मुख्यमन्त्रीको आव्हानमा कर्णालीमा सर्वदलीय वैठक

सुर्खेत, २८ चैत्र ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको आव्हानमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेशस्तरीय सर्वदलीय वैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रवार सम्पन्न सर्वदलीय वैठकमा मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको कार्यमा सरकार, राजनैतिक दल, नागरिक समाज र आमजनता एकतावद्ध भएर लाग्नुपर्ने वताउनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा नेपालमै पहिलो पटक सिमा नाकाहरुमा हेल्थ डेस्क स्थापना, स्वास्थ्य जाँच तथा आवागमणलाई कडाई गर्ने जस्ता कार्यहरु आफु नेतृत्वको सरकारले शुरु गरेको वताउनुभयो । कोरोना नियन्त्रणका लागि प्रदेश सरकार गम्भिरताका साथ लागिपरेको वताउदै मुख्यमन्त्री शाहीले क्वारेन्टाईन निर्माण, विपद व्यवस्थापन कोषको स्थापना, जिल्ला विपद व्यवस्थापन कोष र स्थानीय तहलाई वजेटको व्यवस्थापन, आईशोलेशन अस्पत्तालको व्यवस्थापन लगायतका काम सरकारले गरेको जानकारी दिनुभयो ।

त्यसैगरी स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्रिको व्यवस्थापन, कोरोना नियन्त्रण कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि प्रोत्साहन भत्ता व्यवस्था, स्थानीय तहको सहकार्यमा दैनिक ज्यालामजदुरीमा जिविका चलाउने विपन्न नागरिकहरुका लागि खाद्यसामाग्रिको व्यवस्था जस्ता काम पनि सरकारको तर्फवाट गरिएको उहाँले जानकारी दिनुभयो । लकडाउनको अवस्थामा अत्यावश्यक खाद्यसामाग्रीको अभाव हुन नदिन आपुर्तीको व्यवस्थापन गरिएको र स्थानीय उत्पादनको प्रयोगको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई आग्रह गरिएको मुख्यमन्त्री शाहीले वताउनुभयो ।

वैठकमा मुख्यमन्त्री शाहीले लकडाउनको कार्यान्वयन, राहात वितरण तथा विरामीहरुको उपचार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई आवश्यक सहयोग तथा समन्वयका लागि राजनैतिक दलका सम्वन्धित तहका ईकाईहरुको परिचालनका लागि राजनैतिक दललाई आग्रह गर्नुभयो । सर्वदलीय वैठकमा राजनैतिक दलका नेताहरुले कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमहरुको प्रशंसा गर्दै सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

वैठकमा वोल्दै नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारलाई जनताको साथ रहेको वताउदै ढुक्कका साथ कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका काममा लाग्न आग्रह गर्नुभयो । अहिलेको महामारी नियन्त्रणको लागि सवैभन्दा प्रभावकारी र वलियो हतियार लकडाउन नै भएको वताउदै शर्माले लकडाउनलाई कडाईपूर्वक कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री हृदयराम थानीले सुपर पावर भनिएका देशहरु समेत कोरोना संकटवाट पार पाउन नसकेको वताउदै साधनस्रोत तथा प्रविधिमा कमजोर रहेको हाम्रो जस्तो मुलुकमा सरकार, राजनीतिक दल तथा जनता एकतावद्ध भएर जानुको विकल्प नभएको वताउनुभयो ।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई सहयोग गर्न आफनो पार्टीले पूर्णरुपमा तयार रहेको वताउदै थानीले कोरोना परिक्षण कार्यलाई तिव्रता दिन सुझाव दिनुभयो । विश्व स्वास्थ्य संगठनले समेत नेपालमा कोरोना परिक्षणको गति सन्तोषजनक नरहेको वताएको भन्दै थानीले अहिलेको सन्दर्भमा विकास निर्माणको काम गौण भएको र विकास वजेट रकमान्तर गरेर भएपनि नागरिकको जिउज्यानको सुरक्षा दिनुपर्ने वताउनुभयो । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा वसेको सर्वदलीय वैठकमा प्रदेश सरकारका मन्त्रीहरुले कोरोना रोकथामका लागि मन्त्रालयले अहिले सम्म गरेका कामकारवाहीहरु र आगामी योजनाको विषयमा जानकारी दिनुभएको थियो ।

वैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समितिका सचिव मायाप्रसाद शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदराम थानी, नेकपाका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला ईन्चार्ज नरवहादुर विष्ट, नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, राप्रपा कर्णाली प्रदेश उपप्रमुख सुर्य खत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज रत्नविक्रम राना, नेपाल मजदुर किसान पार्टीका हरिवहादुर वोहोरा लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया