कोरोनाको कहर : अलपत्र परे दुई हजार यौनकर्मी

एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीस्थित जिबी रोडमा २ हजार यौनकर्मी महिला अलपत्र परेका छन् । उनीहरुका २ सय भन्दा धेरै बालबालिकासमेत अलपत्र परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा यौन व्यवसायमा प्रतिबन्ध भएपनि नयाँ दिल्लीसहित विभिन्न सहरमा रेड लाइट एरिया अहिले पनि कायम रहेका छन् । नयाँ दिल्लीको अजमेरी गेटबाट लाहौरी गेटसम्मको दुई किलोमिटर क्षेत्रलार्य जिबी रोड भनिन्छ ।

यो भारतकै ठूलो रेडलाइट एरिया हो । जहाँ १ सय भन्दा धेरै वेश्यालय रहेका छन् । जिबी रोडमा ४ हजारको हाराहारीमा यौनकर्मी महिला कार्यरत छन् । कोरोना भाइरसको लकडाउन सुरु भएपछि केही यौनकर्मी महिला घर फर्किएका छन् । दुई हजार भन्दा बढी महिला अहिले पनि त्यहाँ लकडाउनमा फसिरहेका छन् । इन्डिया टुडेका अनुसार यौनकर्मी महिलाहरु घरबाट तल किराना सामान लिन र औषधि लिनसमेत पाइरहेका छैनन् ।

आफूहरुको समस्या समाधानमा कसैले पनि ध्यान नदिएको यौनकर्मी महिलाले बताएका छन् । पुलिसलाई पटक पटक समस्या राखे पनि समाधान नभएको उनीहरुको गुनासो छ । सिभिल सोसाइटीको राष्ट्रिय नेटवर्क एसएसएनले देशैभरका यौनकर्मी महिलाका लागि सहयोग गर्ने तयारी गरेको जनाएको छ । उनीहरुका बालबालिका पनि ठूलो समस्यामा परेकाले तत्काल ठोस कदम चाल्नुपर्नेमा नेटवर्कले जोड दिएको छ । नेटवर्कले जिबी रोडमा अप्ठयारो अवस्थामा रहेका यौनकर्मी र उनीहरुका बालबालिकाका लागि विशेष सहयोग गर्न सरकारलाई पनि पत्राचार गरिएको जनाएको छ ।

भारतमा यौन व्यवसायका विषयमा कुनै पनि कानुन छैन । कोठी सञ्चालकले यौनकर्मीबाट ठूलो शोषण गर्ने र उनीहरुको अवस्थाका विषयमा कुनै पनि जिम्मेवारी नलिने गरेको पाइएको छ ।  कोरोना संक्रमण फैलिन थालेपछि भारतले देशैभर लकडाउन गरेको छ । लकडाउन गरेपछि कोठीबाट महिलालाई निकालेर सञ्चालकहरु फरार भएका छन् । भारतका विभिन्न राज्यका गरिब परिवारका महिलाहरु यौन व्यवसायमा संलग्न छन् । अलपत्र पर्नेहरु केही नेपाली महिला पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया