ब्रेकिङ : कोरोना संक्रमित ३० पुगे

काठमाडौं, ५ बैशाख ।
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।् यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा २०३४८०२ जना संक्रमित, निको भएका ५५५५३३ जना र मृत्यु १३५१६३ जनाको भएको छ भने स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ७७०२ जनाको ७७ जिल्लामा परिक्षण गरिएको छ । ७६७२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । १ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन भने ९० जना आइसोलेसनमा रहेको जनाइएको छ ।

‘हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३० पुगेको छ । जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ । जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केस (पुरुष, २७ र महिला ६३ वर्षीया) रहेका छन्’, मन्त्रालयले भनेको छ ।
यसअघि नै १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो तथ्यांक अनुसार उदयपुरमा सर्वा्धिक धेरै १२ जना, काठमाडौँमा ५, कैलालीमा ४, पर्सामा ३, चितवन र बाग्लुङमा २–२ तथा कञ्चनपुर र रौतहटमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँका एक जना स्वस्थ भइसकेका छन् ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!