कोरोना भाइरस नियन्त्रण : के हो चीन र दक्षिण कोरिया मोडल ?

प्रा.डा. रेवतीरमण मल्ल
डिसेम्बर २०१९ को अन्त्यतिर सबैभन्दा पहिले मित्रराष्ट्र चीनको हुबेईस्थित वुहान सहरमा एक व्यक्तिको फोक्सोमा अनौठो निमोनिया देखियो, जसको कुनै स्पष्ट कारण पाइएन । डिसेम्बरको ३१ तारिखमा सबैभन्दा पहिले यो रोगबारे विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गरिएको थियो । यो निमोनियाको शिलशिला अरु मानिसमा पनि देखिन चालू रह्यो । पछि त्यो निमोनिया एक किसिमको सार्स कोरोना भाइरसबाट भएको पुष्टि भयो । जुन कहिले पनि पृथ्वीको मानव जातिमा देखिएको थिएन । यसलाई पछि वैज्ञानिकहरुले सार्स कोभ–२ वा छोटकरी मा कोभ–१९ भाइरस को नाम दिएका थिए । यस भाइरसको कारणले हुने रोगलाई कोभिड–१९ भनिन्छ । प्रारम्भिक अवस्थामा यसलाई प्रकोपको रुपमा बढ्न नदिनको लागि डब्लुएचओबाट डा गाउडेन गालियाको संयोजकत्व मा खटाइएका टिम लगायत विश्वभरिका वैज्ञानिकहरुको दिमागमा सिर्फ तीन प्रश्न थिएः

१) यो भाइरस कुन माध्यमबाट कसरी फैलिरहेको छ ?
२) कुन हदसम्म यसले मानिसको स्वास्थ्य अवस्था बिगार्न सक्छ तथा कति ठूलो प्रकोप ल्याउन सक्छ ?
३) कसरी यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ ?
यी कुराको तथ्य नबुझी प्रकोप नियन्त्रण सम्भव थिएन । त्यसैले पहिलो ३ हप्ताको समय अध्ययन, अनुसन्धानमा बित्यो ।
तर यसको फैलिने क्रम रोकिएन । प्रतिदिन नयाँ संक्रमित व्यक्तिको संख्या बढ्दै जाने क्रममा दिनको हजारमा पुग्दै महामारीको रुप धारण गर्न थाल्यो । अति कम समयमा यस भाइरसको संक्रमण अन्य देशहरूमा समेत फैलिएर विश्वव्यापी महामारीको रुप लियो ।
विश्वमा पहिलो एक लाख संक्रमितमध्ये ८० प्रतिशत चीनका थिए। तीन हप्ता अघिसम्म चीनका ३२ सय मानिसको मृत्यु भएकोमा त्यसको ८० प्रतिशत वुहान सहरका मात्र थिए। चीनमा हालसम्म ८१ हजार ९ सय ५३ जना संक्रमित पुष्टि भएकोमा ३ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ ।
अति छिटोछिटो फैलिने यो भाइरसको स्वभावको कारणले सुरुमा चीनमा करिब हजारको संख्यामा देखिएको संक्रमितको संख्या करिब ६ हप्ताको समयमा ८० हजारमा पुगेको थियो । त्यस्तै २० मात्र संक्रमितको संख्या रहेको इटालीमा करिब साढे दुई हप्ताको दौरानमा १२ हजारमा पुगेको थियो । अरु देशहरुमा पनि यो भाइरसको संक्रमण फैलिँदै गर्दा हाल आएर विश्वका २ सय भन्दा बढी बढी देशका कुल संक्रमितमध्ये २० प्रतिशत अमेरिकामा रहेको देखिएको छ ।
तर, चीनले भने विश्वलाई नै चकित पार्नेगरी यस भाइरसलाई नियन्त्रण गर्न सफल भएको देखिन्छ। चीनले प्रतिदिन हजारौंको संख्यामा नयाँ संक्रमित व्यक्तिको संख्या थपिने अपवस्थालाई आज आएर १०÷१२ मा सीमित गराउन सफल भएको छ । आज यस्ता नयाँ केसहरु बेइजिङ्ग मा २०० भन्दा कम र सांघाइमा ३० भन्दा कममा सीमित छन् । चीनले यस प्राणघातक भाइरसको नियन्त्रणको लागि कठोर निर्णय गरी आक्रामक पाइला नचालेको भए यो सम्भव हुने थिएन ।

चीन मोडल मुख्यतः ३ प्रमुख सिद्धान्तमा आधारित देखिन्छः
१) लकडाउनलाई कडाइका साथ पालन गराउने
२) बल प्रयोग गरेर भए पनि जरुरत सबैलाई क्वारेन्टाइनमा राख्ने
३) विस्तृत जनचेतना र उत्प्रेणता
यिनै मर्मलाई समेटेर उसले लिएका रणनीतिक पाइला बुँदागत रुपमा यस प्रकार छन ः

१) लकडाउनको घोषणा ः
जब कम समयमै चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन खोज्यो त्यसपछि चीनले पनि नरमाइलो वा नराम्रो लाग्ने तर नगरी नहुने कठोर निर्णय लिँदै आक्रामक कार्बाही गर्न सुरु ग¥यो । उसले जनवरीको २३ तारिखमा महामारीको केन्द्रविन्दु रहेको वुहान सहर तथा हुबेई प्रान्त अन्तर्गत पर्ने अन्य १५ सहरमा भित्र र बाहिर आवतजावत गर्न नपाउने गरी लकडाउनको घोषणा ग¥यो ।
करिब ६ करोड (६० मिलियन) जनसंख्या भएको यो क्षेत्र मा उडान तथा रेलवे सेवाहरु रोकियो, राजमार्ग र भित्री बाटोहरु बन्द गरियो । त्यससँगै चीनका अरु थुप्रै सहरमा खानेकुरा, औषधि लिने जस्ता अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन सुचित गरियो । चीनको आधा जनसंख्या करिब ७६ करोड चिनियाँ आफ्नाआफ्ना घरमा सीमित भएर बस्न बाध्य भए ।

त्यससँगै सामाजिक दूरी कायम गराउनको लागि स्कुल, अफिस, सिनेमा घर, मल, खेल तथा अन्य सामाजिक आयोजना तथा प्रतियोगिता, कलकारखाना र पसलहरु बन्द भए। सामाजिक दूरी कायम गर्नुपर्ने नियमलाई आक्रामक रुपमा पालन गराउन सुरु गरियो । आज त्यहाँ लकडाउन भएको साढे दुई महिना भइसक्यो । यसअघि महामारीको शिखरको बेला त्यहाँ प्रतिदिन नयाँ संक्रमितको संख्या १ हजार जति हुन्थे भने आजकल एकाध दर्जनमा सीमित भएका छन् । लकडाउनअघि जुन रफ्तारमा रोग फैलिरहेको थियो, त्यसलाई हस्तक्षेप नगरेको भए चीनका ४० प्रतिशत अथवा करिब ५० करोड नागरिक सो भाइरसबाट संक्रमित हुन सक्ने थिए । यसको घोषणापछिको एउटा अध्ययनमा फेब्रअरीको १६ देखि ३० को बीचमा एउटा संक्रमित व्यक्तिले अरु व्यक्तिहरुलाई भाइरस सार्न सक्ने दर १.०५ मा झरेको पाईएको थियो ।
त्यस्तै जनस्वास्थ्यका शोधकर्ताहरुको एउटा अध्ययनले के देखाउँछ भने यदि चीनमा १ हप्ता अगाडि नै लकडाउन गरेको भए ६७ प्रतिशत चीनका नागरिक यो भाइरसबाट संक्रमित हुनबाट बच्न सक्ने थिए । वैज्ञानिकहरुको अर्को अध्ययनले यो पनि देखाएको छ कि, वुहान सहरमा वायुयान, रेल्वे तथा अन्य स्थलगत यातायातको बन्देजले गर्दा चीनका अरु सहरहरुमा भाइरस फैलाउने क्रमलाई ४ दिनले कमी ल्यायो । त्यस्तै यस कार्बाहीले गर्दा २ देखि ३ हप्ताको अवधिसम्म ४ देखि ५ संक्रमित मानिसको माध्यम भएर चीनबाट अरु देशहरूमा यो भाइरसलाई निर्यात हुनबाट बचायो । त्यसपछि भने वुहान सहर बाहेकका सहरमा घुम्ने मानिसले अरु अन्तराष्ट्रिय सहरहरुमा भाइरस फैलाउने काम गरे ।
लकडाउन एउटा सबैभन्दा नाटकीय र विवादास्पद निर्णय थियो । यसले जनवरीको २३ तारिखदेखि वुहान सहरसहित हुबेई प्रदेशका अन्य पन्ध्र सहरका करिब ५ करोड (५० मिलियन) नागरिकलाई आफ्नो घरभित्र अनिवार्य क्वारेन्टाइनमा बस्न बाध्य गराइएको थियो । लकडाउनबाट विश्वका अरु वैज्ञानिकहरुले चीनमा यस्तो सकारात्मक नतिजा दिन सक्ला भन्ने सोचेका थिएनन्। तर लकडाउनले घोषणाको दिनदेखि अत्यन्त प्रभावकारी ढंगले संक्रमित व्यक्तिहरुलाई चीनका अरु भूभागहरु तथा अन्य देशमा जानबाट रोकेर कोरोना भाइरस फैलिनबाट बचायो । चीनको अरु भूभागमा भने सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको थियो । त्यसको रेखदेख गर्न स्थानीय छिमेकी प्रतिनिधिलाई नियुक्ति गरी जिम्मेवारी दिइएको थियो ।

२) यातायात पूरै बन्द गरियो
वुहानको भित्री सडकहरुमा पूर्ण रुपमा मानिसलाई आवतजावत गर्न तथा सबै किसिमका यातायातका साधनलाई चलाउन बन्देज गरियो । त्यस्तै वुहानको आसपास केन्द्रविन्दु भई चल्ने कुनै पनि रेलवे सेवालाई वुहानमा रोक्न महिनौंसम्म बन्देज गरियो ।

३) अनिवार्य लकडाउनको नियम पालन गर्नुपर्ने आदेश
चीनमा नागरिकलाई घरबाहिर ननिस्कन सूचित गरिनुको साथै सुरक्षाकर्मीहरुले हरेक घरबाट नियमको उल्लंघन भएरनभएको नियमित जाँच गरी कडाइका साथ पालन गराइएको थियो । सबै नागरिकलाई अनलाइन अर्डर अनुसार खानेकुरा र अन्य आधारभूत आवश्यकताका कुराहरु घरमै पुर्याउने चुस्त व्यवस्था मिलाइएको थियो ।

४) सर्वसुलभ र सबै नागरिकको पहुँच हुनेगरी निःशुल्क ल्याब परीक्षणको व्यवस्था
कोरोना भाइरसको ल्याबटेस्टलाई देशभरि निःशुल्क बनाइयो र जो कोही पोजिटिभ भेटिए अवस्था हेरी तिनलाई अस्पताल वा आइसोलेसन सेन्टरमा पठाइयो । सुरुमा कोरोनाबाट संक्रमित भई बिरामी भएकालाई लक्षण देखिएपछि अस्पताल भर्ना गर्न १५ दिनसम्म समय लाग्ने गथ्र्यो भने पछि त्यसलाई घटाएर २ दिनभित्रै भर्ना गर्न सकिने स्थिति बनाइयो । सरकारले हरेक नागरिकलाई यो नयाँ भाइरसको ल्याब परीक्षण, औषधि खर्च, अस्पताल भर्ना हुँदाको सम्पूर्ण उपचार खर्च निःशुल्क हुने र नागरिकको स्वास्थ्य बिमाबाट कभर गर्न नपर्ने कुरा स्पष्ट पार्यो। यसले स्वास्थ्य बिमा कम वा नभएकालाई स्वास्थ्य सेवाको पहुँचभित्र आउन हौसला प्रदान ग¥यो ।
त्यस्तै सुरुमा प्राइभेट नर्सिङ्ग होमहरुमा जान बाध्य भएका नागरिकलाई पनि ठूलो राहत मिल्यो । लकडाउनको साथै शुरुवातमा नै संक्रमितहरु चिन्ने र आइसोलेसनमा राख्ने यो रणनीतिले गर्दा चीनमा संक्रमितको संख्या ६७ प्रतिशतले बढ्नबाट रोक्न सकियो । अन्यथा फेब्रुअरी अन्तसम्म नै संक्रमितको संख्या ८० लाख पुगिसक्ने थियो । यसो नगरेको भए सो अवधिसम्म संक्रमितको संख्या ५ गुणाले बढी पुग्ने थियो । अत्यन्त धेरै जनसंख्या भएका घना वस्तीका शहरहरुका प्रत्येक नागरिकका लागि यो सेवा प¥ुयाउन चीनको लागि ठूलो चुनौतीपूर्ण थियो ।

५) नयाँ अस्पतालहरुको निर्माणः
पोजिटिभको उपचारका लागि प्रशस्त आइसोलेटेड बेडहरु सिर्जना गरियो। चीनले यो संकटको घडीमा रातदिन काम गरेर प्रिफ्याब मोड्युलको १ हजार बेडको अस्पताल ६ दिनमा र १३ सय बेड्को अस्पताल १६ दिनमा बनाउन सफल भयो । २४ देखि ७२ घण्टामा ट्रेनिङ्ग सेन्टर, रङ्गशाला र अरु बिल्डिङ्गहरुलाई आइसोलेसन र अस्पताल प्रयोजनको निमित्त बदल्ने काम भयो । त्यस्तै पहिलेदेखि नै विद्यमान जनरल सेवा दिने अस्पतालहरुलाई कोरोनाको बिरामीलाई मात्र राखी उपचार गर्ने व्यवस्था गरियो ।

६) अनलाइन स्वास्थ्य सेवा
चीनमा अत्यावश्यक इमर्जेन्सी र सघन उपचार सेवा चाहिने अवस्था बाहेकका स्वास्थ्य समस्याका लागि अस्पताल नजान उत्साहित गरी इन्टरनेट, टेलिमेडिसिन प्रणालीबाट सेवा प्रवाह गर्न थालियो । त्यस्तै इमर्जेन्सी सर्जरी बाहेक इलेक्टिभ सर्जरीको मितिलाई अलि पछि धकेल्ने काम शुरु गरियो ।

७) फिवर क्लिनिकहरुको व्यवस्था
यदि कसैलाई आफूलाई पनि सो रोग लाग्यो कि भनेर शङ्का हुन्थ्यो हजारौंको संख्यामा रहेका सरकारी फेबर क्लिनिकहरुमा तिनलाई पठाइन्थ्यो । जहाँ तापक्रम नापिनुको साथै मेडिकल हिस्ट्री, ट्राभल हिस्ट्री र तिनीहरुको पहिले संक्रमिक मानिससँग सम्पर्कमा भएरनभएको बारे छलफल गरिन्थ्यो । यदि सम्भावित संक्रमित मानिस संग सम्पर्कमा आएको शंका लागेमा उनीसँग अरु कोको साथमा थिए, तिनको पनि पहिचान गरी तुरुन्तै खोज गरी सबैलाई ल्याब परीक्षणको दायरामा ल्याई पोजिटिभ भएकालाई आइसोलेसन वा अस्पतालमा राख्ने काम तदारुकताका साथ सम्पन्न गरिन्थ्यो । गुवाङडोङ्ग प्रदेश जुन वुहानबाट १० घण्टा ड्राइभको दूरीमा मात्र पर्छ, त्यहाँको फेबर क्लिनिकहरुमा मात्र ३ लाख २० हजार जनाको ल्याब परीक्षण गरिएको थियो, जसमा ०.१४ प्रतिशत मानिसमा मात्र कोरोना भाइरस पोजिटिभ पाइएको थियो ।

८) कोरोना भाइरसलाई वार्ड वा आइसोलेसनभित्र सीमित गराइयो
सारा अस्पतालका वार्ड तथा आइसोलेसन सेन्टरहरुका पर्खालभित्र कोरोना पोजिटिभ बिरामीलाई सीमित गराई भाइरसलाई संकुचनमा ल्याउने काम गरियो अर्थात् बाँकी दुनियाँबाट सिल गर्ने काम द्रुतगतिमा सम्पन्न गराइयो । किनकी हरेक मिनेटको अत्यन्तै ठूलो महत्व थियो । जति छिटो तपाईं कोरोना पोजिटिभ केस पत्ता लगाउनुहुन्छ, जति छिटो तिनीहरुलाई आइसोलेट गर्न सक्नुहुन्छ, जति छिटो तिनीहरुसँग पहिले सम्पर्कमा आएका मानिसको खोजी गरी ल्याब परीक्षण र आइसोलेसनको दाएरामा ल्याउन सक्नुहुन्छ, त्यति नै छिटो तपाईं कोरोनालाई जित्न सक्नुहुन्छ ।


९) प्रत्येक संक्रमितलाई ट्रेस गर्ने प्रणालीको प्रयोग
चीनले बृहत रुपमा ठूलो संख्यामा संक्रमितको सम्पर्कमा आएका नागरिकलाई खोजी गर्न व्यावहारिक रुपमा सफल भयो । त्यसको लागि उसले हरेक कोरोना भाइरसबाट संक्रमित भई पोजिटभ देखिएका मानिसहरु नजिकैको सम्पर्कमा आएका व्यक्तिहरुलाई खोजी गरी पत्ता लगाउने व्यावहारिक प्रविधिको प्रयोग गर्यो । त्यहाँका प्रतिकारात्मक स्वास्थ्य सेवामा काम गर्ने जनस्वास्थ्य पदाधिकारीहरु कोरोना पोजिटिभ ९० हजारमध्ये प्रत्येक एकएकलाई खोजी गर्न सफल भए । देशभरि सम्भावित कोरोना पोजिटिभलाई खोज्न बनाइएका इमर्जेन्सी सेन्टरहरु मा झुन्ड्याइएका ठूलाठूला स्कृनहरुमा कुनकुन निश्चित क्षेत्रहरूमा केकति संख्या र अनुपातमा संक्रमित समूहहरु पाइएका छन् भनी जनतालाई सुसूचित गर्ने काम भयो ।
जनस्वास्थ्य पदाधिकारीहरुले आआफ्ना प्रदेशका गभर्नरहरुसँग मिलेर आवश्यकता अनुसार स्थानीय फिल्ड का टिम सदस्यहरुसँग समेत अन्तक्र्रिया तथा सोधपुछ गरी युध्दस्तरमा कुन भौगोलिक क्षेत्रमा कुन संख्या, मात्रा र गतिमा रोग फैलिएको छ भन्ने कुरा पत्ता लगाउन दिनरात एक गरी काम गरेर प्रत्येक कोरोनाको संक्रमणबाट पोजिटिभ अवस्थाका नागरिकहरुको ट्रेस गरी पत्ता लगाउन सफल भए । त्यस बाहेक चीनमा व्यापक रूपमा प्रयोगमा आएका दुई मोबाइल एपहरु (अलि पे र वी च्याट)हरुले नागरिकलाई स्वास्थ्य शिक्षा दिने, सूचित गर्ने, प्रतिबन्धित कुराहरूलाई व्यवहारमा लागू गराउन जोड दिने आदि कार्यमा महत्वपूर्ण योगदान गरे । त्यस्तै यिनले सरकार लाई मानिसहरूको गतिविधिलाई पछ्याउने अनुमति दिनुको साथै संक्रमण भएको पुष्टि भइसकेका मानिसहरुलाई असुरक्षित यात्रा गर्नबाट रोक्न समेत सजिलो गरायो । हरेक व्यक्तिको मोबाइल फोनमा ट्राफिक बत्तीको जस्तो रातो, पहेंलो र हरियो कोडहरु उल्लेख भएका हुन्थे, जसले व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुको साथै चलेको रेल स्टेसन वा अन्य चेक प्वाइन्टहरुमा कसलाई रोक्ने र कसलाई छोड्ने भनेर थाहा पाउन गार्डहरुलाई सजिलो हुन्थ्यो ।
वुहान सहरमा मात्रै ५÷६ जना प्रतिनिधि भएको १८ सय वटा संयन्त्रले १२ हजार जना नोबेल कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएका मानिसलाई ट्रेस गर्न सफल भएको थियो ।

१०) बृहत राष्ट्रिय निगरानी प्रणालीको विकास तथा त्यसको उचित प्रयोग
चीनले सन् २००२र२००३ मा जतिखेर त्यहा सार्स रोगको माहामारी फैलिएको थियो, त्यतिबेला नै ठूलो परिमाण तथा अनुपातमा काम गर्नसक्ने भरपर्दो इलेक्ट्रोनिक निगरानी प्रणालीको विकास गरेको थियो । जुन संक्रमित मानिससँग सम्पर्कमा आएका मानिसहरुको खोजी गर्नेदेखि युध्दरेखाको अगाडि खटिएर छिटोभन्दा छिटो रोग फैलिने गति र प्रक्रियालाई रोकी नागरिकलाई रोग सर्नबाट रोक्ने जनस्वास्थ्य रणनीतिमा आधारित थियो। यसमा संक्रमित मानिससँग नजिकैको सम्पर्कमा आएका मानिसहरु लाई पहिल्याउने, पहिचान गर्नेदेखि पछ्याउने र तिनको उचित व्यवस्थापन गर्नेसम्मका कामहरु सम्मिलित थिए ।
गत मार्च १८ बुधबारका दिन विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा माइकेल ¥यानले भन्नु भएको थियो कि,’केही देशहरूले कोरोना माहामारी विरुद्धको लडाईंको अत्यन्त प्रारम्भिक चरणमा नै संक्रमितहरुलाई खोजी गर्ने कामलाई धेरै छिटो हरेस खाई छोड्ने काम गरेका छन् ।’
उहाँले के कुरामा जोड दिनुभयो भने सामाजिक दूरी कायम गर्ने प्रकृया सबै कल्चरका मानिसले आत्मसात नगर्न सक्छन् । त्यसको तुलनामा संक्रमितको खोजी गर्ने रणनीति बढी प्रभावशाली, कम खर्चिलो र ज्यादा महत्वपूर्ण आधारभूत सुरक्षात्मक जनस्वास्थ्यको हस्तक्षपकारी नियन्त्रण विधि हो। त्यसो त लकडाउन जस्तो सामाजिक दूरी कायम गर्ने प्रक्रियाले भने व्यापकरुपमा नै रोग फैलाउने धेरै साङ्लोका शृङ्खलाहरुलाई तोड्ने काम गर्छ ।

११) राष्ट्रिय ऐक्यबद्धता
हुबेईको माहामारीको बखत देशभरिका चिनियाँ जनताले साझा राष्ट्रिय ऐक्यबद्धता देखाएका थिए । अरु प्रदेशहरुबाट माहामारीको केन्द्र भाग हुबेईमा ४० हजार भन्दा बढी चिकित्सक तथा अन्य स्वास्थ्यसेवीहरु पठाइएका थिए, जसमा धेरैजसो स्वयंसेवी स्वास्थ्य जनशक्ति नै थियो । यातायात, कृषि तथा स्वास्थ्यका अन्य प्रशासनिक कर्मचारीहरुलाई फिल्डमा नयाँ जिम्मेवारी दिइएको थियो। राजमार्गमा काम गर्ने कर्मचारीलाई स्क्यानरले ज्वरो नाप्ने, खानेकुरा घरघर पु¥याउने, संक्रमितको सम्पर्कमा आएका मानिसको ट्रेस गर्ने जस्ता जिम्मेवारी दिइएको पाइन्थ्यो । त्यस्तै अस्पतालको रिसिप्सनिस्टको काम गर्ने महिलाले समेत अस्पतालको हातामा नागरिकहरु लाई मास्क र गाउन कसरी संक्रमण नियन्त्रण हुने तरिकाले लगाउने भनी सिकाइरहेको देखिन्थ्यो ।

१२) नागरिकको व्यक्तिगत स्तरबाट पनि तीव्र योगदान
चिनियाँ जनता आफ्नो साझा सत्रु कोभ–१९ भाइरसको बाटोलाई बदल्न या गिराउनको लागि व्यक्तिगत नागरिक को स्तरमा समेत स्वअनुशासन, धैर्यता, आत्मविश्वास र ठूलो इच्छाशक्तिले सामूहिक रुपमा काम गरी यो भाइरसलाई जित्न सफल भई एउटा ठूलो मिसाल कायम गर्न सफल भएका थिए । हरेक झ्याल र गगनचुम्बी भवनहरुको पछाडि उनीहरु एकअर्कालाई सहयोग गरिरहेका तथा साथ मिलेर सोच विचार र काम गरिरहेका हुन्थे । चिनियाँ जनता आफ्नो देशमा आइलागेको साझा प्राणघातक आतंकको सामना गर्नको लागि सामूहिक रुपमा भित्रैदेखि प्रतिबध्द र समर्पित थिए ।

१३) लुक्न–लुकाउन खोज्नेलाई सजाय दिने नीति
राज्यले कोरोना संक्रमण फैलिएको देश वा संवेदनशील क्षेत्रबाट आएका वा कोरोना संक्रमणको लक्षण भएर पनि सूचना नगर्ने र जाँचको दायरामा नआउने व्यक्तिहरु लाई कोरोना रोगको रोकथाम तथा नियन्त्रण गर्ने काममा सहयोग नगरेको आरोपमा कार्वाहीको दायरामा ल्याउने काम ग¥यो । किनकी नागरिकको स्वास्थ्यको अत्यधिक संरक्षण र न्यूनतम क्षतिलाई सन्तुलन कायम राख्नको लागि यस्ता कार्बाही जरुरी थिए ।

के हो दक्षिण कोरिया मोडल ?
फेबुअरीको अन्त्तिमदेखि मार्चको सुरुवातसम्म कोभिड–१९ का बिरामीको संख्या केही दर्जनबाट केही सय हुँदै हजारमा पुग्दै प्रकोपको रुप लिन थाल्यो । फेबु्रअरी २९ को शिखरको दिनमा चिकित्सकहरुले एकै दिनमा ९ सय ९ जनासम्म यस रोगका बिरामीलाई भेटे । त्यो दिन ५ करोड जनसंख्या भएको यो राष्ट्रले आफूलाई रोक्न नसक्ने अवस्थाको किनारामा पुगेको महसुस ग¥यो । तर आधा भन्दा कम हप्तामा नै यो संख्याआधा मा झ¥यो । ४ दिनमा यो फेरि आधामा झर्यो र यो क्रम जारी रह्यो । २२ मार्च आइतबारको दिन त्यहाँका अधिकारीहरुले महिनाभरिकै सबैभन्दा कम ६४ जना मात्र कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामी पाएको रिपोर्ट गरे । त्यतिखेर जतिबेला विश्वका अन्य थुप्रै देशहरूमा प्रतिदिन हजारौंको संख्यामा यस भाइरसबाट संक्रमित भएका मानिसको संख्या बढ्दै गएर ती देशका अर्थ व्यवस्था र स्वास्थ्य सेवा प्रवाह गर्ने प्रणालीलाई नै अस्तव्यस्त अवस्थामा पुर्याइसकेको थियो ।
मित्रराष्ट्र दक्षिण कोरियाले देशको अर्थव्यवस्थालाई चौपट नगराईक पनि आक्रामक र चुस्त प्रतिकारात्मक जनस्वास्थ्यका विधि तथा औजार प्रयोग गरी कोरोनाको प्रकोप फैलिनबाट बचाउन सकिन्छ भन्ने सन्देश विश्वलाई दिएको छ । उसले लिएका रणनीति यस प्रकार छनः

१) रोगले माहामारीको रुप लिनुअघि नै हस्तक्षेप गरी रोक्ने
जनवरीको २० तारिखमा जब देशमा एउटा मात्र कोरोना पोजिटिभ केस देखियो, सरकारले तत्कालै सबै औषधि कम्पनीहरुलाई बोलाएर ठूलो मात्रामा अबिलम्व कोरोना भाइरसको परीक्षण किटहरु उत्पादन गर्न आह्वान गर्नुको साथै उत्पादनपछि त्यसलाई आकस्मिक रुपमा नै स्वीकृति दिइने प्रत्याभूति दिलायो । फेब्रुलरी अरीको २९ तारिखमा त्यहाँ ९ सय ९ जना नयाँ संक्रमित भएको देखियो। त्यसपछि दक्षिण कोरियाली राष्ट्रपतिले मार्चको ४ तारिखमा कोरोना भाइरस विरुद्ध युध्दको घोषणा गरे ।
शोधकर्ताहरुले आफ्नो देशमा कोरोना भाइरस फैलाइरहेको श्रोत करिब २ करोड ५० लाख आवादी भएको दक्षिण कोरियाको डेगु सहरमा रहेकोे एउटा चर्च भएको कुरा पत्ता लगाए । तत्पश्चात त्यहाँ आकस्मिक उपाय तथा जनस्वास्थ्यका विधिहरु लागू गर्न शुरु गरियो। त्यसको लागि उसलाई मानिसको आवतजावत लाई रोक्नु परेन । किनकी संक्रमणको श्रोत चर्चको प्रार्थना सभा नै थियो। अमेरिका लगायत अन्य युरोपेली मित्र राष्ट्रहरु भन्दा फरक दक्षिण कोरियाले कोरोना संक्रमणलाई राष्ट्रिय संकटको रुपमा महत्व दियो। यसअघि उसले सन् २०१५ को मिडिल इष्ट रेस्पिरेटरी सिन्ड्रोम सार्सको माहामारीको समयमा उसले राष्ट्रिय संकट घोषणा गरेको थियो, त्यतिबेला उसले आफ्ना ३८ जना नागरिकको मृत्युको क्षति भोग्नुपरेको थियो। त्यतिबेला उसले माहामारीलाई नियन्त्रण गर्न प्रिभेन्टिभ पब्लिक हेल्थको निश्चित प्रणालीका रुपरेखाको विकास गरेको थियो। त्यसको प्रयोग पनि उसलाई लाभदायक सिध्द भयो।

२) सुरूवातमा नै ल्याब परीक्षण गरी संक्रमितको पहिचान गर्ने
उसले बढीभन्दा बढी आफ्ना नागरिकको ल्याब परीक्षण गर्ने र पोजिटिभ जतिलाई आइसोलेसन मा राख्ने रणनीति लियो। यसबाट संक्रमितहरुको प्रारम्भिक अवस्थामा नै निदान र उपचार हुने भई रोग फैलिनबाट पनि बच्न सकिने भयो। दक्षिण कोरियाली सरकारले दशभरि ६०० वटा ल्याब परीक्षण सेन्टरको व्यवस्था गरेको थियो, ताकी बढीभन्दा बढी नागरिकलाई यो रोग पोजिटिभ भए नभएको छिटोभन्दा छिटो थाहा पाउन सकियोस्। समयमा नै उनीहरुको आइसोलेसनमा राखी उपचार होस। पोजिटिभ संक्रमित मानिसबाट चिकित्सक, स्वास्थ्यकर्मी लगायत अरु नागरिकमा रोग सर्न वा फैलिन पनि नपाओस् । यसको साथै सिर्जित हुन सक्ने कोरोनाका रोगीहरुको अनियन्त्रित चापलाई देशका अस्पताल, स्वास्थ्य संस्था तथा नर्सिङ होमहरुको आफ्नो स्वास्थ्य जनशक्ति तथा आधारभूत भौतिक क्षमताले थेग्नै नसक्ने अवस्था पनि नआवोस् । त्यसैले दक्षिण कोरियाले आफ्ना ३ लाख भन्दा बढी नागरिकको कोरोनाको ल्याब परीक्षण गरिसकेको छ, जुन प्रतिव्यक्ति दरले हिसाब गर्दा अमेरिकाको भन्दा ४० गुणा बढी छ ।
यसको लागि सरकारले हरेक ५० ड्राइभहरुमा मानिस आफ्नो गाडीबाट नओर्लिकन भित्रै बसेर उनीहरुको ज्वरो नाप्ने, लक्षण सम्बध्द प्रश्नहरुको लिस्ट उनीहरुलाई भर्न लगाउने र ल्याब परीक्षणको लागि थ्रोट स्वाब स्याम्पल लिने सम्पूर्ण काम १० मिनेट भित्रै सकिने र १र२ घन्टामा नै रिपोर्ट दिने व्यवस्था गरेको थियो। कतै फोन बुथ जस्ता तर पारदर्शक सानासाना कक्षहरुमा स्वास्थ्य सेवीहरुले मानिसहरुको घाँटीको स्याम्पल लिइरहेका देखिन्थे। हरेक नागरिकको स्मार्टफोन र सबवे स्टेसनबाट पुर्याइने अन्तहीन जनसन्देशहरुले नागरिकलाई अलिकति लक्षण मिले पनि ल्याब परीक्षण गर्न प्रेरित गरिरहन्थे । विदेशीहरुलाई अनिवार्य एउटा एप डाउनलोड गर्न लगाइन्थ्यो, जसले उनीहरुलाई आफूसँग कुनै लक्षण भए चेक गर्न मद्धत गथ्र्यो। अफिस, होटेल र ठूला भवनहरुमा प्रायः थर्मल इमेज क्यामेराहरु जडान गरिएको पाइन्थ्यो, जसले ज्वरो आएका मानिसहरु लाई चिन्ने काम गर्थ्यो । धेरै रेष्टुरेन्टहरुमा बाहिरबाटै ग्राहकको ज्वरो नापेपछि मात्र भित्र जान अनुमति दिइन्थ्यो ।

३) संक्रमितको सम्पर्कमा आएका मानिसको ट्रेस गर्ने, निगरानी गर्ने र आइसोलेसनमा राख्ने
कोभ–१९ पोजिटिभ भएका मानिसको सम्पर्कमा आएका व्यक्ति पत्ता लगाउने तथा निगरानी राख्ने वा सर्भेइलेन्स गर्ने कामको लागि सेक्युरिटी क्यामेराका फुटेज, क्रेडिट कार्डहरुका रेकर्डको साथै उनीहरुको गाडी र सेलफोनको डाटासम्म हेरिन्थ्यो। त्यहाँका विज्ञ इपिडेमिओलोजिस्टहरु आफ्ना मौलिक दिमाग र विचारको प्रयोग गरी सुरक्षा निकायका जासुसले झैं काम गर्थे। कोरोना भाइरस जस्तो छिटो फैलिने प्राणघातक सरुवा रोगले आफ्नो देशमा ल्याएको र ल्याउनसक्ने ठूलो संकटलाई नियन्त्रणमा राखी आफ्ना नागरिकलाई बचाउनको निमित्त उनीहरुले व्यक्तिगत गोपनियता भन्दा सामाजिक सुरक्षालाई बढी प्राथमिकता दिनुपर्छ भन्ने महसुस गर्दै कानुन संसोधन गरे। यसलाई बृहतरुपमा कोरियाली जनताले स्वीकार गरे ।
तर, जब कोरोनाको बिरामीको संख्या पाइला पछ्याउन नसक्ने गरी बढ्न थाले, तब उनीहरुले करोडौं नागरिक लक्षित सामूहिक सन्देशको प्रणालीलाई अघि बढाए। जब उनीहरुको जिल्लामा कुनै एउटा नयाँ कोरोनाको केस भेटिन्थ्यो, तब सारा कोरियाली नागरिकका सेलफोन इमर्जेन्सी एलर्टका साथ भाइब्रेट हुन्थे। नागरिकलाई उत्प्रेरित गर्न, सचेत राख्न र सुसूचित गर्नको निमित्त सरकारले व्यवस्था गरेको वेबसाइट र हेल्थएपहरुमा जब कुनै कोरोनाको संक्रमित व्यक्ति कतै यात्रा गरेका हुन्थे, तिनीहरुको यात्राको विवरण तथा घटनाक्रमहरु कहाँ कुन समयमा कुन बस वा सवारीसाधनमा तिनीहरु चढे वा ओर्लिए, साथमा को थिए, अझ तिनीहरुले मास्क लगाएका थिए वा थिएनन् आदि कुराको विस्तृत विवरण हरेक घण्टा घण्टामा र कहिले मिनेटमिनेटमा पनि यस प्रयोजनको लागि सकारले व्यवस्था गरेको वेबसाइट र स्मार्टफोन हेल्थएपहरु मार्फत विस्तृत विवरण जानकारी गराइन्थ्यो । सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिइएका मानिसहरुलाई अर्को एउटा एप डाउनलोड गर्न अनिवार्य गराइएको थियो, जसको माध्यमबाट कोही व्यक्ति आइसोलेसनबाट नियम तोडेर बाहिर निस्केमा अधिकारीहरु एलर्ट हुन्थे । यस्तो दुस्साहस गर्ने व्यक्तिलाई २५०० डलरसम्म जरिवाना गरिन्थ्यो ।
संक्रमितहरुको अग्रिम पहिचान तथा उपचार गर्ने, सामान्य लक्षण भएका संक्रमित व्यक्तिहरुलाई अलग खास आइसोलेसन सेन्टरमा पठाई उपचार दिने दक्षिण कोरियाका अधिकारीहरुको चुस्त रणनीति र व्यवस्थापनले गर्दा उनीहरुले आफ्नो देशका ठूला अस्पतालका बेडहरु लाई गम्भीर अवस्था वा प्रकृतिका बिरामीलाई मात्र भर्ना गरी उपचार सेवा दिनको लागि अत्यन्त सुरक्षित रुपमा छुट्याई खाली राख्न सफल भए । त्यसैले उक्त राष्ट्रको कोरोना संक्रमणबाट मृत्यु भएका बिरामीहरुको संख्या र यो रोगको निदान भएका कुल संक्रमित बिरामीको अनुपात जसलाई केस फाटालिटी रेट भनिन्छ, एक प्रतिशत मात्र छ, जुन बाँकी विश्वका धेरै विकसित राष्ट्रहरुको तुलनामा उल्लेखनीय रूपमा कम हो

४) नागरिकको पनि सक्रिय सहयोगको आदान प्रदान
हरेक मानिसलाई पछ्याउन पुग्ने संख्याका स्वास्थ्य जनशक्ति बा ज्वरो स्क्यान गर्ने मान्छे पुर्याउन दक्षिण कोरियालाई सम्भव थिएन। त्यसैले सरकारलाई हरेक नागरिकको संलग्नता र सहयोग लिनु अनिवार्य थियो। कोरोना भाइरस विरुध्द जित हासिल गर्नको लागि सरकारलाई नागरिकलाई पूर्ण रुपमा सुसूचित गर्न र उनीहरुको सक्रिय सहयोग लिन जरुरी थियो। स्मार्ट फोन, टेलिभिजन र सबवे स्टेसनहरुमा फुकिने सूचनाहरुमा निरन्तर रुपमा मास्क लगाउन बा सामाजिक दूरी कायम गर्न सम्झाउने तथा हरेक दिनको तथ्यांकबाट निरन्तर रुपमा नागरिकलाई सुसूचित गर्ने काम हुन्थ्यो। यस प्रकारको सन्देश सेवाको प्रवाहबाट युध्दको समयमा जस्तो साझा उद्देश्यको भावनालाई जागृत गराई नागरिकको मानसिकतामा गहिरो देशप्रेमको भावना जागृत पार्दै, उनीहरुलाई सकृय हुन उत्साह र प्रोत्साहन मिल्थ्यो । यसै कारणले सरकारले गरेका हरेक प्रयासहरुमा कोरियाली नागरिकहरुको उच्च सम्मान, उच्च भरोसा, कम संत्रास र पूर्ण समर्थन रहेको कुरा उनीहरुको मतले जाहेर गर्छ ।
त्यसबाहेक सरकारले लक्षण नभएकालाई पनि कोरोनाको ल्याब परीक्षण गर्न विशेष प्रोत्साहन गरिनै रह्यो। हालसम्म दक्षिण कोरियामा १० हजार जना संक्रमित भेटिएको मा २ सय ८ जनाको जनाको मात्र मृत्यु भएको छ। यो जानलेवा कोरोना भाइरसले अरु देशमा पुर्याएको क्षेतिको अनुपातमा यसलाई धेरै कम मानिन्छ। त्यो पनि सुरुमा नै संक्रमीत भै उपचार भैरहेका केही मानिसको मृत्युबाट देखिएको हो । अहिलेसम्म पनि कोरोना भाइरसको संक्रमणबाट थला परेका राष्ट्रहरूले दक्षिण कोरियाले लिएको मार्ग अपनाएका छैनन्। केही देशले महामारीले तीव्र गति लिएपछि मात्रै उसको बाटो अनुशरण गर्न खोजेका छन् ।
विश्व स्वास्थ्य संगठनका प्रमुखले दक्षिण कोरियाको कोरोना भाइरस विरुध्दको विजयलाई स्वागत गर्दै अन्य राष्ट्रहरु लाई पनि दक्षिण कोरिया र चीनको अनुसरण गर्न आग्रह गरेका छन् । फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनका पूर्व प्रमुख स्कोट गोट्लिबले पटकपटक दक्षिण कोरियालाई मोडलको रुपमा उभ्याएका छन् । तर, पनि दक्षिण कोरियालाई यो सफलता केही समयका लागि मात्रै हो कि भन्ने चिन्ता छ। किनकी सीमा बाहिर विश्वभर पागल जस्तै गरी नोबेल कोरोना भाइरस फैलिएर आतंक मच्चाइरहेको अवस्थामा कोरियामा पनि देशमा पुनः संक्रमण नबढ्ला भन्न भने सकिँदैन ।
दक्षिण कोरियाली मोडल खास जटिल र महँगो होइन। केही विकसित युरोपेली मित्रराष्ट्रहरु जो दक्षिण कोरिया भन्दा बढी धनी छन् तापनि किन उनीहरु आफ्नो मुलुकमा दक्षिण कोरियाली मोडल जस्तो कडा र चुनौतीपूर्ण तर प्रभावकारी पाइला चाल्न अनकनाइरहेका छन ? जबकी यो समष्टिमा खासै जटिल बा उल्लेखनीय खर्चिलो छैन । विज्ञहरु यसमा तीन कारण देख्छन, जुन लागत मूल्य वा प्रविधिसँग सम्बध्द भने छैनन् । पहिलो हो राजनीतिक इच्छाशक्ति, दोस्रो जनचाहना र तेस्रो सामाजिक विश्वास। अन्य थुपै मुलुकमा भन्दा दक्षिण कोरियामा सामाजिक विश्वास तथा भरोसा बढी भएको मानिन्छ । तर समयले ठूलो चुनौती खडा गर्न सक्छ । प्रकोप गहिरिइसकेका मुलुकलाई दक्षिण कोरियाले जस्तो कम समयमा, कुशलता तथा दक्षतापूर्वक महामारीको नियन्त्रण गरेर देखाउन त्यतिखेर अलि ढिलो सावित हुनसक्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार