सुर्खेत, ८ बैशाख ।
तपाई वीरेन्द्रनगरमा बस्नुहुन्छ ? आफनै घरमा, कोठाभाडामा वा पैदल हिडेर दुःख पाउँदै आउनुभएको छ । वीरेन्द्रनगर आईपुग्नुभयो भने अव ढुक्क हुनुहोस । पैसा नलाग्ने टेलिफोन नम्बर १०१ मा फोन डायल गर्नुहोस तपाई भएकै स्थानमा नगरको टोली आइपुग्नेछ । कोरोना भाईरसको सन्त्रासपछि कोरोना नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण धेरै जनजीवन प्रभावित बनेको छ ।
दैनिक ज्याला मजदुरी गर्नेहरुलाई साँझ विहानको छाक टार्न मुस्किल परेको छ भने मजदुरी गर्न टाढा पुगेका मजदुरहरु भोकैप्यासै दुःख पाउँदै आफ्नो घरतर्फ पैदल हिडेका छन् । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले सोमबारदेखि नयाँ टेलिफोन नम्बर दिएर नयाँ कामको सुरुवात गरेको छ । नगरपालिकाले आफनो क्षेत्रभित्र लकडाउन पश्चात खाद्य अभावको कारणले कोही भोकै बस्नु नपरोस भनेर निःशुल्क टेलिफोन नम्बर दिइएको वीरेन्द्रनगर नगरपालिकाका निमित्त प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।
वीरेन्द्रनगरमा बस्ने स्थायी तथा अस्थायी न्यूनआयस्रोत भएका करिव १५ हजार परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको समेत जनाइएको छ । कोरोना भाईरसको संक्रमण जोखिम न्यूनिकरण गर्न उपत्यकाका सबै वडाहरुमा औषधी छर्किने, सचेतनामूलक कार्यहरु गरिएको निमित्त प्रमुख ढकालको भनाई छ ।
त्यसैगरी वीरेन्द्रनगर नगरपालिकाले आफनो घरतर्फ फर्किनेक्रममा वीरेन्द्रनगर आइपुग्ने नागरिकहरुका लागि आश्रयस्थल समेत सञ्चालनमा ल्याएको छ । बाह्र जिल्लाबाट लकडाउनको समयमा वीरेन्द्रनगरमा प्रवेश गरेका व्यक्तिहरुका लागि आश्रयस्थल एवंम पूर्व सावधानी गृह सञ्चालनमा ल्याइएको हो । आइतबार बबईबाट उद्दार गरी वीरेन्द्रनगर ल्याइएका १९ जनालाई खाना वस्न सहितको आश्रय दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । उनका अनुसार उक्त बबईबाट उद्दार गरी ल्याइएका ११ जना मध्ये पञ्चपुरी नगरपालिकाका ४ जना, जाजरकोटका २ जनालाई समन्वय गरी घर पठाइएको छ । जुम्लाका ८ जना पनि आश्रय दिएर पठाइएको छ ।
युग संवाददाता । । ८ बैशाख २०७७, सोमबार १२:५७