संसदको गाडी प्रहरी नियन्त्रणमा

सुर्खेत, ३ बैशाख ।
कोरोना भाईरसको रोकथाम, नियन्त्रणका लागि सरकारले चौथो चरणको १२ दिन लामो लकडाउन लगाएको छ । लकडाउनका कारण कुनै एक स्थानबाट अर्को स्थानमा जान, सवारी साधन प्रयोग गर्न पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका बाहेक अरु कसैलाई पनि आवत जावत गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

लकडाउनलाई उलंघन गरेपछि कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाहीको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार विहान तेल हाल्ने बाहनामा दुल्लु दैलेख बजार निस्केको गाडीले आफ्न्त हालेर अछाम जान थालेको प्रहरीले सुइको पाएपछि प्रहरीले चालक सहित गाडी नियन्त्रमा लिएको थियो । कर्णाली प्रदेश सरकारले प्रतिपक्ष दलका जेष्ठ सदस्य र पहिलो सभामुख भएको आधारमा सांसद शाहीलाई सरकारी गाडी सुविधा दिएको छ । लकडाउनको बेला सांसदका छोरा र अन्य ३ जना भतिजी नाता पर्नेलाई बोकेर अछाम पुराउन लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

चालकलाई इलाका प्रहरी कार्यालय दुल्लूमा नियन्त्रणमा राखिएको छ । जिल्ला सदरमुकाममा लकडाउन कडाई भएको भएपनि सदरमुकाम बाहिरका कतिपय पालिकाहरुमा जुवा, तास, मदिरा सेवन र सवारी साधनको दुरुपयोग बढ्दै गएको गुनासो बढेपछि प्रहरीले चेक जाँचलाई कडाई गरेको छ । प्रदेश सभा सदस्य शाहीको गाडीले अनावश्यक मानिसहरु बोकेर हिँडेको भेटेपछि नियन्त्रण लिइएको दैलेख प्रहरीले जानकारी दिएको छ । जनप्रतिनीधिका नजिकका र पहुँचवालाहरुले अनावश्यक रुपमा सवारी साधनहरुको दुरुपयोग गरेको गुनासो बढेको छ । पालिका स्तरमा प्रहरीको जनशक्ति निकै कम छ लकडाउनका बेलमा विभिन्न स्थानमा जुवातास खेलेको र सवारी दुरुपयोग बढेको भन्दै प्रहरीलाई खबर आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया