महिला कर्मचारी पारदर्शी हुन्छन्

दीपा हमाल
निमित्त निर्देशक, शिक्षा विकास निर्देशनालय, सुर्खेत   

सुर्खेतको शैक्षिक क्षेत्रमा दीपा हमाल धेरै चिनिएको नाम हो । हाल उनी शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशमा निमित्त निर्देशकको रुपमा कार्यरत छन् । यसअघि जिल्ला शिक्षा कार्यालय हुँदा उनी कालिको र सुर्खेतको जिल्ला शिक्षा अधिकारी थिइन् । बुवा हिरालाल र आमा कृष्णाकुमारी हमालबाट पाँचौं सन्ताका रुपमा २०२७ माघ १६ गते वीरेन्द्रनगर–५ चिसापानीमा उनको जन्म भएको हो । विगत तीन दशकदेखि सरकारी सेवामा सक्रिय उनै हमालले आफ्नो जीवन भोगाइ र सरकारी सेवामा भएका अनुभवहरु यसरी साँटिन् :–

भागेर स्कूल जान्थेँ
मध्यम परिवारमा मेरो जन्म भयो । वुवा सरकारी जागिरे भएका कारणले होला, छोरीलाई पढाउनुपर्छ भन्नुहुन्थ्यो । ऊबेला सानै उमेरमा स्कूल जाने चलन थिएन । अहिलेको जस्ता मन्टेश्वरी स्कूलहरु खुलेका थिएनन् । तर म सानैमा स्कूल जान रहर मान्थेँे । बुवाआमाले ठूलो भएपछि स्कूल जानुपर्छ भन्नुहुन्थ्यो । रहरै रहरमा दिदीहरुसँग भागेर स्कूल गैहाल्थेँ । स्कूलमा डेष्कबेन्चहरु हुन्थेनन् । घरबाटै चकट्टी लिएर जानुपथ्र्याे । २०३३ सालबाट औपचारिक रुपमा विद्यालय जान थालेँ । श्री कृष्ण संस्कृत तथा साधारण विद्यालयबाट कक्षा ५ सम्म अध्ययन गरेकी हुँ । जनमाविबाट ६ देखि एसएलसीसम्मको अध्ययन पुरा गरेँ । २०४३ सालमा एसएलसी उत्र्तिणपछि आइएड र विएड सुर्खेत क्याम्पस शिक्षा, वीरेन्द्रनगर बहुमुखि क्याम्पसबाट वीए र त्रिभूवन विश्वविद्यालय केन्द्रिय क्याम्पस ताहचालबाट स्नातकोत्तर पुरा गरेँ ।

जागिर खान दोस्रोपटक परीक्षा दिइँन
एसएलसीमा राम्रो अंक ल्याएकै कारण आइएडमा मैले छात्रवृत्ति कोटामा अध्ययन गरेँ । तर पढाइ सँगसैगै जागिरको पनि तयारी गरेँ । जागिर खाँदै ब्याजलर पुरा गरेँ । पहिलोपटक २०४६ सालमा शिक्षक सेवा आयोगमा प्रावि तहको शिक्षक पदमा उत्तीर्ण भएँ । विजेश्वरी प्रावि हरिहरपुरबाट सुरु गरेको शिक्षक पेशामा रहँदा छिन्चु, अमरज्योति मावि नेवारे र चिसापानी स्कूलमा जागिर गरेँ । चिसापानी स्कूलमा सरुवा भए पनि त्यहाँ पढाउनु परेन । फेरि २०५१ साल बैशाखमा लोकसेवा आयोगबाट प्राविधिक सहायक पदमा सफल भएँ । तर त्यहाँ धेरै समय काम गरिन । २०५१ साल असारमा विद्यालय निरिक्षक (अधिकृत) पदमा उत्तिर्ण भएँ ।

ऊबेला मध्यपश्चिमाञ्चल क्षेत्रबाट उत्तीर्ण हुने म एकमात्रै महिला थिएँ । अधिकृतमा उत्तिर्ण हुँदाको क्षण नै मेरो जीवनमा सबैभन्दा खुशी थियो । २०६० सालमा उपसचिवमा सफल भएँ । जागिरको क्रममा २०६२ देखि २०६३ सम्म कालिकोटमा जिल्ला शिक्षा अधिकारी भएर काम गरेँ । २०७१ देखि २०७२ सम्म सुर्खेतको जिल्ला शिक्षा अधिकारी हुने अवसर पाएँ । तत्कालिन शैक्षिक तालिम केन्द्रको प्रमुख भएर काम गरेँ । अहिले शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको निमित्त निर्देशकका रुपमा कार्यरत छु । आजसम्म जागिरका लागि दोस्रोपटक परीक्षा दिनु परेको छैन ।

जब परीक्षामा कडाइ भयो…
२०६३ सालको कुरा होला । त्योबेला म जिल्ला शिक्षा अधिकारीको रुपमा कार्यरत थिएँ । सायद गणित विषयको परीक्षा थियो । सदरमुकामकै विद्यालयमा परीक्षाको अनुगमन गर्न पुगेका थिएँ । विद्यालयमा हामी करिव एक घण्टासम्म बस्यौं । अफिस आएको दुई घण्टापछि जुन स्कूलमा अगुगमन गर्न गएका थियौंँ, त्यही स्कूलबाट अभिभावक र विद्यार्थीसहित नारा जुलुस गर्दै जिल्ला शिक्षा कार्यालय घेराउ गर्न आइपुगे ।
परीक्षा टाइट भयो । चिट चोर्न पाउनुपर्छ भन्दै अभिभावक र विद्यार्थीहरुले नारावाजी गरे । स्थिति तनावपूर्ण बन्यो । जिल्ला शिक्षा कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले उनीहरुलाई लखेट्यो । त्यही क्रममा एकजना छात्रा भागदौडमा घाइते भइन् । उनी घाइते हुँदा महिला जिल्ला शिक्षा अधिकारीले महिला विद्यार्थीलाई नै कुटी भन्ने भ्रम फैलाइयो । म आफैले घाइते छात्राको उपचारमा लाग्ने सम्पूर्ण खर्च पनि बेहोर्नु प¥यो । जागिरको सिलसिलमा कत्तव्र्य पालना गर्दा भोगेको त्यो नै नमिठो क्षण हो ।


डेकेयर सेन्टर चाहिन्छ
पहिले महिला कर्मचारीले ६० दिनमात्रै सुत्केरी विदा पाउँथे । अवस्था जस्तो सुकै भए पनि ६१ दिनबाट कार्यालयमा हाँजिर हुनुपथ्र्याे । घरमा कोही नहुँदा पहिलो छोरा आमावुवाले काखमा हुर्कियो । दोस्रो सन्तान नन्द र परिवारकै सहयोगमा हुर्कियो । तसर्थ एउटा कर्मचारी महिलाहरुका लागि सन्तान हुर्काउन ठूलो संघर्ष गर्नुपर्छ । अहिले बढाएर ९० दिन सुत्केरी विदा पाउँछन् । तर यो छोटो समय हो । किनकी हिजोआज अधिकांश दिदीबहिनीहरुले अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । ९० दिनसम्म पनि आमा शारीरिक र मानसिक दुबै हिसावले काममा फकर्न सक्ने अवस्था हुँदैन ।

कतिबेला बच्चालाई दुध खुवाउने कति बेला कार्यालयको काम गर्ने भन्ने तनावमै हुन्छ । तसर्थ कम्तीमा ६ महिला कर्मचारीलाई सुृत्केरी विदा आवश्यक छ । तर ६ महिना विदा पाएर मात्रै हुँदैन । बच्चालाई विद्यालय पठाउनेदेखि ल्याउनेसम्मको जिम्मा आमाले लिंदा अफिसको काममा बाधा पर्छ ।  तसर्थ अब कर्मचारीका सन्तान हुर्काउने, रेखदेखको गरी छुट्टै डेकेयर सेन्टर आवश्यक छ । डेकेयर सेन्टर कर्मचारीका बालबच्चालाई खाना खुवाउनेदेखि कखरा पढाउन सक्ने सुविधा हुनुपर्छ । यसो गरियो भने महिल कर्मचारीहरु शारीरिरिक र मानसिक तनावबाट मुक्ति पाउँछन् ।

महिलाको सफलतमा परिवारको योगदान
हाम्रो समाजले महिलाहरुलाई घरको गृहणीको जिम्मेवारी दिएको छ । अझै पनि कुनै समाजमा घरको सम्पूर्ण काम महिला एक्लैले गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा महिलाहरु हरेक हिसावले पछाडि पर्छन् । अझ बाह्य कामका सक्रिय हुने महिलाको सन्दर्भमा त परिवारको ठूलो सहयोग आवश्यक हुन्छ । बालबच्चा हुर्काउनेदेखि पढाइ, जागिरको सफलता प्राप्तिको लागि परिवारको ठूलो हात रहन्छ । घरका सदस्यहरुले जागिर र पढाइलाई ख्याल राख्न नसकेनन् भने महिलाहरु पछाडि पर्छन् । जसले गर्दा विहेपछि अधिकांश महिलाको सफलताका पाइलाहरु रोकिन्छन् । मेरो सन्दर्भमा पनि बुवाआमा र घरपरिवारको सहयोगकै कारण यहाँसम्म आइपुगेकी हुँ । तर महिलाहरुले पनि आफ्नो क्षमताको प्रदर्शन गर्न सक्नुपर्छ । फेरि अध्ययन, संघर्ष र परिश्रम विना कोही पनि सफल हुन सक्दैनन् । तसर्थ महिलाहरुको सफलताको पछाडि मेहनत सँगसँगै घरपरिवारको पनि उत्तिकै सहयोग महत्वपूर्ण हुन्छ ।

सबैको चित्त बुझाउन सक्ने महिला
भान्सामा पकाएको खानेकुरा आमाले जसरी सबैलाई सुन्तुष्ट बनाएर पु¥याउँछन् । त्यही भान्साबाटै महिलाहरुले सबैको चित्त बुझाउन सक्ने बानी सिकेका हुन्छन् । हरेक काममा महिलाहरुले अर्काको दुःखलाई पनि सहजै बुझ्छन् । कर्मचारी भएर काम गर्दा पनि अन्य सुविधाबीना काम नगर्ने स्वभावका हुँदैनन् । जसकाकारण महिला कर्मचारीहरु कमै मात्रामा अख्तियारीको फन्दामा परेका छन् । हुन त महिलाहरु कोमल मनका धनी हुन्छन् । साँचिक्कै भन्नुपर्दा पुरुषको तुलनामा महिला कर्मचारी पारदर्शी हुन्छन् । महिला हाकिम भएको कार्यालयमा पनि सबै कर्मचारीलाई समान तरिकाले कामको बाँढफाँड गर्न सक्छन् । महिलाहरुको यही गुणका कारण समन्वय अधिकारी र प्रमुख जिल्ला अधिकारीको पदमा पनि महिलाहरुको नेतृत्वलाई सबैले स्वीकार गरेको छ ।

भागेर अन्तरजातिय विवाह
पढेलेखेकी छोरीलाई राम्रोसँग विहे गरिदिने बुवाआमाको इच्छा थियो होला । तर मैले आफ्नै निर्णयले अन्तरजातिय विवाह गरेँ । ऊबेला अन्तरजातिय विवाहलाई मान्यता दिने चलन थिएन । जसलेगर्दा परिवारको सहमति विना अन्तरजातिय विहे सम्भव पनि थिएन । एउटै अफिसमा काम गर्दागर्दै प्रेम बस्यो । म सुर्खेतमा हुर्किएकी हमालको छोरी । तर मेरो श्रीमान् दैलेखको नेवारको छोरा । म अधिकृत हुँदा श्रीमान् नासु हुनुहुन्थ्यो । यसरी कुनै पनिक हिसावले मागेर विवाह हुँदैन भन्ने निष्कर्षमा पुगेपछि २०५१ सालमा भागेर विहे गरेँ । विहेको बेला मैले ठूलो चुनौती लिएको थिएँ । तर माइती पक्ष मेरो इच्छालाई विपरित जानु भएन । एक महिना नपुग्दै माइती मान्ने काम गरिदिनु भयो । (युगआव्हान राष्ट्रिय दैनिक सुर्खेतको मिति २०७६ बैशाख ७ गते आइबार प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार