कोरोनासंग लडन कति छ कर्णालीको तयारी ! सामर्थ्य

युगन्युज डेस्क
सुर्खेत, १० बैशाख ।
विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि कर्णालीमा पनि विभिन्न प्रयासहरु भइरहेका छन् । कोरोनाको औषधि र खोप पत्ता नलागेका कारण पनि यसको त्रास विश्वभर छ । यस्तो अवस्थामा कर्णालीमा कोरोनाको संकट टार्नका लागि प्रदेश सरकार र स्थानीय सरकारले पर्यत्नहरु गरिरहेका छन् ।  कोरोनाको संक्रमण फैलिन नदिन सरकारले परीक्षणलाई पनि तीव्रता दिएको छ । आजको दिनसम्म कर्णालीमा एकजना पनि संक्रमित भेटिएका छैनन् ।

यसले केही राहत महशुस गर्न दिएको छ । तर भोलीका दिनमा संक्रमण फैलिएको खण्डमा त्यसलाई नियन्त्रण र उपचार गर्नका लागि कर्णाली प्रदेशसँग क्षमता छ त ? यो प्रश्न पनि उब्जिएको छ । तर प्रदेश सरकारले भने आवश्यक उपकरण, औषधि र स्वास्थ्यकर्मी तयारी हालतमा रहेकाले समस्या नहुने दाबी गरिरहेको हो । हालसम्मको कर्णाली प्रदेशको अवस्था केलाउँदा रोग, भोक र अभावसँग जुधिरहेको कर्णालीको कोरोनासँग जुध्ने सामथ्र्य कमजोर भने छैन । संक्रमण फैलिन नदिन र फैलिएमा कसरी उपचार गर्ने भन्ने पर्याप्त रणनीति बनेका छन् ।

आवश्यक मात्रामा आईसियु र भेन्टीलेटरको पनि व्यवस्थापन गरिएको छ । बिरामीको उपचारका लागि दुर्गममै हेलिकप्टरबाट चिकित्सक पठाउने र बिरामीको उद्दार गर्नेगरी प्रदेश सरकारले व्यवस्थापन गरेको छ । केही त्रास र चिन्ताहरु भए पनि आवश्यक व्यवस्थापन गरेर प्रदेश सरकारले कोरोनासँग जुध्ने तयारी गरिरहेको जनाएको छ । कर्णाली प्रदेश विभिन्न जिल्लामा ५४ वटा हेल्थडेस्क समेत सञ्चालन गरिएका छन् । जसमध्ये डोल्पामा १०, मुगुमा १८, हुम्लामा तीन, जुम्लामा एक, कालिकोट र दैलेखमा दुई/दुई, जाजरकोटमा ११, रुकुमपश्चिममा दुई, सल्यानमा एक र सुर्खेतमा चार ठाउँमा गरी जम्मा ५४ ठाउँमा हेल्थ डेस्कहरु सञ्चालन गरिएका छन् । ति हेल्थ डेस्कमा हालसम्म एकलाख १९ हजार ६ सय २४ जनाले स्वास्थ्य परीक्षण गरिएका छन् ।

३६ सय क्वारेन्टाइन, साढे चारसय आइसोलेसन
कोरोनाको संक्रमण फैलिन नदिन क्वारेन्टाइन र आइसोलेन पनि महत्वपूर्ण मानिन्छन् । महत्वपूर्ण यसअर्थमा कि विदेशबाट आएका नागरिकलाई राख्न क्वारेन्टाइन र संक्रमित भएको खण्डमा उपचारका लागि आइसोलेन चाहिन्छ । भारत र तेस्रो मुलुकबाट गाउँ फर्केनेक्रम अझै रोकिएको छैन । सम्भवतः कोरोनाको अत्य नहुँदासम्म गाउँ फर्किने क्रम रोकिने छैन । यही समस्यालाई मध्यनजर गर्दै कर्णालीमा हाल ३६ सयभन्दा बढी वेडको क्वारेन्टाइन र चारसय ६६ वेडको आइसोलेसन तयार भएका छन् ।

जसमध्ये डोल्पामा दुइसय १५, मुगुमा एकसय ९२, हुम्लामा दुइसय ३२, जुम्लामा तीनसय ३७, कालिकोटमा चारसय ४४, दैलेखमा आठसय ३९, जाजरकोटमा एकसय ९२, रुकुमपश्चिममा दुइसय ३० र सुर्खेतमा सातसय ५६ गरी कुल ३६ सय ४२ बेड क्वारेन्टाइन तयार भएका छन् । त्यस्तै डोल्पामा आठ, मुगुमा सात, हुम्लामा १०, कालिकोटमा १४, दैलेखमा ५७, जाजरकोटमा ६, रुकुमपश्चिमा १०, सल्यानमा २२, प्रदेश अस्पताल सुर्खेतमा दुइसय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एकसय २०, मेहेलकुना सुर्खेतमा दुई र चौरजहारी सामुदायिक अस्पतालमा १० बेड गरी कुल चारसय ६६ बेडको आइसोलेसन तयार पारिएको छ ।

जुम्लामा पीसीआर मेसिन थपिदै
आइतबारदेखि जुम्लामा पनि कोरोनाको नमूना परीक्षण गर्ने पीसीआर मेसिन सञ्चालनमा आउने भएको छ । दैनिक एकसय नमूना परीक्षण गर्ने सक्ने ठूलो क्षमता भएको पीसीआर मेसिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप गर्न लागिएको हो । अस्पताल निर्देशक डाक्टर मंगल रावलकाअनुसार मेसिन काठमाडौंबाट गाडीमा ल्याउन लागिएको छ । ‘आइतबारदेखि नै कर्णालीमा ठूलो क्षमताको पीसीआर मेसिन सञ्चालनमा ल्याउँछौँ’ डा.रावलले भने ‘प्रयोगशालामा खटिने जनशक्ति तयारी अवस्थामा छ ।’ डाक्टर रावलका अनुसार जुम्लामा पीसीआर मेसिन थपिने वित्तिकै कोरोना सम्भावितहरुको नमूना परीक्षणका लागि पीसीआर टेष्ट गर्न काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।
सुर्खेतमा सञ्चालनमा आएको पीसीआर मेसिनले नमूना परीक्षणको भार थेक्न नसक्दा कहिले काठमाडौं त कहिले सुदुरपश्चिमको कैलाली प्रयोगशालामा पठाउनुपर्ने बाध्यता छ । गत चैत २० गतेदेखि सञ्चालनमा आएको सुर्खेतको पीसीआर मेसिनले हालसम्म दुईसय चार जनाको नमूना परीक्षण गरिएको छ ।


१७ आईसीयू र ११ भेन्टिलेटर
स्वाथ्यकर्मी र विज्ञकाअनुसार कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर र आईसीयू सेवा अत्यावश्यक मानिन्छ । कोरोना संक्रमितमा सुख्खा खोकी, ज्वरो र श्वासप्रश्वास मुख्य समस्या देखिन्छन् । विशेषगरी कोरोनाले विरामीको फोक्सोमा सबैभन्दा समस्या निम्त्याउँछ । यस्तोबेला भेन्टिलेटरले फोक्सोमा थप संक्रमण हुनबाट बचाउँछ । विरामीलाई श्वासप्रश्वासमा समस्या आएको अवस्थामा भेन्टिलेटरबाट कृत्रिम श्वासप्रश्वास गराउन सकिन्छ । जटिल अवस्थामा पनि आईसीयूमा राखेर विरामीलाई नियमित हेरचाह र विशेष निगरानी गर्न सकिन्छ । जसलेगर्दा कोरोनाका जटिल विरामीलाई आईसीयू र भेन्टिलेटर दुवै उत्तिकै महत्वपूर्ण र आवश्यक मानिन्छ । तर कर्णाली प्रदेशमा भने आईसीयू र भेन्टिलेटर नै पर्याप्त छैनन् । प्रदेश अस्पताल सुर्खेतमा चार, दैलेख जिल्ला अस्पताल तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० गरी जम्मा १७ वटा मात्रै आईसीयू छन् । त्यस्तै दैलेखमा एक, प्रदेश अस्पतालमा पाँच र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच गरी प्रदेशमा जम्मा ११ वटा मात्रै भेन्टिलेटर रहेका छन् ।

अब्बल अस्पताल र जनशक्ति
कोरोना भाइरससँगको युद्धमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र जनशक्तिका हिसावले कर्णाली प्रदेश अब्बल नै देखिएको छ । कर्णालीको सबैभन्दा ठूलो अस्पताल कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुविधा सम्पन्न अस्पताल हो । कोरोना संक्रमतिको उपचारका लागि कर्णाली प्रदेश सरकारले अस्पताललाई विशेष अस्पतालका रुपमा घोषणासमेत गरेको छ । उपकरणका हिसावले १० बेड आईसीयु र पाँच बेड भेन्टिलेर सेवा छ ।

कोरोना संक्रमति भेटिएकै खण्डमा भेन्टिलेटर थपेर नौ बेड बनाउन सकिने अस्पतालका निर्देशक डाक्टर मंगल रावल बताउँछन् । गम्भीर प्रकारका कोरोना संक्रमितका अत्यावश्यक मानिने भेन्टिलेटर र आइसीयु विशेषज्ञ डाक्टर अस्पतालमा कार्यरत छन् भने आइसीयुमै कार्यरत ६ जना डाक्टर कार्यरत छन् । एक सय २० बेड आइसोलेन तयारी अवस्थामा रहेको अस्पतालमा ६० जनाभन्दा बढी डाक्टरसहित तीन सय जना स्वास्थ्यकर्मी छन् ।

त्यस्तै प्रदेश अस्पतालमा ४५ जना डाक्टरसहित दुईसय जना स्वास्थ्यकर्मी छन् । यो अस्पताललाई पनि प्रदेश सरकारले कोरोना क्रमितका लागि विशेष अस्पतालका रुपमा घोषणा गरेको छ । फिजिसिएन डाक्टर केएन पौडेलका अनुसार अस्पतालमा २० बेड आइसोलेसनसहित पाँच बेड भेन्टिलेटर र चारबेड आईसीयु तयारी अवस्थामा रहेको छ । त्यस्तै कोरोना संक्रमतिको उपचारका लागि घोषित अर्काे विशेष अस्पतालका रुपमा चौरजहारी सामुदायिक अस्पताल हो । जहाँ ६ जना डाक्टर कार्यरत छन् ।

त्यस्तै कोरोना संक्रमतिको लागि अर्काे भरपर्दाे जिल्ला दैलेख हो । जहाँ एउटा भेन्टिलेटरसहित तीन वटा आईसीयू तयार छन् । स्वास्थ्यकर्मीका हिसावले पनि दैलेख अब्बल छ । दैलेख अस्पतालमा ५० जना स्वास्थ्यकर्मी छन् । सल्यान अस्पतालमा पनि २० जना स्वास्थ्यकर्मी कार्यरत छन् । पाँच जना डाक्टरसहित रहेको अस्पतालमा कोरोनाको त्रासपछि थप सात जना प्रदेश सरकार हेल्थ असिस्टेन थप गरेको अस्पताल प्रमुख अर्जुन बुढाले जनाएका दिए । कर्णालीको दुर्गम क्षेत्र जिल्ला अस्पताल डोल्पामा पनि हाल पाँच जना डाक्टरहरु कार्यरत छन् । त्यस्तै हुम्ला अस्पतालमा पाँच जना डाक्टरहरु कार्यरत छन् ।

कमजोर छैनन् स्थानीय तह
कर्णाली स्थानीय तह पनि बलिया छन् । कर्णाली प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार कर्णालीका विभिन्न स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रमा १४ जना डाक्टरहरु कार्यरत छन् । कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक रीता भण्डारीका अनुसार पारामेडिक १३ सय ८९ जना, नर्सिङ १२ सय २३ जना गरी कुल २६ सय २६ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । जसमध्ये डोल्पाका स्थानीय तहमा एकसय १४, मुगुमा एकसय ५२, हुम्लामा एकसय ८१, जुम्लामा दुईसय ३४, कालिकोटमा दुईसय ८१, दैलेखमा चारसय ८३, जाजरकोटमा दुईसय ३४, रुकुमपश्चिममा दुईसय ३०, सल्यानमा तीनसय २३ र सुर्खेतमा चारसय चार जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार