मजदुर भाेकै मन्त्री कुरामै, सिडिओ फोनमै ‘व्यस्त’

सुर्खेत, ७ बैशाख ।
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको गृह जिल्ला जुम्ला हो । जुम्लाका विभिन्न पूर्वाधार विकास निर्माणका आयोजनाहरुमा करिव २ सय मजदुर बाहिरी जिल्लाबाट पुगेका छन् । उनीहरुलाई आ–आफ्नो घर गाउँसम्म पुरयाउन कसैले चासो नदेखाएपछि समूह/समूह बनाएर मजदुरहरु भोक भोकै पैदल हिडेर सुर्खेत आइपुग्न थालेका छन् । आफ्नो गृह जिल्लाका नागरिक उद्धारमा रातारात क्रियाशिलता देखाउने मन्त्रीले जिल्ला पुगेका ती मजदुरको उद्दारमा खास्सै चासो देखाएका छैनन ।

भाेक भाेकै पैदल सुर्खेत पुगेका केही मजुदरलाइ शनिबार र आइतबार दुई दिनको फोन सम्पर्कमा उनले कहिले बस जाँदैछ, कहिले टिप्पर आउँदैछ त कहिले अर्को व्यवस्था हुँदैछ नआत्तिनुस भन्दै कुरामै व्यस्त बनाए । सवारी साधनको अनुमति दिए निःशुल्क साधन पठाउन देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्का (जुनी) तयार भए । प्रमुख जिल्ला अधिकारीले पास दिने त सम्भावना थिएन (जहाँ हो त्यही बसाल्नु गृह मन्त्रालयको कडा निर्देशन) तर सवारी साधन पठाउँदा प्रहरी विटहरुमा यस्सो मिलाइदिनु भन्नसम्म सक्थे । बारम्मबार फोन गरियो तर फोन नै उठानन् । पटक पटक घण्टी जाने, फोन नउठने पछि व्यस्त देखाउने भयो । सिडिओ फोनमै व्यस्त भए ।

चार दिन भोक भोकै पैदल हिडेर सुर्खेत पुगेका २४ जना मजदुररुकाे पहिलाे टाेलीलाइ व्यवसायी तथ सामाजसेवी बखत शाही (बखत राजा) ले उद्दार गरी बबई पुरयाईदिएका थिए । दाेस्राे टाेली शनिबार राती ९ः०० बजे जुम्लाबाट ५ दिन पैदल हिडेर राजापुर न–८ बर्दियाका युवराज चौधरीसहित १४ जना मजदुरहरु वीरेन्द्रनगर आइपुगे । जुम्लाबाट पैदल हिडेका उनीहरु शनिबार राती ९ः०० बजे वीरेन्द्रनगर इत्राम आइपुगेका थिए । खाना र वस्नको लागि सरकारी तहबाट कुनै सुनुवाई र चासो नदेखाएपछि शनिबार राती इत्राम पिपल चौतारामा सुतिरहेका उनीहरुलाई राती १०ः३० बजे बागीना समूहको सभा हलमा ल्याएर सुताइएको थियो । बागिना समूहका अध्यक्ष गोविन्द कोइराला, कलाकार ज्ञान बहादुर नेपालीको सहयोगमा उनीहरुलाई संस्थाको हलमा सुताइएको थियो । वीरेन्द्रनगर–११ का वडा सदस्य अर्जुन सुवेदीले ती मजदुरहरुलाई विहानको खानाको निशुल्क सहयाेग गरेका थिए ।

मजदुरहरु वीरेन्द्रनगर पुगेपछि उनीहरुलाई शनिबार राती बास, विहान खाना र बबईसम्म जानका लागि सवारी साधनको बारेमा कानून मन्त्री नरेश भण्डारीसंग पटक–पटक कुरा भएको थियो । जाजरकोटका प्रदेश सभा सदस्य करविर शाहीले समेत केही उपाय लाग्छ कि भन्दै उनीहरुको उद्दारमा चासो देखाए । कानून मन्त्री भण्डारी र आर्थिक मामिला मन्त्री प्रकाश ज्वालासंग फोन सम्पर्क गरिदिए । समस्या राखिदिएका प्रदेश सदस्य शाहीले पछि कर्णालीका मन्त्री, सुर्खेतका सिडियो र प्रहरी प्रमुखबाट केही हुँदैन भन्दै अर्को व्यवस्थापन गर्न सुझाव दिए ।

कानून मन्त्री भण्डारीले बबईमा अलपत्र परेका कर्णाली प्रदेशका नागरिकलाई उद्दार गर्न जाने गरी गाडीको कुरा भएको बताउँदै सोही गाडीमा बबईसम्म पुरयाउने आश्वासन दिए । बबई पुलमा आइपुगेका कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकलाई भेरीगंगा नगरपालिकाले आफ्नो टिप्पर पठाएर आइतबार वीरेन्द्रनगर क्वारेन्टाइनमा ल्याएको थियो । बर्दियाका वीरेन्द्रनगरमा अलपत्र मजदुरलाई सोही गाडीमा पठाउने मन्त्री भण्डारीले आश्वासन दिए ।

सम्बन्धित कार्यालयको व्यवस्थापकिय कुरा देखाउँदै उक्त डिप्पर बबई जान मानेन । प्रदेश सरकार, स्थानीय सरकार, प्रहरी, प्रशासनले ती मजदुरको उद्दारमा चासो नदेखाएपछि स्थानीय समाजसेवी तथा व्यवसायी बखत शाही (बखत राजा) र बाँसुदेव शर्माले निजी लगानीमा गाडीको प्रवन्ध गरी बबईसम्म पठाइएका छन् । वीरेन्द्रनगर आईपुगेर पनि अलपत्र परेका राजापुर नगरपालिका–८ बर्दियाका युवराज चौधरीसहित १४ जना मजदुरलाई २० घण्टापछि उद्दार गरी गन्तव्यमा पठाइएको छ साथै उनीहरुसंग बुटवल जाने वीरेन्द्रनगरमा रहेका ८ जना गरी २२ जनालाई गाडी रिजर्भ गरी पठाइएको छ ।

त्यसैगरी जुम्लाबाट पैदल हिडेको मजदुरको तेस्रो टोली आइतबार कालीकोट आइपुगेको छ । बर्दिया राजापुरका सन्तराम थारुसहितको ४२ जनाको टोली आइतबार दिउँसो कालीकोट महाबौद्ध गाउँपालिका वडा नं. १ पदममा भन्ने ठाउँमा पुगेका थिए । बाटोमा खानाको समस्या भएपछि उनीहरुका लागि सहयोग जुटाउन आव्हान गरिएको थियो । जुम्लाका विभिन्न स्थानीय तहका विकास निर्माण, पक्की पुल, भवनसहित विकास निर्माणमा मजदुरी गर्न विभिन्न जिल्लाबाट दुई सय बढी मजदुर जुम्ला पुगेको जनाइएको छ । आधाजसो पैदलै हिडेर आफ्नो घरतर्फ लागेको र आधाजसो मजदुर जुम्लामै रहेको मजदुर युवराज चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया