प्रकाशकीय : हाम्राे प्रकाशनको दुई दशक

युगआह्वान दैनिक प्रकाशन सुरु भएको १९ वर्ष पुरा भएको छ । २०५७ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई प्रकाशन प्रारम्भ भएको यस पत्रिका आजदेखि २० औं बर्षमा प्रवेश गरेको छ । लामो समय साप्ताहिक हुँदै प्रकाशनलाई निरन्तरता दिएकोमा २०६६ चैत्र २९ गतेदेखि दैनिक प्रकाशन प्रारम्भ भएको थियो । सुर्खेत, दैलेख र जाजरकोट तीन जिल्लाबाट पत्रिका पुनःप्रकाशन हुँदै आएकोमा २०७६ भदौं १ गतेदेखि आफ्नो स्तरबृद्धि गरी ठुलो आकार (ब्रोडसिट) मा रंगिन कर्णालीबाट पहिलो पटक प्रकाशन शुभारम्भ गर्न सफल भएका छौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस र सरकारले घोषणा गरेको लकडाउनले सुर्खेतका सबै पत्रपत्रिका र काठमाडौंबाट छापिने केही ठुला पत्रिका बन्द हुँदा पनि हामीले हाम्रो प्रकाशनलाई निरन्तरता दिन सफल भएका छौं । हाम्रा प्रकाशनमार्फत् रोग, भोक र अभावलाई छिचोल्दै कर्णालीको खानी, जल, जंगल, कृषि, जडिबुटीको उत्खनन्, प्रशोधन र पर्यटनको सम्भावना खोजीबारे पैरवी गरेका छौं । अझै सशक्त रुपमा गर्नेछौं । अहिले सिंहदरवारको अधिकार आँगनमै आएको छ । प्रदेश सरकार, संसद र स्थानीय सरकारका क्रियाकलापबारे नागरिकलाई जानकारी दिलाउनु हाम्रो मुख्य कर्म हो । पत्रिकामार्फत खोज, अनुसन्धानमूलक समाचार, लेख रचनासँगै कला, साहित्य, भाषाभाषि, लोककलाको संरक्षण र सम्वद्र्धनमासमेत हाम्रो प्राथमिकतामा रहेको छ ।

हाम्रो प्रकाशनको दुई दशकमा मुलुकमा भएको विभिन्न राजनीतिक परिर्वतनका बावजुद पनि जुन रुपले विकासले गति पाउनुपर्ने हो, त्यस ढगंले गति नपाउनु सिंगो मुलुकको लागी दुभाग्र्यपूर्ण छ । राजनीतिक पुर्नसंरचनाले शक्ति पृथिकीकरण सिद्धान्तमा तीन तहमा अधिकार बाँडफाँड गर्दा पनि आ–आफ्ना कार्यक्षेत्रमा इमान्दारीपूर्वक कार्य नहुँदा जनताको चाहना, आकांक्षा र मुलभुत आवश्यकता पुरा भएको देखिँदैन । यसप्रति हाम्रो चिन्ता र चासो निरन्तर रहँदै आएको छ । प्रेस स्वतन्त्रता, मानव अधिकार, समानता, पहिचान, शान्ति, न्याय र विकासका लागि संघर्षरत जाति, वर्ग, समुदाय र क्षेत्रका मुद्दा हाम्रो प्राथमिकता रहँदै आएका छन् । विज्ञापनदाता र उपभोक्तालाई लक्षित गरेर आमसञ्चारका माध्यमले समाचार र विचार प्रवाह गरिदिँदा समाजमा रहेको निम्नवर्ग र सीमान्तकृत समुदायका ओझेलमा पर्दै गएको छ । उनीहरूको आवाज मुखरित हुन सकेको छैन । यसतर्फ हामी गम्भिर छौं । समाजका कुरिति, कुसंस्कार, सामाजिक विकृति र पछौटेपनलाई अन्त्य गर्न सचेतनामूलक सन्देश प्रवाह गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका सारभुत तत्वहरु आम नागरिकलाई प्राप्ती र मानवअधिकारको पक्षमा निरन्तर वकालत गर्ने प्रतिबद्धता गर्दछौं । शक्तिशालीहरूबाट हुने मनपरी मात्र होइन, प्राकृतिक प्रकोप, विपत्ति, महामारी, महासंकटसमेत मिडियाको उपस्थितिले रोक्न सक्छ । स्वतन्त्र सञ्चारमाध्यमको बलियो उपस्थिति भएको लोकतन्त्रमा भोकमरी र अनिकालका विरलै उदाहरण छन् ।

ठुला उद्योग, कलकारखानाको अभाव, सिमित स्रोत, साधन, भौगोलिक विकटता, सार्वजनिक खरिद ऐन÷नियमावली मोफसलका मिडियामैत्री नहुँदा सरकारी विज्ञापन काठमाडौं केन्द्रित हुनु, विज्ञापन बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धा र विकृतिले समग्र मिडिया उद्योगलाई नै धरासायी बनाईरहेको छ । मोफसलमा सानो विज्ञापन बजार र भौगोलिक विकटता रहेको कर्णालीमा यो काम सजिलो भने पक्कै छैन । तर पनि हाम्रा आमपाठक, विज्ञापनदाता र शुभेच्छुकहरूको मायाले हामी उत्साहित नै छौं । समग्र कर्णाली प्रदेशको विकास र समृद्धिका लागि आगामी दिनमा हाम्रो उपस्थिति सशक्त हुनेछ । संचार जगतको विकास क्रमश प्रिन्ट मिडियापछि अनलाइन, यूटूव हुँदै इलेक्ट्रोनिक (विद्युतिय) मल्टिमिडियाले व्यापकता पाएको छ । प्रविधिमा भएको विकास र विश्वका आम नागरिकको पहुँच विस्तार भएसँगै मिडियाको उपयोगिता र पहुँच बढ्दै गएको छ । यसर्थ हामीले पत्रिकालाई आमनागरिकको हातहातमा पु¥याउन मल्टिमिडियाको भरपुर उपयोग र परिचालन गर्ने योजना बनाएका छौं । मल्टिमिडियालाई थप व्यवस्थित गर्दै यसलाई व्यापक बनाउने हाम्रो योजना रहेको छ । अन्त्यमा, यस दैनिकको शिर उच्च राख्न अहोरात्र कार्यक्षेत्रमा खटिने सम्पूर्ण पत्रकार, कर्मचारीहरु, संस्थाको प्रगति, दिगोपना र सफलताका लागि माया गर्नुहुने सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौं । २० औं वार्षिकोत्सवका् अवसरमा हामी यहाँहरुको साथ, सहयोग, सहकार्य र रचनात्मक सुझावको अपेक्षासहित कृतज्ञता व्यक्त गर्दछौं ।


‍‍‍‍‍‍………………………
प्रकाशक
दीपककुमार बुढा क्षेत्री


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार