सात दिन पैदल, चार दिनदेखि भोकै …

सुर्खेत, ६ बैशाख ।

सात दिन अघि जुम्लाबाट पैदल हिडेका बर्दियाका २४ जना मजदुरहरु चार दिनदेखि भोकभोकै शनिबार वीरेन्द्रनगर आइपुगेका थिए । विहानै वीरेन्द्रनगर–५ चिसापानी आएका उनीहरु भोक, प्यासले थकित हुँदै चिसापानी नजिकको प्रतिक्षालयमा बसिरहेका थिए । बार बर्दिया नगरपालिका महेश चौधरीसहित १२ जना र राजापुर नगरपालिका वडा नं. २ का रञ्जीत चौधरीसहित १२ जना गरी २४ जना मजदुर, जुम्लाबाट पैदलै हिडेर चार दिनदेखि भोकभोकै सुर्खेत आएको बताए । सरकारी भवन र पुल निर्माण गर्न ती मजदुरहरु बर्दियाबाट जुम्ला पुगेका थिए ।
वरपरका मान्छेहरुले ठुलो समुह देखेपछि उनीको सोधी खोजी भएको थियो ।

उनीहरुले आफ्नो पिडा सुनाएपछि तत्काल खाना खुवाएर उद्धार गरी बबईसम्म छोडन गाडीको खोजी गरिएको थियो । समाजसेवी बखत शाही (बखत राजा) ले गाडीको खोजी गर्दै सवारी पासका लागि पटक÷पटक प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा फोन नउठेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको थिए । समाजसेवी बखत राजाले फेसबुकमा लेखेको केही बेरमा खाना खुवाएपछि उनीहरुलाई निःशुल्क गाडी दिने दुई जना सहयोगी सम्पर्कमा आएका थिए ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय सरकार, प्रदेश सरकारले यी मजदुरको उद्धार गर्नेतर्फ कुनै चिन्तासाचो नदेखाएपछि पुजा मण्डीका सञ्चालक पुजा सिंह र गोविन्द मण्डीका सञ्चालक गोविन्द योगीले अत्यावश्यक तरकारी बोक्ने बोलेरो जीप निःशुल्क उपलव्ध गराएका थिए । उनीहरुले गाडी निःशुल्क दिएपछि २४ जना मजदुरहरुको सहज उद्धार गर्न सकिएको समाजसेवी बखत राजाले बताए । तरकारी बोक्ने दुई जीपले ती मजदुरहरुलाई ५ नम्बर प्रदेशको सिमाना बबई पुलसम्म छोडेका थिए ।

अलपत्र परेका मजदुरका बारेमा फोन गरेपछि बार बर्दिया नगरपालिकाका उपप्रमुख अञ्जु दहिदले नगरपालिकाको टिप्टर पठाएर आफना नागरिकहरुलाई बबई पुलपारीबाट उद्धार गरेर लिएकी छिन । राजापुर नगरपालिका वडा नं. २ का रञ्जीत चौधरीसहित १२ जना मजुदरहरुको यो समाचार तयार गर्ने बेलासम्म उद्धार हुन सकेको छैन । उनीहरु बबई पुलपारी अलपत्र अवस्थामा रहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया