जुम्लाबाट बर्दिया पुग्दा ‘अब त बाँचिन्छ’

बर्दिया, ६ बैशाख ।
कामको खोजीमा गएका बर्दियाका १२ जना मजदुरहरू चाउचाउका भरमा सात दिनसम्म लगातार हिँड्दै जिल्ला आइपुगेका छन् । राजापुर नगरपालिकाका १२ जनाको एउटा टोली सात दिन लगाएर हिँडेरै शुक्रबार दिउँसो ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बजारमा आइपुगेको हो । जोखिम मोल्दै जिल्ला प्रवेश गरेका उनीहरूले अब बाँचिने आश पलाएको बताएका छन् ।

निकै लामो यात्रा पार गरेर आएका कारण यी श्रमिकहरू निकै थकित जस्ता देखिएका छन् । ‘लामो यात्रामा भोकभोकै पार गरियो,’ जुम्लामा मजदुरीका लागि गएका बर्दियाको राजापुर वडा नम्बर २ का स्थानीय अनिल कुमार चौधरीले भने, ‘निकै ठुलो संकटबाट पार लागियो, आफ्नै जिल्ला प्रवेश ग¥यौं, अब त बाँचिन्छ कि भन्ने आशा पलाएको छ।’ आफूहरू लकडाउन खुल्ने अपेक्षामा जुम्लामै बसेको, तर सो अवधि थपिँदै गएपछि र राहत समेत नपाएपछि हिँडेरै जिल्ला आइपुगेको चौधरीले बताए । मजदुरको यो टोलीमा रहेका राजापुरकै स्थानीय दीपेश चौधरीले जुम्लादेखि बर्दियासम्म आइपुग्न निकै कष्टपूर्ण यात्रा गर्नुपरेको अनुभव सुनाए ।

उनले भने, ‘बाटोमा एकदमै समस्या भोग्नुर्पयो, सात दिनसम्म चाउचाउकै भरमा हिँडियो, राति सुत्दा पनि घर सम्झिएर हिँडुहिँडु लाग्थ्यो, जहाँ सुते पनि निद्रा त कहाँ पर्नु !’ लकडाउनका कारण पसल बन्द हुँदा खाना खान समेत नपाएको उनले बताए। ‘दोकान खुले चाउचाउ खाने, बाटोमा धारा भेटिए बोतलमा पानी भर्दै हिँड्थ्यौं, कतिले त पसलमा सामान छैन भनेर फर्काइदिन्थे’ उनले थपे, ‘कहिल्यै नपाएको दुःख अहिले नै भोग्यौँ ।’ मजदुरी गरेको पैसा र भएको रासन पनि सकिएपछि घर फर्कनुको विकल्प नरहेको उनसँगै रहेका अर्का स्थानीय जीवन कुमार थारूले बताए ।


‘कमाउन आएको मान्छे, तर भएको पैसा पनि सकिँदै गयो, काम पनि पाइएन,’ उनले भने, ‘गाडी कहिले खुल्ने पत्तो भएन, अरुको गाउँमा सधैं बसेर पनि के खाने? त्यसैले सबैको सल्लाहमा पैदल यात्रा तय ग¥यौं ।’ जंगलको बाटो हुँदै हिँडेको, खानेबस्ने ठेगान नै नभएको र जहाँ पुग्यो त्यहीँ बास बसेको उनले बताए । जुम्लाबाट हिँडेरै चिसापानीसम्म आइपुगेका उनीहरूलाई ठाकुरबाबा नगरपालिकाले बल्लतल्ल ट्याक्टर पठाएर भुरिगाउँसम्म ल्याइदिएको हो ।

भुरिगाउँमा ईलामा प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, रेडियो टागर टोल लगायतले सहकार्य गरेर खाजा तथा फलफूलको जोहो गरिदिएका थिए । कष्टसाध्य यात्रा गरेर गृह जिल्ला आइपुगेका यी मजदुरहरू शुक्रबार नै ट्याक्टर चढेर राजापुर गएका इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार