सुर्खेत, ३ बैशाख ।
वीरेन्द्रनगर नगरपालिकाले ६० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको छ । संघीय सरकारको मापदण्ड बमोजिम नै व्यवस्थापन गर्न मापदण्डमा उल्लेख भएका सम्बन्धित निकायहरुसंग समन्वय गरी क्वारेन्टाईन निर्माण गर्ने निर्णय गरिएको छ । नगर कार्यपालिकाको बुधबार सम्पन्न बैठकले नगरपालिकाभित्र बाहिरबाट आउने नागरिकहरुलाई राख्ने गरी सार्वजनिक विद्यालय प्रयोग गरी क्वारेन्टाईन निर्माण गर्ने निर्णय गरेको हो ।
त्यसैगरी पहिलो चरणको राहत वितरणमा हालसम्म कुनै वडामा मापदण्ड बमोजिमका कुनै परिवार छुटेर लकडाउनको कारणले भोकै बस्नुपर्ने परिवारलाई राहत दिनुपर्ने भएमा छुट परिवारको नामनामेसी सहितको विवरण वडा समितिको निर्णयसहित बैशाख ४ गते दिनको १२ बजे सम्म नगरकार्यपालिकाको कार्यालयमा इमेल वा छिटो साधन मार्फत माग पेश गर्न अनुरोध गरिएको छ ।
राहत वितरण गरिएको विधि र सबै राहत वितरणको प्रक्रिया बैशाख ७ गते भित्रमा सम्पन्न गर्ने र वितरित परिवारको नाम नामावली सहितको विवरण वडा कार्यालयमा सूचना टाँस गरी सो को एकप्रति नगरपालिकाका पठाउने वडालाई निर्देशन गरिएको कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।
युग संवाददाता । । ३ बैशाख २०७७, बुधबार १८:४८