‘दुई हप्तापछि मात्रै कर्णालीमा कोरोनाको जोखिम थाहा हुनेछ’

ओम आचार्य (संयोजक)
कर्णाली प्रदेश प्रयोगशाला
कर्णालीमा कोरोनाको वास्तविक अवस्था थाहा पाउन अझै दुई हप्ता लाग्छ । अबको दुई हप्तापछि मात्र बाहिरबाट आएका धेरैको नमूना परीक्षण हुन्छ । त्यसपछि मात्रै कोरोनाको जोखिम कति छ भन्न सकिन्छ । यदी अबको दुई हप्तापछि पनि कोरोनाको संक्रमण देखिएन भने मात्र कर्णालीमा कोरोनाको जोखिम कम छ भन्न सकिन्छ ।

कोराना भाइरस (कोभिड–१९) अहिले विश्वमा महामारीको रुपमा फैलिरहेको छ । यसको रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मी ‘ फ्रन्टलाइन’ अर्थात अग्रमोर्चामा खटिएका छन् । हालसम्म औषधि नै पत्ता लाग्न नसकेका कारण पनि यसले महामारीको रुप लिन पुगेको छ । यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मी आफ्नो ज्यानको बाजी नै लगाएर बिरामीको उपचार अहोरात्र खटिरहेका छन् ।

विश्वभर बिरामी बचाउन खटिएका स्वास्थ्यकर्मीहरु नै कोरोनाको शिकार बनेका छन् । नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । कर्णाली प्रदेशमा कोरोनाको संक्रमण भित्रिन नदिन र यसको रोकथामका लागि प्रदेश अस्पताल सुर्खेतमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा यतिबेला स्वास्थ्यकर्मीहरु व्यस्त छन् । यहाँ नमूना परीक्षण सुरु भएको दुई हप्ता पुरा भएको छ । यो अवधिमा ल्यावमा कार्यरत स्वास्थ्यकर्मीले कस्ता चुनौती भोग्नुप¥यो ? विश्वलाई नै त्रसित बनाइरहेको कोरोनाको परीक्षणमा खट्दा स्वास्थ्यकर्मीमा कत्तिको त्रास छ ? अर्थात कर्णालीमा कोरोनाको परीक्षणलाई प्रभावकारी कसरी बनाउन सकिएला ? यिनै विषयमा केन्द्रीत रहेर हामीले कर्णाली प्रदेश प्रयोगशालाका संयोजक ओम आचार्यसँग विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश ः

कोरोनाको त्रासबिच नमूना परीक्षणमा जुट्दा कस्तो अनुभव भयो ?
कर्णालीमा हामीले चैत २० गतेबाट नमूना परीक्षण थाल्यौं । नमूना परीक्षणका लागि प्रयोगशालाभित्र छिर्दा सुरुमा त डर लाग्यो । कतै आफैलाई पनि संक्रमण हुन्छ कि भन्ने त्रास मनमा थियो । किनकी, विश्वलाई नै त्रसित बनाएको रोगसँग हामी पनि जुध्नुपर्ने अवस्था आयो । मनमा डर भएर के गर्नु ? हामीलाई वहाना बनाउने वा पछाडि हट्ने छुट थिएन । आफू सुरक्षित भएर काम गर्नुपर्ने चुनौती छ । सुरुमा यहाँको मेसिनको गुणस्तर जाँच गर्न परीक्षण गरिएका १० वटा नमूना काठमाडौं पठायौं । काठमाडौंबाट पनि यहाँको रिपोर्ट ठिक देखिएपछि हामीमा भएको डर केही मात्रामा हरायो । हालसम्मका सबै रिपोर्टहरु नेगेटिभ आएपछि हामीमा आत्मविश्वास बढेको छ । तर ल्यावमा पसेको पहिलोदिन भने मनमा डर नै थियो ।

जोखिमपूर्ण काममा खट्दा परिवारबाट कस्तो प्रतिक्रिया आएको छ ?
प्रयोगशालामा खटिएको दिनदेखि म घर गएको छैन । सबै साथीहरुले यो प्रयोगशाला सञ्चालन हुँदासम्म घर नजाने निर्णय गरेको छौं । विश्व नै आक्रान्त भएको बेलामा जोखिमपूर्ण काममा खटिएका स्वास्थ्यकर्मीका परिवारलाई चिन्ता र त्रास हुनु स्वभाविक नै भयो । तर पनि हामीले घरपरिवार र आफन्तहरुलाई सम्झाएका छौं । घर जान नपाउँदा छोराछोरी र परिवारको अल्ली बढी माया लाग्दो रहेछ । यस्तो संकटमा परिवार र आफन्तको मायाभन्दा पनि देश र जनतालाई महामारीबाट जोगाउनु हाम्रो मुख्य दायित्व हो ।


हालसम्मका सबै रिपोर्ट नेगेटिभ आइरहँदा कर्णालीमा कोरोनाको जोखिम कम हो ?
रिपोर्ट नेगेटिभ आउँदैमा कोरोनाको जोखिम नै छैन भन्न मिल्दैन । किनकी अझै पनि धेरै जनाको परीक्षण गर्न बाँकी छ । व्यक्ति अनुसार पनि लक्षणहरु ढिलोचाँडो देखिन सक्छन् । कर्णालीमा कोरोनाको वास्तविक अवस्था थाहा पाउन अझै दुई हप्ता लाग्छ । अबको दुई हप्तापछि मात्र बाहिरबाट आएका धेरैको नमूना परीक्षण हुन्छ । त्यसपछि मात्रै कोरोनाको जोखिम कति छ भन्न सकिन्छ । यदी अबको दुई हप्तापछि पनि कोरोनाको संक्रमण देखिएन भने मात्र कर्णालीमा कोरोनाको जोखिम कम छ भन्न सकिन्छ ।


सुर्खेतमा नमूना परीक्षण गर्ने मेसिनको क्षमता कम छ, संक्रमण फैलिएको अवस्थामा कसरी काम होला ?
हामीकहाँ नमूना परीक्षण गर्ने मेसिनको क्षमता थोरै हुनु दुःखदायी हो । तर पनि धेरै नतिजा दिन हामी २४ सै घण्टा खटिएका छौं । संक्रमण फैलियो भने विकल्प खोज्नुपर्छ । अहिले कैलाली र काठमाडौंको सहयोग लिएका छौं । तर भोली त्यहाँ पनि संक्रमण फैलियो भने कर्णालीलाई अफ्ठेरो पर्छ । देशैभर संक्रमण फैलियो भने कर्णालीले मेसिनको विकल्प खोज्नुपर्छ । यही मेसिनको भर पर्दा अवस्था सामान्य हुनेछैन ।

अब कर्णालीमा पनि सुविधायुक्त प्रयोगशाला आवश्यक भएन र ?
हामीले विगतदेखि नै प्रदेशस्तरीय प्रयोगशाला चाहिन्छ भन्दै आएका थियौं । संघीय सरकारले सातै प्रदेशमा प्रयोगशालाको निम्ति बजेटसमेत विनियोजन गरेको छ । तर दुर्भाग्य हामीसँग यसअघि भएको प्रयोगशालालाई प्रदेश निर्देशनालयमा गाभियो । भएको जनशक्ति र साधन स्रोतहरु विलय गरियो । प्रयोगशाला विलय गरेको एक वर्षमै यसको अभाव खट्कीएको छ । म त अहिले पनि कर्णालीमा पनि प्रदेशस्तरीय प्रयोगशाला आवश्यक ठान्छु । अब नीति निर्माण गर्ने नेतृत्वले यो विषयमा सोच्नै पर्दछ ।

यो ¥यापिड टेष्ट कतिको विश्वसनीय प्रविधि हो ?
¥यापिड डेष्ट अन्य प्रविधि एचआईभी, मलेरिया र हेपाटाइटिस जस्ता रोगका लागि शतप्रतिशत विश्वसनीय प्रविधि हो । तर कोरोनाको सन्दर्भमा पनि केही हदसम्म विश्वसनीय नै हुन्छ भन्ने विश्वास हो । सरकारले विश्वसनीय मानेर नै कोरोनाको परीक्षणका लागि पनि ¥यापिड टेष्ट प्रविधि अपनाएको हो ।  रयापिड टेष्ट गर्दा फरक–फरक नजिता आइरहेका छन् । यसको भरपर्दा कर्णालीमा जोखिम बढेन र ?  रयापिड टेष्ट गरेकै भरमा हामी कोरोना संक्रमण छैन भनरे ढुक्क हुँदैनौं । सम्भावित लक्षण देखिएका र विदेशबाट आएका सबैलाई अनिवार्य रुपमा आरटी–पीसीआर परीक्षण गछौं । जिल्लामा ¥यापिड टेष्ट गर्ने साथीहरुले शंका लागेका व्यक्तिको नमूना संकलन गरिरहनु भएको छ । त्यही भएर ¥यापिड टेष्टकै भरपर्दा हुनसक्ने सम्भावित खत्तरबाट हामी सचेत छौं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार