खेलाडीको खातामा धमाधम रकम

काठमाडौं, ५ बैशाख ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूले झन्डै चार महिनापछि सरकारले घोषणा गरेको पुरस्कार रकम धमाधम पाउन थालेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले चैत मसान्तभित्र सागमा पदक जित्न सफल भएका सबै ४ सय ३५ खेलाडीलाई खातामा रकम जम्मा गर्ने बताए पनि वैशाख पहिलो साताबाट खेलाडीले पुरस्कार पाउन सुरु गरेका हुन् ।

बुधबार तेक्वान्दोको पेयर पुम्सेमा स्वर्णपदक जित्न सफल सञ्जीवकुमार ओझाले मात्रै पुरस्कार रकम पाए पनि बिहीबारबाट अन्य खेलाडीले पनि घोषित पुरस्कार रकम प्राप्त गरेका हुन् । खेलाडीहरूको आफ्नो व्यक्तिगत खातामा रकम जम्मा हुने भएकाले एकै खेलका सबै खेलाडीले रकम पाइसकेका छैनन् । बिहीबार सागमा दोहोरो स्वर्ण जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठ, गल्फका सुवास तामाङ र तेक्वान्दोकी आयशा शाक्यले पनि पुरस्कार रकम प्राप्त गरेकी छन् ।

उनीहरूले समान २२÷२२ लाख पाएका छन् । मन्डे, सुवास र आयशाले एकल र टिममा स्वर्ण जित्न सफल भएकी थिइन् । यस्तै, फुटबलमा स्वर्ण जित्न सफल सुजल श्रेष्ठ, विकेश कुथु, सुनिल बल, अभिषेक रिजाल, करातेकी अनु अधिकारी, उसुकी जुनी राई र महिला फुटबलमा रजत जित्न सफल सावित्रा भण्डारी, एन्जिला तुम्बाप्पो सुब्बा, रेनुका नगरकोटे र निरु थापाले रकम पाएका छन् । महिला भलिबल टोलीका अधिकांश खेलाडीको खातामा रकम जम्मा भइसकेको टोलीकी कप्तान अरुणा शाहीले जानकारी गराइन् । ब्याडमिन्टनकी सीता राईले पनि आफूले पाउनुपर्ने रकम प्राप्त गरेकी छन् ।


राष्ट्रिय टिम तयारी समितिका निर्देशक तथा १३आंै साग राष्ट्रिय टिम तयारी समितिको सचिव महेन्द्र राईले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सबै ४ सय ३५ जना खेलाडीले विवरण कोष तथा लेखा नियन्त्रण कार्यलय (कोलेनिका)मा पठाइसकेको केही खेलाडीको विवरण नमिले पनि उनीहरूले एक साताभित्रै पाउनेमा ढुक्क रहन आग्रह गरेका छन् । १३ औं सागमा चार स्वर्ण, दुई रजत, तीन कांस्य जित्न सफल जलपरी गौरिका सिंहले सबैभन्दा धेरै ६२ लाख पाउनेछन् । मन्त्रालयले खेलाडीको पुरस्कारका लागि २४ करोड ७४ लाख रुपैयाँ निकाशाका लागि सिफारिस गरेको थियो । खेलाडीको खातामा मात्रै १९ करोड ३७ लाख रुपैयाँ जानेछ । बाँकी प्रशिक्षकको खातामा हाल्नुपर्नेछ । मन्त्रालयले ४ सय ३५ खेलाडी, १ सय १० प्रशिक्षक गरेर ५ सय ४५ जनाको खातामा रकम जम्मा गर्नुपर्नेछ । जसमा ४ सय ३५ जना खेलाडी रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्पर्धाका स्वर्णपदक विजेताले ९ लाख, रजत जित्नेले ६ लाख र कांस्य जित्नेले ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने घोषणा गरिएको थियो । टिम इभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई ६ लाख रजतले ४ र कांस्य जित्नेले २ लाख रुपैयाँ पाउने भएका छन् । संशोधित कार्यविधिअनुसार सागमा स्वर्ण जिताउने मुख्य प्रशिक्षकले ५ लाख, रजतले ३ र कांस्यले २ लाख रुपैयाँ पाउनेछन् । यस्तै, सहायक प्रशिक्षकमा स्वर्ण विजेताले ३ लाख, रजतले २ लाख र कांस्यले १ लाख रुपैयाँ प्राप्त गर्ने कार्य्विधिमा उल्लेख छ । नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक गरी कुल २०७ पदक जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार