कोभिड–१९ को आतङ्कले औलो ओझेलमा, ज्वराे आउनु औलो हुन हुनसक्छ
दिनेश कोइराला/ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु
डिसेम्बर महिनाकै अन्त्यतिर चीनको बुहान प्रान्तमा पहिलो पटक देखिएको #COVID-19 ले अहिले बिश्वब्यापि महामारीको रुप लिएको छ । प्रकृतिलाई चुनौती दिने बिकसित राष्ट्रहरु नै आज यस रोगबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यो समस्या कहिलेसम्म रहने हो, कसैलाई थाहा छैन । बिश्वका धेरै देशहरुले यसको रोकथाम र नियन्त्रणका लागि आ–आफ्नै तरिका अपनाएता पनि धेरै देशले बन्दाबन्दी (Lockdown) तथा शंकास्पद ब्यक्तिहरुको परिक्षणलाई मूख्य रणनीतिको रुपमा अपनाएका छन् ।
अर्को छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछी खुला सिमा भएको नेपालमा बिगत दूई हप्तादेखि बन्दाबन्दीको अवस्थामा छ । संसारभरी फैलिएको महामारी तथा बन्दाबन्दीका कारण देशबिदेशमा रहेका थुप्रै नेपालीहरु घर फर्किएका छन् । सरकारको आधिकारिक तथ्याङ्क अनुसार ५० हजारको हाराहारीमा नेपालीहरु अन्य मूलुकबाट घर फर्किएको भन्ने छ । तर सरकारी आँकडा जेभएपनि यो संख्या लाखौं हुनसक्ने अनुमान गरिएको छ । यसरी फर्किने अधिकांश भारतमा मजदुरी गर्न गएका देखिन्छन् । त्यसमापनि भारतका औलो प्रभावित क्षेत्रहरुबाट फर्किएका बढी छन् ।
बिदेशबाट फर्किएकाहरुको तथ्याङ्क लिने, जनचेतना अभिबृद्धी गर्ने, घर लगायत अन्य सुरक्षित स्थानमा राख्ने कार्य अहिले नेपालभरी भइरहेको छ । यसमा स्वास्थ्यकर्मीहरुका साथै सेना, प्रहरी र निजामती कर्मचारीहरु परिचालित भइरहेका छन् । यस अवस्थामा अस्पताल र स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको सेवा उल्लेखनीय छ । यहाँ बिरामीहरुको स्वाव परिक्षणले उच्च प्राथमिकता पाएको छ ।
संयोग नै मान्नुपर्छ कि, कोरोना भाइरसको संक्रमण फैलिइरहेका बेला गर्मी मौसम शुरु भएको छ । गर्मी मौसम लामुखुट्टेको बिगबिगी हुने मौसम हो । लामखुट्टेबाट औलो रोग सर्दछ । #COVID-19 र औलो रोगका चरित्रहरु फरक फरक भएतापनि यिनिहरुको मूख्य लक्षण ज्वरो हो । त्यसैले ज्वरो आएका बिरामीहरुमा पूर्ववत रुपमा औलोको परिक्षण सेवा संचालनका लागि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले यस सम्बन्धी कार्य सञ्चालन निर्दैशिकाका बनाई सबै प्रदेशमा पठाई सकेको छ । जसमा ज्वरो आएका सबै बिरामीहरुलाई औलो परिक्षण गर्न गराउन समेत परिपत्र जारी गरी सकिएको निर्देशक डा. बासुदेव पाण्डेले बताउनु भएको छ । तथापी यसतिर हालसम्म धेरैको ध्यान जान सकेको छैन ।
गत आर्थिक बर्षमा नेपालमा औलो बिरामीहरुको संख्या १,०६५ थियो । जसमध्ये झण्डै ६० प्रतिशत अन्य देशबाट आएका थिए । यसमा पनि झण्डै ९० प्रतिशत बिरामी भारतबाट आएकाहरु थिए । गतबर्ष चैत्र महिनामा मात्रै ३७ जना औलोको बिरामी भेटिए पनि यो चैत्रको अहिलेसम्म चारजना मात्रै पत्ता लागेका छन् । यो संख्या (Lockdown) शुरु हुनुभन्दा पहिलेको हो । औलोको समय शुरु भइसकेको अवस्थामा र भारत लगायत अन्य देशहरुबाट नेपाल फर्किएकाहरुको संख्या उल्लेखनी मात्रामा बृद्धी भएको छ । तर अहिलेसम्म बिरामी पत्ता नलाग्नुमा कतै यसको परिक्षणलाई नजर अन्दाज गरिएको हो कि भन्ने देखिन्छ । त्यसैले भारत लगायत अन्य औलोका जोखिम क्षेत्रबाट फर्किएका र क्वारेन्टाईनमा बसेका जो कोहीलाई पनि ज्वरो आएमा औलोका परिक्षण पूर्ववत रुपमा नियमित गर्न लगाउनु पर्ने देखिन्छ । अन्यथा #COVID-19 सँगै ओझेलमा परेको औलोकै महामारीपनि ब्यहोर्नु पर्ने हुनसक्छ ।
