जाजरकाेटका स्वास्थ्य संस्थामा औषधी अभाव

जाजरकोट, १० वैशाख ।
भेरी नगरपालिका ४ का मोहनजंग खत्री ब्लड प्रेसरको औषधि लिन सदरमुकामस्थित एक मेडिकलमा गए । त्यहाँ औषधि नपाएपछि आधा दर्जन मेडिकल चहारे । तर, कुनै मेडिकलमा पनि औषधि पाएनन् । साता दिनदेखि औषधि खान नपाएको उनको गुनासो छ ।  त्यस्तै सुगरको औषधि सेवन गरिरहेका धनबहादुर अधिकारीले पनि जाजरकोटमा औषधि पाउन छोडेपछि आफू समस्यामा परेको बताए । उनीहरुजस्तै धेरै दीर्घरोगी औषधि नपाउँदा समस्यामा परेका छन् । दम, मुटुरोग, ब्लडप्रेसर, सुगरलगायतका दीर्घरोग भएकाले नियमित सेवन गर्ने औषधि निजी मेडिकलसँग सकिएपछि उनीहरु समस्यामा परेका हुन् ।

 

लकडाउनका कारण औषधि ढुवानी गर्न नसक्दा अभाव भएको सदरमुकाममा मेडिकल संचालन गर्दै आएका वीरप्रकाश रोकायले बताए । उनले भने, ’दीर्घरोगीले खाने अत्यावश्यक औषधिका साथै अन्य औषधि पनि सकिएको छ । जताजतै बन्दाबन्दी छ । गाडी चल्दैनन् । यस्तो बेला कसरी औषधी ल्याउने ? ’ सदमुकाममा मात्र होइन जिल्लाका ग्रामीण भेगमा समेत दीर्घरोगीले सेवन गर्ने र अन्य औषधि अभाव देखिएको छ । जिल्लाका धेरै मेडिकल कोरोना सर्ने डरले बन्द छन् ।


सीमित मात्रामा खुलेका मेडिकलमा पनि औषधिको स्टक सकिँदै गएको छ । औषधि सकिदै गएपछि बिरामी मर्कामा परेका छन् । छेडागाडको थलहमा रहेको डेभिड मेडिकलका संचालक अर्जुन अधिकारीले दीर्घरोगीले खाने औषधिका साथै अन्य औषधि पनि सकिएको बताए ।  उनका अनुसार एल्पाइन, सिरप वेटा २, भ्यान्टिफिलाइन फोर्ट टेबलेट, सेनिटाइजर, मास्क, सिटामोल, ब्रोफलम, जीवनजल लगायतका औषधि सकिएको बताए । सबैभन्दा बढी मर्कामा दीर्घरोगीहरु परेका छन् । सरकारी स्वास्थ्य संस्थामा पनि औषधि सकिदै गएको छ । सरकारी स्वास्थ्य संस्थामा दीर्घरोगीले सेवन गर्ने औषधि निःशुल्क पाइदैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार