कपुरकोटका २७६ जना क्वारेन्टाईनमा

शंकर केसी
सल्यान, ९ बैशाख ।
गत चैत्र एक गतेदेखी नै हेल्थ डेस्क स्थापना गरेर कोरोना रोकथामको कदम चालेको सल्यानको कपुरकोट गाउँपालिकाले दुई सय ७६ जना नागरिकहरुलाई उद्धार गरेर कवारेन्टाईनमा राखेको छ । काठमाण्डौँ, भक्तपुर, ललितपुरका विभिन्न ईट्टाभट्टा तथा बागलुङ, स्याङ्जा, धादिङ, नुवाकोट, रसुवा लगाएतका जिल्लाबाट हालै कपुरकोट गाउँपालिकाभित्रका मात्रै दुई सय ७६ जना नागरिकहरु फर्किएको गाउँपालिकाले जनाएको छ ।

विभिन्न निकायसंग अलपत्र परेका र समस्यामा परेका नागरिकहरुलाई उद्धार गरेर ल्याइएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिए । सोमबार मात्रै उद्धार गरेर ल्याइएका एक सय ४६ जना नागरिकहरुलाई खाजाको ब्यवस्था गरी आवश्यक परामर्स दिएर सम्बन्धीत वडामा रहेका क्वारेन्टाईनमा पठाइएको अध्यक्ष सेनले जनाए ।

गाउँपालिकाले पालिका स्तरिय एउटा क्वारेन्टाईन निर्माण गरेको छ भने हरेक वडामा सामुदायिक क्वारेन्टाईन पनि निर्माण गरेको छ । स्थानीय समुदायले नै संचालन, रेखदेख गर्ने गरी र गाउँपालिकाको समेत साझेदारी हुने गरी क्वारेन्टाईन निर्माण गरिएका छन् । भारत लगाएतका तेश्रो मुलुकबाट आएका ५१ जना मध्ये ११ जनाको पिसीआर टेष्ट र ३६ जनाको ¥यापिड टेष्ट गरिसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जनाए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । देशभित्रैबाट आएका नागरिकहरुको खोजि र उद्धारमा पनि गाउँपालिकाले गम्भीरतापूर्वक ध्यान दिएर कोरोना संक्रमण र रोकथामको कामलाई प्रभावकारी बनाइएको जनाएको छ ।

गाउँ फर्कदाको खुसी
यसैविच उद्धार पश्चात गाउँ फर्किएका नागरिकहरु निकै हर्षित देखिएका छन् । विभिन्न समस्या झेलेर तथा अपहेलित भएर शहरमा बसेका नागरिकहरु गाउँपालिका लगाएतका निकाय र व्यक्तिहरुको पहल मार्फत उद्धार भइ घर फर्कन पाउँदा खुसि ब्यक्त गरेका छन् । सोमबार गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, हेल्थ डेस्कका फोकल पर्सन देवेन्द्र कुमार सेन, प्रहरी चौकी कपुरकोटका ईन्चार्ज दत्त बहादुर मल्लले कोरोनाबाट बच्ने उपाए सुझाउदै सामुदायीक क्वारेन्टाइनमा बसेर सहयोग गर्न आग्रह गरेका थिए ।

कपुरकोट १ गैरीवाङका धन बहादुर रानाले उद्धारका लागि कपुरकोट गाउँपालिकालाई आग्रह गरेपछी गाउँपालिका अध्यक्ष सेनको पहल र कर्णाली प्रदेशसभा सदस्य गुलावजंग शाह, नेकपाका नेता रमेश मल्ल लगाएतको सहयोगमा आफुहरु गाउँ फर्कन पाएको बताए ।  दक्षिणकाली चिम्नी ईट्टा उद्योगबाट फर्किएकी कपुरकोट ६ डांग्री निवासि भावना खड्काले समस्यामा परेका र भोकै रहेका आफुहरुलाई उद्धार गरेर ल्याई कपुरकोट हेल्थ डेस्कमा गाउँपालिकाले खाजाको ब्यवस्था गरिदिएको जनाइन् । खाने, बस्ने लगाएत समस्या आइपरेपछी र धेरैको संख्यामा उद्योगमा बस्नु पर्दा स्थानीयहरुले अवहेलना गर्नथालेपछी आफुहरु घर फर्किएको उनले बताइन् । ईटा उद्योगबाट फर्किएकी कलसरी बुढाले आफ्नै गाउँमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने प्रतिवद्धता जनाइन् ।

यस्तै भक्तपुरको कादम्बीनि चिम्नी इटा उद्योगबाट फर्कीएका कपुरकोट २ दानवाङका समशेर विकले स्थानीय सरकार वास्तवमै नागरिकको सरकार भएको बताए । यस्तै आफुहरु उद्योगबाट काम गरेको रकम समेत नल्याएर आएको मजदुरहरुले बताएका छन् । उनीहरुका अनुसार एक जना मजदुरको उद्योगबाट ५० हजार देखी एक लाख रुपैया सम्म पारिश्रमिक ल्याउन बाँकी छ । मंगलबार पनि कपुरकोट गाउँपालिकाका ७० जना नागरिकहरुलाई काठमाण्डौबाटै उद्धार गरेर ल्याउन लागिएको गाउँपालिका अध्यक्ष सेनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया