प्रधानमन्त्री ओलीको शेखपछि सबै सम्पति प्रतिष्ठानलाई

काठमाडौं, २ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा प्रतिष्ठान दर्ता गरेका छन् । उनले आफू निकट नेताहरूलाई यसको जानकारी गराएका हुन् । ओलीले प्रम हुनुअघि नै सो प्रतिष्ठान दर्ता गराएका हुन् । प्रधानमन्त्री हुनु अगावै प्रतिष्ठान दर्ता गराएको भएपनि सोको जानकारी हालैमात्र आफूहरूलाई गराएको ओली निकट नेपाल कम्युनिस्ट पार्टीका एक स्थायी समिति सदस्यले बताए ।

‘उहाँले प्रतिष्ठान दर्ता गराएको जानकारी दिनुभएको छ । उहाँले बालकोटको निवास र सोले चर्चेको जग्गा आफ्नो र पत्नी राधिका शाक्यको शेखपछि प्रतिष्ठानले भोगचलन गर्ने बताउनु भएको छ’, ती स्थायी समिति सदस्यसँग भने । त्यसैगरी ओलीले प्रतिष्ठानले के कसो गर्ने, कसरी गर्नेमा छलफल गरेर अगाडि बढ्ने बताएको पनि ती सदस्यले बताए ।

प्रधानमन्त्री भएपछि सार्वजनिक भएको सम्पति विवरण अनुसार ओलीको सबैजसो अचल सम्पति पत्नी राधिकाको नाममा छ । त्यसमा भक्तपुरको बालकोटमा डेढ रोपनीको क्षेत्रफलमा रहेको ३ तल्ले दुई वटा घर छन् । यस्तै झापामा १० कट्ठा जमिन पनि राधिकाकै नाममा छ ।
यसैगरी ओलीले त्यतिबेला बुझाएको सम्पति विवरणमा श्रीमती शाक्यको नाममा माछापुछ्रे बैंखमा ४ लाख, प्रभू बैंखमा ६ लाख र २५ लाख रुपैयाँको बचतपत्र रहेको उल्लेख गरेका थिए ।

यसैगरी ओलीले आफ्नो नाममा एभरेष्ट बैंकमा ४२ लाख रूपैयाँ रहेको जनाएका थिए । उनले आफ्नो सम्पतिको श्रोत तलबभत्ता देखाएका छन् भने श्रीमती शाक्यको सम्पति पनि स्वआर्जन रहेको उल्लेख छ । हिजो मात्रै नयाँ वर्ष २०७७ सालको शुभकामना दिदैं ओलीले देशमा जारी कोरोना संकट नटरेसम्म आफ्नो सम्पूर्ण तलबभत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया