कोरोना नियन्त्रणमा सिम्ताको लोकप्रिय ‘युनिट एक्सन टीम’

दुर्गा विसी
सुर्खेत (सिम्ता), ६ बैशाख ।

कोरोना भाईरस रोकथाम, नियन्त्रण, उपचार र राहतका लागि सिम्ता गाउँपालिकाले युनिट एक्सन टिम परिचालनको अवधारणा लागु गरेको छ । चीन र दक्षिण कोरियामा कोरोना नियन्त्रणका लागि लागु गरिएको विधि कर्णाली प्रदेशमा पहिलो पटक सिम्ता गाउँपालिकाले अवलम्बन गरेको थियो । कर्णाली प्रदेश सरकारले कर्णालीभरी नै यो विधि लागु गर्ने निती लिएको छ ।

यो अवधारणामा बिसदेखि तीस घरको समूहलाई एउटा युनिट एक्सन टिम बनाईन्छ । वडालाई विभाजन गरेर यस्ता युनिटहरु तयार गरिन्छन् । बिसवटा घरको बारेमा जानकारी दिन एक्सन टिम एक जनालाई परिचालन गरिन्छ । हरेक मानिसलाई यसको लक्षण देखिएमा कहाँ जाने वा के गर्ने भन्ने बारेमा जानकारी हुँदैन । एक्सन टिम भएमा त्यसले जानकारी लिएर सम्बन्धित निकायलाई खबर गर्छ । जसले गर्दा संक्रमणलाई नियन्त्रण गर्नमा पनि मद्दत हुन्छ ।

स्थानीय निकायमा गरिब परिवार भएकाले उनीहरुका हरेक आवश्यकतालाई ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा सबैले वडाध्यक्ष वा आधिकारिक मानिसलाई चिनेका हुँदैनन् । एक्सन टिम बनाइयो भने सोहीमार्फत् मानिसले आफ्नो अवस्थाको बारेमा जानकारी दिन सक्छन् । उनीहरुमा भएको समस्यासँगै कसैलाई रोगको संक्रमणको लक्षण देखिएमा त्यसको बारेमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि एक्सन टिमले भरपूर भूमिका खेल्छ ।

नगर वा गाउँपालिका प्रमुखले आफ्नो ठाउँमा कोभिड–१९ समन्वय समिति बनाउनु पर्छ । जहाँबाट हरेक वडाको विवरण लिएर त्यसलाई युनिटमा छुटाउनु पर्छ । छुट्याइएका हरेक युनिटको एउटा लिर्डर वा अगुवा तोकिदिनुपर्छ । यसो गरेमा हरेक ठाउँबाट सबै जानकारीहरु प्राप्त हुन्छन, र यसले संक्रमणलाई फैलिनसँगै रोक्न पनि मद्दत गर्छ ।

यो माहामारीको वेला आफ्नो गाउँपालिका भित्र नागरिक विरामी पर्दा स्वास्थ्यकर्मीको टीम बोकी सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी घरमै पुग्ने गर्नुभएको छ । भारत तथा तेस्रोमुलकबाट भित्रिएका नागरिकको उच्च सतर्कता अपनाएको छ । कोरोना नियन्त्रण, रोकथाम, उपचार र राहतमा सिम्ताका ७५ वटा युनिट टीम परिचालन भएका छन् । कोरोनाले विश्व हलचल बनाएको यो अवस्थामा नागरिकमा ठुल्लै सन्त्रास छाएको बेला वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, वडाका स्वास्थ्य चौकीका कर्मचारी र स्थानीयलाई सचेतिकरण गर्न अध्यक्षसहितको टोली गाउँ–गाउँ अभियानमा जाने गरेको छ ।

कुनै बस्तिबाट कोही विरामी परेको खबर पाए अध्यक्ष केसी गाउँपालिकाको गाडीमा स्वास्थ्यकर्मी र औषधी बोकेर कुद्ने गरिएको भेटिएको छ । प्रत्येक दिन अध्यक्ष केसी, स्वास्थ शाखा संयोजक विरेन्द्र पुन, सुरक्षाकर्मीसहितको टीम बोकी गाउँको अवस्था वुझ्न टोल टोलमा पुग्ने गरेका छन् । केही दिन अघि ७ को काप्रिचौर वडा कार्यलय, स्वास्थ्य चौकी, त्यसैगरी वडा ८ को डाँडाखाली, वडा नं. ९ को वडा कार्यालयसँगै स्वास्थ्य चौकी र युनिट टिमको गतिविधिको विषयमा जानकारी लिएको बताए । विदेशबाट आएका नागरिकको ¥यापिट भए पनि स्वास्थ अवस्था के कस्तो छ भनेर अपडेट लिने कामसमेत भएको छ । गाउँपालिका भित्र नयाँ व्यक्ति आउनसमेत निषेध गरिएको छ ।

सिम्तामा सुरुवाती चरणमै कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि गठन भएको ७५ वटै युनिट टिम एक्सनलाई समेत अझै प्रभावकारी गराउन ठोस कदम चालिने जनाएको छ । उक्त युनिट टीमले कोरोना रोकथाम तथा नियन्त्रणका प्रयास राम्रो काम गरेको सन्देश बाहिर प्रभाव परिरहेको छ । चीनको ऊहानमा ६० हजार हाराहारी व्यक्तिहरु कोरोना संक्रमित रहेका बेला लकडाउनका साथै १ हजा ८ सय यस्ता एक्सन टिम बनाएर काम गरिएको थियो । ऊहानमा एक्सन टिम बनाएर सहरमा परिचालन गरिएको थियो । लक डाउनको समयमा सहरको अनुगमन, सरसफाइदेखि अन्य कुरामा यो टिमले काम गरेको थियो । यही टिमले त्यहाँ फैलिएको संक्रमणको डकुमेन्टेसन, रेकर्ड, जानकारीलगायतका कुरा तुरुन्त गरेको थियो । यो टिमको कामले गर्दा चीनमा नयाँ संक्रमित देखिना साथ जानकारी पाउने सूचना संयन्त्र निर्माण भएको थियो ।

तपाईको प्रतिक्रिया