सुर्खेत, २८ चैत ।
पञ्चपुरी न.पा. को तिखाकुनामा रहेका बाढीपीडित परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने बाढीपीडित परिवारलाई खाद्यान्न अभाव भएपछि सहयोग उपलब्ध गराइएको हो ।
पत्रकार नगेन्द्र उपाध्यायले सुरु गरेको बाढीपीडित नागरिकलाई खाद्य सहयोग अभियान अन्तर्गत संकलन भएको रकमबाट खाद्यान्न खरिद गरी शुक्रबार वितरण गरिएको हो । अभियान्ता पत्रकार नगेन्द्र उपाध्याय र पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले वितरण गरेका थिए । २०७१ सालमा आएको बाढीका कारण सुर्खेतमा सयौंले ज्यान गुमाउनु भए भने हजारौं विस्थापित भएका थिए । अहिले पनि १०४५ बाढीपीडित परिवार विभिन्न अस्थायी शिविरमा बस्दै आएका छन् । पञ्चपुरीको तिखाकुनाका एक सय २० घरपरिवारलाई ३० केजिको चामल, १२० बोरा, १२० प्याकेट पिठो, १२० प्याकेट तेल, १२० प्याकेट नून वितरण गरिएको थियो ।
खाद्यान्न सामाग्री राहत उपलब्ध गराउनका लागि सामाजिक अभियन्ता डा. नवराज केसी र दक्षिण कोरियामा रहेका अभियन्ता लक्ष्मीनारायण बस्नेत ले एक लाख पाँच हजार, लायन्स क्लव इन्टरनेशलन ३२५ बि २ ले एक लाख एक हजार, राजनीतिकर्मी तथा सामाजसेवी मुकुन्दश्याम गिरीले २५ हजार, तिलक आचार्यले ५१ सय, भरत रावलले ५१ सय, विशाल ढकालले ५ बोरा चामल, रामप्रसाद गौतमले ५ बोरा चाम, ॐ सिद्दिबिनायक कृषि फर्मले सात क्वीन्टल तरकारी, नेपाल बिद्यार्थी संघका सुर्खेत अध्यक्ष गौगम बिसीले तीन हजार नगद सहयोग उपलब्ध गराएका थिए ।
सोही अवसरमा डा. नवराज केसीले कुइनेमा प्रदेश सरकारले स्थापना गरेको हेल्प डेक्सका स्वास्थ्यकर्मीहरुका लागि चार वटा पिपिई उपलब्ध गराएका थिए । हालसम्म २३३ बाढीपीडित परिवारलाई राहत उपलब्ध गराइएको अभियान्ता नगेन्द्र उपाध्यायले जानकारी दिए ।
युग संवाददाता । । २८ चैत्र २०७६, शुक्रबार १८:४७