँदै पारस्परिक विश्वास र सहयोगको वातावरण निर्माण गरेका छौं भने अन्तर्राष्ट्रिय सम्बन्धलाई शान्ति र समृद्धिको पक्षमा ‘सबै मित्र, छैन कोही शत्रु’ भन्ने भावनाका साथ अघि बढाएर राष्ट्रहितको पक्षमा फलदायी बनाउन सफल भएका छौं । विश्व मञ्चमा नेपाल चिनिने र सुनिने अवस्थाको सिर्जना गरेका छौं । यी महान र युगान्तकारी उपलब्धिहरु हुन् । यी उपलब्धिहरुलाई निरन्तर अगाडि बढाएर नयाँ उचाइमा पु¥याउँदै देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य, मान्यता र लक्षहरु हासिल गर्दै अगाडि बढ्नसक्ने अवस्थामा पु¥याएका छौं ।

दुःखको कुरा, यसैबीचमा कोभिड–१९ भनिने कोरोना भाइरसले महामारीका रुपमा विश्वलाई नै आक्रान्त पा¥यो र यसले ठूलो विनाशको ताण्डव मच्चाइरहेको छ । हाम्रो देश पनि त्यसबाट अछूतो रहन सकेन । तर सरकारका उचित समयमा चालिएका सही निर्णय र प्रभावकारी कदमहरु तथा जनताको गहन समझदारी र सुदृढ ऐक्यबद्धताले गर्दा यसले नेपालमा भयावह रुप लिन भने सकेको छैन । म विश्वस्त छु, निकट भविष्यमा यसलाई पूर्ण रुपमा अन्त्य गर्न हाम्रा साझा पहल र प्रयाशहरु सफल हुनेछन् । हामी हाम्रो समाज, हाम्रो अर्थतन्त्र र हाम्रा सम्पूर्ण सामाजिक गतिविधिहरुलाई पुनः स्वभाविक गति र लयमा सञ्चालन गर्न सक्षम हुनेछौं । तर पनि जबसम्म विश्वमा कोराना भाइरसको अन्त्य हुँदैन, तबसम्म भाइरस प्रवेश वा पुनः प्रवेशका लागि हामीले सबै बाटाहरु, ढोकाभ्mयालहरू र भेन्टिलेसनहरु बन्द गर्नैपर्दछ ।

पार्टी स्थापना भएको आजको विशेष दिनमा म संस्थापक महासचिव कमरेड पुष्पलालले नयाँ विचार र कष्टप्रद त्यागका साथ आन्दोलनको आधार तयार गर्नुभएको तथ्यलाई विशेष स्मरण र सम्मान गर्न चाहन्छु । साथै, सबै संस्थापक सदस्यहरुको यस घडीमा सम्मान गर्न चाहन्छु । वाम र लोकतान्त्रिक आन्दोलनमा कालजयी विचार र दृष्टिकोणहरूबाट सही ढंगले नेपाली समाजको जागरण र परिवर्तनको आन्दोलनलाई सर्वाधिक प्रभावित गर्ने बीसौं शताब्दीका नायक एवं जननेता मदन भण्डारीप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । सात दशक लामो आन्दोलनका क्रममा आफ्नो जीवन नै उत्सर्ग गर्ने अरु आदरणीय अग्रजहरु, ज्ञातअज्ञात सहिदहरु, निष्ठापूर्वक निरन्तर समर्पित कमरेडहरु र हसिँया हथौडाअंकित झण्डामुनि गोलबन्द भई संगठित रुपमा आन्दोलनमा सरिक हुने, समर्थन गर्ने, घाइते, बेपत्ता र अपांग भई क्षति ब्यहोर्ने र निरन्तर साथ र समर्थन गरेर योगदान गर्ने सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुको पनि उच्च सम्मान गर्दछु ।

पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई बर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु । कहिलेकाँही उठ्ने भ्रम र गलत प्रचारको कुहिरोबाट किञ्चित अन्योलमा नपरी पार्टी सुदृढीकरण, सामाजिक आर्थिक रुपान्तरण र समृद्ध नेपाल निर्माणको महान अभियानमा दृढ रुपमा अगाडि बढ्न सबैमा आह्वान गर्दछु ।

नेकपामाथि भरोसा गर्दै अटुट विश्वास तथा साथ–सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनताप्रति म हार्दिक कृतज्ञता समेत जाहेर गर्दछु ।

केपी शर्मा ओली/ प्रधानमन्त्री एव‌
अध्यक्ष/नेपाल कम्युनिष्ट पाटी (नेकपा)
१० बैशाख २०७७

तपाईको प्रतिक्रिया