कोरोना संक्रमित : नेपालमा ४५ जना, भारतमा १९९०० जना

काठमाडौं, १० वैशाख ।
देशमा कोरोना भाइरसका संक्रमित तीन जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित तीनजना थपिएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या ३ जना थपिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ४५ पुगेको छ ।

त्यसैगरी भारतमा एक हजार ३८३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बुधबार जनाइएको छ । बुधबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १९ हजार ९८४ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ५० जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६४० पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार ८६९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १५ हजार ४७४ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ५ हजार २१८ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २५१ जनाको निधन भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार कोरोना संक्रमण दोस्रो स्थानमा भारतको गुजरात राज्य रहेको छ ।

गुजरात २ हजार १७८ जनामा कोविड–१९ संक्रमण देखिएको छ । त्यसैगरी भारतको दिल्ली कोरोना संक्रमणको तेस्रो स्थानमा रहेको र यहाँ २ हजार १५६ जनामा संक्रमण देखिएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया