क्वारेन्टनाईनबाट फर्किएका : अत्यासलाग्दो बसाई, बाँचेर घर आइयो

बीबीसी न्यूज नेपालीबाट
सुर्खेत, २ बैशाख ।
चामुण्डाविन्द्रसैनी दैलेखका तिलकप्रसाद देवकोटा दुई हप्ताको क्वारन्टीन बसाइपछि घर फर्किएका छन् । सुर्खेत वीरेन्द्रनगरमा रहेको क्वारन्टीनको ‘अत्यासलाग्दो बसाई’पछि घर फर्किन पाउँदा खुशी लागेको उनले बताए । घर खर्चको जोहो गर्न उनी गत पुसमा ’कालापार’ (भारत) गएका थिए । भारतमा लकडाउन भएपछि नैनीतालबाट ३ दिन लगाएर महेन्द्रनगर आएर अलपत्र परेका उनी सरकारले उद्धार गरि क्वारन्टीनमा राखेको बताउँछन् ।

‘कमाइ जति उतै छाडेर घर फर्किएँ’
“कोरोनाभाइरसको हल्ला सुन्दा कालापारमा बाँचिएला जस्तो नलागेपछि कमाइजति उतै छाडेर घर फर्किन बाध्य भएँ’, उनी भन्छन, ‘सकुशल घर फर्किँदा खुशी छु ।’ दुई हप्ताभन्दा बढी समय क्वारन्टीनमा बिताएपछि उनी जस्तै नेपाल आइपुगेका अरूलाई निश्चित प्रक्रिया पूरा गरेर घर फर्काइएको प्रदेश सरकारले जनाएको छ । अहिलेसम्म ५५० जनालाई त्यसरी फर्काइएको बताइएको छ ।
दुई हप्ताको बसाइपछि घर फर्किएका दैलेखका वीरेन्द्र शाही क्वारन्टीनको बसाइ अत्यासलाग्दै भएपनि ‘त्यो हाम्रै सुरक्षाको लागि भएकोले’ सहज रूपमा लिएको बताउँछन् । उनी भन्छन, ‘म ढुक्क भएर घर फर्किएँ, अब परिवारको सुरक्षाको लागि ७ दिनसम्म सेल्फ क्वारन्टीनमै बस्छु ।’ भारतबाट विभिन्न समस्या झेल्दै महेन्द्रनगरसम्म आइपुगेका उनलाई पनि त्यहाँबाट उद्धार गरेर क्वारन्टीनमा ल्याइएको थियो ।

‘मरेपनि घरमै मरौँला’
उनले भने, “लकडाउनपछि भारतमा बस्नै मन लागेन, मरेपनि घरमै मरौँला भनेर २/३ महिनाको ३०-४० हजार रुपैयाँ कमाई उतै छाडेर घर फर्किएँ ।’’ १७/१८ दिन क्वारन्टीनमा बसेर घर फर्किएका मदन सुनार पनि क्वारन्टीनको बसाइ निकै अत्यासपूर्ण रहेको अनुभूति सुनाउँछन् । उनी क्वारन्टीनमा धेरै जना भएकोले सँगै खाना खाँदा, शौचालय जाँदा लाइनमा बस्दा झन् जोखिम बढ्ला कि भन्ने चिन्ताले पिरोल्ने गरेको अनुभव सुनाउँछन् ।
मजदुरीको लागि भारतको गोवा गएका उनी भन्छन, “ठुलो सङ्कटबाट बचेँ जस्तो लागेको छ, उतै भए मरिन्थ्यो कि के थाहा ?’’ वर्षभरि घरखर्च जुटाउन भारत गएका कर्णालीका धेरै जनालाई प्रदेश सरकारले बाँके, कैलाली, कञ्चनपुरबाट उद्धार गरेर क्वारन्टीनमा राखेको थियो कहिल्यै पनि क्वारन्टीनमा नबसेका उनीहरूले घरपरिवार र आफन्तको यादले निकै सताएको बताए ।

‘छोराछोरीको धेरै सम्झना’
जाजरकोटकी नन्दा परियार क्वारन्टीनमा बस्दा घरमा रहेका छोराछोरीको धेरै सम्झना आएको बताउँछिन् । उनी भन्छिन, “खान र बस्नको केही समस्या थिएन तरपनि १८ दिनको क्वारन्टीन बसाइ १८ वर्षजस्तो लाग्यो उनी बताउँछिन् ।’’ ३ जना साना छोराछोरीलाई घरमै छोडेर अनि दुईजनालाई साथमै लिएर कामको खोजीमा पतिसँगै चार महिनाअघि उनी ‘कालापार’ गएकी थिइन् ।

‘बाँचेर घर आइयो’
जाजरकोटकै नानकली नेपाली भन्छिन, “रोगको हल्ला सुन्दा मरिन्छ कि जस्तो लागेको थियो, बाँचेर घर आइयो ।’’ क्वारन्टीनमा बस्दा कहिले घर पुगिएला भनेर निकै पीर लाग्थ्यो, उनी भन्छिन, घर पुगेपछि खुशी नै लागेको छ । कोरोनाभाइरसको संक्र्रमण फैलिन नदिन नेपाल भारत दुवै देशले लकडाउन गरेपछि धेरै जना कर्णालीबासी सीमा नाकामा अलपत्र परेका थिए । विभिन्न बाटोको प्रयोग गदै कतिपय धेरैदिन हिँडेरै घर पुगेका थिए भने कतिलाई प्रदेश सरकारले घरसम्म पु¥याउन पनि सहयोग गरेको थियो ।

त्यसरी घर गएका उनीहरुलाई स्थानीय तहले बनाएको क्वारन्टीनमा राखिएको छ भने कतिपय स्थानीय तहकै निगरानीमा होम क्वारन्टीनमा बसेका छन् । घर फर्किन हिँडेका तर बीचबाटोमै अलपत्र परेकालाई कर्णाली प्रदेश सरकारले उद्धार गरेर नेपाली सेनाको व्यवस्थापनमा क्वारन्टीनमा राखेको थियो । क्वारन्टीनमा राखिएका सबैको स्वाबको रिपोर्ट नेगेटिभ अर्थात् संक्रमण नभएको भन्ने आएकोले उनीहरूलाई घर फर्काइएको प्रदेश सरकारले जनाएको छ ।

‘ढुक्कसँग घर फर्किएँ’
कहिल्यै नबसेको ठाउँमा १८ दिन बस्दा निकै उकुसमुकुस र अप्ठेरो लागेपनि घर पुगेर परिवारलाई भेट्दा भने खुशीको आँसु झरेको सुर्खेतकी बिर्मा राईले बताइन् । ६० वर्षीया उनी भन्छिन, “केही भएर क्वारन्टीनमा राखेका हुन् कि भन्ने शङ्का थियो तर अहिले ढुक्कसँग घर फर्किएकी छु ।’’ क्वारन्टीनमा बसेर घर फर्किएकाहरू सरकारले आफूहरूको लागि राम्रो काम गरेको बताउँछन्। “सरकारले ध्यान नदिएको भए सायद अलपत्रै परिने थियो ।’’

‘क्वारन्टीनको बसाइ जेल जस्तै’
दुई हप्ताभन्दा बढी क्वारन्टीनमा बिताएका सुर्खेतका खिमबहादुर ओली एक्लै बस्नु पर्ने, साथीहरूसँग भलाकुसारी गर्न नपाइने, सेनाको आदेश विना कुनै गतिविधि गर्न नमिल्ने भएपछि आफूलाई क्वारन्टीनको बसाइ जेल जस्तै लागेको बताउँछन् ।
मजदुरीका लागि भारतको गोवा गएका उनी लकडाउनपछि हवाईजहाजमा लखनउ र त्यहाँबाट रुपेडिया हुँदै नेपालगञ्ज पुगेका थिए । उनी भन्छन, “क्वारन्टीनमा बसियो । अब कोरोनाको चिन्ता छैन, ढुक्कसँग घर फर्किएँ ।’’ क्वारन्टीनमा रहँदा कोरोनाभाइरसको त्रासभन्दा पनि घरपरिवारको यादले धेरैलाई सताएको उनीहरूले बताए ।

‘भेटेर मर्न पाए हुन्थ्यो’
बुवाआमाको याद बढी आयो, जाजरकोटका हरिबहादुर योगी भन्छन, “मर्नु परेपनि उहाँहरूलाई भेटेर मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’’ कामको सिलसिलामा सर्लाही गएका उनी घर फर्किने बेला चैत्र १२ गते क्वारन्टीन पुगेका थिए । अत्यासलाग्दो अवस्थाबाट घर पुगेर परिवारसँग खुशी साट्न पाउँदा बेग्लै आनन्दको अनुभूति भएको उनले बताए ।

घर पठाइएका उनीहरूले एक हप्ता अनिवार्य रूपमा घरमै क्वारन्टीनमा बस्नु पर्नेछ। उनीहरू घरमा क्वारन्टीनमा बसे नबसेको सम्बन्धित वडाले निगरानी गर्नेछ । क्वारन्टीनमा बस्दा उनीहरू आफ्नो स्वास्थ्यप्रति बढी सजग र शान्तसँग बसेपनि न्यास्रो भने मानेको व्यवस्थापनमा खटिएका एक सुरक्षाकर्मीले बताए । घर फर्किने बेला भने उनीहरू निकै खुशी देखिएका थिए ।

निश्चित प्रक्रिया पूरापछि घर फर्काइयो
प्रदेश सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीका क्वारन्टीनमा राखिएका ७९२ जना मध्ये निश्चित प्रक्रिया पूरा गरेर अहिलेसम्म ५५० जनालाई घर फर्काइएको बताउँछिन् । उनी भन्छिन, “केही समयभित्रै सबै क्वारन्टीन खाली हुँदैछन, कर्णालीका २५० भन्दा बढी सर्वसाधारणको स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिनु सकारात्मक पक्ष हो ।

कोरोनाभाइरसको संक्रमणलाई ध्यान दिएर कर्णाली प्रदेशमा ४०१२ अट्ने क्वारन्टीन, ४६६ अट्ने आइसोलेशन कक्ष, १७ वटा आइसीयू र ८ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको पनि उनले बताइन् । प्रदेशका सबै स्थानीय तहमा एक वडा एक एकीकृत टोली परिचालन गरेर कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको अभियान चलिरहेको छ ।

तपाईको प्रतिक्रिया