बहुराष्ट्रिय व्यापारमा नेपालका ‘चौधरी’ साम्राज्य

सुर्खेत, १० बैशाख ।
जहाँ ग्राहक भेटियो, त्यहीँ पसल थाप्ने भुरामल चौधरीको कपडा पसल नै आज विस्तारित चौधरी ग्रुपको व्यावसायिक साम्राज्यको प्रस्थान बिन्दु थियो । सामान्य कपडा व्यापारबाट सुरु भएको थियो, चौधरी ग्रुपपको व्यावसायिक यात्रा। एक सय ४० वर्षअघि विनोद चौधरीका हजुरबुवा भुरामल चौधरी राणा खानदानका लागि घरघरमा पुगेर कपडा बेच्थे । त्यही जगमा उभिएको चौधरी ग्रुप आज विश्वका डलर अर्बपतिहरूको क्लबमा सामेल छ — एक सय ७० अर्ब डलरको सम्पत्तिसहित । भुरामलले कोरेको व्यावसायिक गोरेटोलाई लूनकरणदासले चौडा बनाएका थिए । र, उनका छोरा विनोद चौधरीले त्यो व्यवसायलाई विश्वभर कसरी फैलाए भने अहिले उनी त्यो व्यावसायिक साम्राज्य थाम्न दिनरात विश्व घुमिरहेका छन् ।

कपडा पसलबाट सुरु भएको नेपालकै पहिलो बहुराष्ट्रिय व्यावसायिक घराना चौधरी ग्रुपले ४० भन्दा बढी उद्योग सञ्चालन गर्छ । एफएमसीमात्र नभएर शिक्षा र स्वास्थ्यमा पनि ठूलो लगानी गरेको छ । जहाँ ग्राहक भेटियो, त्यहीँ पसल थाप्ने भुरामल चौधरीको कपडा पसल नै आज चौधरी ग्रुप साम्राज्यको प्रस्थान बिन्दु थियो । सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीका हजुरबुवा भुरामल चौधरी करिब एक सय ३० वर्षअघि नेपाल भित्रिएका थिए ।
तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरको पालामा नेपालमा व्यापार व्यवसाय गर्न निम्तोमा आएका मंगल साहू (सुरज मलको परिवार) सँगै उनी काम गर्न नेपाल आए । पहिलोपटक हजुरबाले काठमाडौंको मखन टोलमा मंगल साहूको कपडा गद्दीबाट काम थालेको बुवा (लूनकरणदास चौधरी)ले इतिहास सुनाएको भनी विनोद चौधरीले आफ्नो आत्मकथा ‘विनोद चौधरी’ पुस्तकमा उल्लेख गरेका छन् । मंगल साहूको कपडा गद्दीमा काम गर्ने भुरामल चौधरीले विसं १९९० मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरबाट पुरस्कारस्वरूप एउटा पसल पाए । उक्त पसलले नै चौधरी ग्रुपको जग बसाल्यो।

विसं १९९० मा नेपालमा भूकम्प जाँदा उद्धार, उपचार र शिविर चलाएर जुद्धशमशेरको मन जितेका भुरामलले जुद्धसडक (अहिलेको विशालबजारको ठीकअगाडि) को पहिलो लहरमा पसल पाए । उक्त पसलको नाम ‘भुरामल लूनकरणदास चौधरी’ राखियो । त्यहाँबाट संगठित कपडा पसलको सुरुआत भएको थियो । पोको बोकेर राजधानीका गल्ली र दरबार चहारेर कपडा बेच्दा भुरामलले छोरा लूनकरणदास चौधरीलाई पनि सँगै हिँडाएका थिए । उनै बुवा भुरामलले हालिदिएको पखेटा, देखाइदिएको खुला आकाश र उडी चन्द्र छुने सपनाको प्रतिफल आजको चौधरी गु्रपको गोरेटो हो । जायजेथाबिनाको गोरेटोमा इँटा थप्दै पिच गर्ने कामको सबैभन्दा महत्वपूर्ण श्रेय विनोद चौधरीले पुस्तकमा आफ्ना बुवा लूनकरणदास चौधरीलाई दिएका छन् ।

व्यावसायिक छलाङ
काठमाडौंको मखन टोलमा १९७९ सालमा जन्मेका लूनकरणदास चौधरीले आफ्नो बाबुको शेषपछि २३ वर्षको उमेरमा व्यापार सम्हाले । बाबुसँग सिकेर सानैमा व्यापारमा लागेका लूनकरणदासले आफ्ना बाबुले सुरु गरेको व्यापार सम्हाल्ने मात्र काम गरेनन, त्यसलाई संस्थागत गर्दै आफ्नो व्यापारको दायरालाई अन्तर्राष्ट्रियकरणसमेत गरे। सुरुमा काठमाडौंमा केन्द्रित भुरामल लूनकरणदास चौधरीको पहिलो शाखा विराटनगरमा खुल्यो । ‘त्यतिखेर नेपालमा उत्पादित जुटको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग थियो । यो निर्यातबाट विराटनगरका धेरै व्यापारीले मज्जासँग कमाइरहेका थिए। विराटनगरमा उत्पादन हुने जुट गुणस्तर र परिमाण दुवैमा अब्बल मानिन्थ्यो । भारत निर्यात गर्न सजिलो हुने र कोलकाता बन्दरगाहको बाटो भएर समुद्री मार्गबाट अन्तर्राष्ट्रिय बजार पु¥याउन पायक पर्ने हुँदा विराटनगर त्यति खेरको व्यापारिक केन्द्र थियो । बुवाले ‘भुरामल लूनकरणदास चौधरी’ को नयाँ अफिस त्यहीँ खोल्नुभयो । कम्पनीले राजधानीबाहिर खोलेको पहिलो शाखा यही हो’, विनोद चौधरीलले आफ्ना बुवाको कामलाई पुस्तकमा यसरी सम्झिएका छन् । लूनकरणदासले विराटनगरमा ‘विराटनगर जुट उद्योग’को स्थापनासँग चौधरी ग्रुपको यात्राले उद्योगमा प्रवेश पाएको थियो । उक्त उद्योगबाट उत्पादिन जुट भारत, अमेरिका र युरोपमा जुट निर्यात हुन थाल्यो । निकासीको कामपछि लूनकरणदासले जापान र कोरियाबाट फेब्रिक आयात सुरु गरे। विस्तारै लूनकरणदासले निर्माण क्षेत्रमा हात हाले ।

‘विसं २०१४ मा काठमाडौं–त्रिशूली सडक निर्माण सुरु हुँदै थियो । बुवाले त्यसको ‘सब–कन्ट्र्याक्ट’ लिनुभयो । आफ्नो पितापुर्खाले कहिल्यै नछोएको क्षेत्रमा लागेर उहाँले ठूलै जोखिम मोल्नुभएको थियो । जन्मेदेखि कपडाको मिटरमात्र नापेको मान्छे, एकैचोटि सडकको किलोमिटरमा छलाङ मार्दै हुनुहुन्थ्यो’, पुस्तकमा विनोद चौधरीले लेखेका छन, ‘बुवालाई निर्माणका बारेमा केही थाहा थिएन । आफ्नो ‘टिम’ थिएन ।’ तर पनि ‘हेरेर होइन, गरेर जानिन्छ’ भन्ने लूनकरणदासभित्रको भावनाले उनलाई सफल बनायो । यसको सफलतापछि उनले सडक खन्ने कामबाट भवन ठड्याउनतिर हात हाले । काठमाडौंमा सोल्टी होटल निर्माणको तयारी हुँदै थियो । त्यसको ठेक्का लूनकरणदासले नै लिए । त्यसपछि साझेदारीमा युनाइटेड बिल्डर्सको नाममा कन्स्ट्रक्सन कम्पनी खोले ।


उनले विसं २०२० मा नेपालको पहिलो फ्लोरिङ एन्ड फर्निसिङ आउटलेट खोले । यो समयसम्म नेपालमा सजावटमा धेरैको चासो बढिसकेको थियो । जुद्धशमशेरले १९९० मा अनुमति दिएको पसलमै नेपालको पहिलो फ्लोरिङ एन्ड फर्निसिङ आउटलेट खुलेको थियो । ‘कम समयमै त्यसले राम्रो बजार पायो । त्यो बेला टाइगर टप्स होटल खुल्न लागेको थियो । अमेरिकी सहयोग नियोग (यूएसएड) खुलिसकेको थियो । होटल र नियोगलाई चाहिने आन्तरिक सजावट (इन्टेरियर)का धेरै सामान हामीले नै बिक्री ग¥यौं’, पुस्तकमा उल्लेख छ, ‘जुद्धसडकको पुरानो पसलबाट मात्र फैलिँदो कारोबार धान्न नसकेपछि बुवाले फसिकेब, वीरगन्ज, खिचापोखरीमा शाखा खोल्नुभयो ।’

उनले २०२२ सालमा वीरगन्जमा केडिया परिवार र निरञ्जन जाटियासँग मिलेर मोर्डन होजियारी उद्योग स्थापना गरी उच्च गुणस्तरको होजियारी सामान उत्पादन थाले । राइनो ब्रान्डले मोजा उत्पादन गथ्र्यो । आयातीत फेब्रिकसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्यो। उनले नेपाल स्पिनिङ वेभिङ एन्ड निटिङ उद्योग पनि स्थापना गरे । यसले विदेशबाट आयातीत ऊनी धागोबाट विभिन्न आधुनिक लत्ताकपडा उत्पादन गथ्र्यो । वि.सं. २०२४ मा लूनकरणदासले वीरगन्जमा रत्न स्टेनलेस स्टिल उद्योग स्थापना गरे। उक्त समयमा विराटनगरमा पशुपति बिस्कुट, महालक्ष्मी मैदा मिल पनि उनले खोले। २०२५ सालमा उनले डिपार्टमेन्ट स्टोरमा लगानी गरे। यो नेपालकै पहिलो डिपार्टमेन्ट स्टोर थियो । नाम ‘अरुण इम्पोरियम’। यो इम्पोरियम निकै सफल भयो । २०२७ सालसम्म आइपुग्दा अरुण इम्पेक्स आयात÷निर्यातमा निकै सक्रिय भयो । यो स्टोर नेपालीमाझ मात्र नभएर नेपाल आउने र बस्ने भारतीयमाझ पनि प्रख्यात बन्यो।

तेस्रो पुस्ता
विस्तारै बुवा लूनकरणदासले सिर्जना गरेको चौधरी गु्रपको साम्राज्यलाई उनका तीन छोरा विनोद, वसन्त र अरुणले सम्हाल्न थाले । बाबुलाई सानैदेखि सहयोग गर्दै आएका विनोद चौधरी यो साम्राज्य अझ उचाइमा पु¥याउन सफल भए । २०७२ माघ २१ गते ९३ वर्षको उमेरमा बुवा लूनकरणदासको निधन भयो । तर उनले सिर्जना गरेको उद्योगले आफ्नो पाइला पछ्याइरहेका छन् । उनका जेठा पुत्र विनोद विश्वका अर्बपतिको सूचीमा छन् । त्योभन्दा पनि वाइवाई चाउचाउ उत्पादनबाट चौधरी गु्रपले विश्वमै ख्याति कमाइरहेको छ । वाइवाई चाउचाउ नेपाल र भारतमात्र होइन युरोप, अफ्रिकासम्म पनि बिक्री हुन्छ ।

आज सिमेन्ट, इलेक्ट्रोनिक्स, जडीबुटी, खाद्यान्न, निर्माण सामग्री, सजावटका सामग्री कहाँ छैन चौधरी गु्रपको लगानी ? बायोटेक र आयुर्वेदमा समेत यसको लगानी छ । पूर्वाधार क्षेत्रमा होटेल, रिसोर्ट, रियल स्टेटदेखि टेलिकमसम्ममा चौधरी गु्रपको लगानी छ । सीजी टेलिकममार्फत टेलिकम, सीजी मोटोकर्पमार्फत गु्रपले सवारीसाधनको व्यवसायसमेत गर्छ । सीजी सिटिस्केप, कुसुम आयल इन्डस्ट्रीमा समेत चौधरी गु्रपको लगानी छ । नेपालकै पहिलो पाँचतारे अस्पतालका रूपमा चिनिने नर्भिक इन्टरनेसनल हस्पिटलमा चौधरी गु्रपकै लगानी छ । चौधरी गु्रपको ठूलो लगानी शिक्षा क्षेत्रमा पनि छ । सीजी सोलारदेखि बैंक तथा वित्तीय संस्थामा पनि गु्रपले लगानी गरेको छ । सीजी फिन्को, युनाइटेड फाइनान्स, युनाइटेड इन्स्योरेन्स, नबिल बैंकलगायत वित्तीय क्षेत्रमा लगानी गरिरहेको छ । त्यतिमात्रै नभएर चुरोटदेखि पेय पदार्थमा समेत चौधरी गु्रपले ठूलो लगानी गरेको छ । सीजी बेभरेजमार्फत पानी, रियो लगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ । बियरमा समेत यसको लगानी छ । चौधरी गु्रपको साम्राज्यबारे विनोद चौधरीले आफ्नो पुस्तकमा लेखेका छन्, ‘म यही गौरवपूर्ण इतिहास बोकेको मारवाडी समुदायकै सदस्य हुँ । चौधरी गु्रप जुन गतिमा फैलिएको छ, त्यसको सूत्रधार बुवा लूनकरणदास चौधरी हुन् ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार