गम्भिर छैनन् कर्णालीका स्थानीय तह

सुर्खेत, २८ चैत ।

कर्णालीमा कोरोनाको संक्रमण रोकथाममा स्थानीय तहको भूमिका कमजोर देखिएको छ । स्थानीय तहहरु गम्भिर नहुँदा संक्रमणको जोखिम बढ्दो छ । बाहिरबाट गाउँ भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राख्ने कार्यमा स्थानीय तहले गम्भिरता देखाएका छैनन् । यसले गर्दा गाउँमा निर्माण भएका अधिकांश क्वारेन्टाइन रित्तै छन् ।

लकडाउनको अवधिमा गाउँ भित्रिएकाहरुले क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् । मजदुरीका लागि भारतमा रहेका कर्णालीका अधिकांश नागरिक कोरोनाको त्रासपछि रातारात गाउँ पुगे । सयौंको संख्यामा गाउँ पुगे पनि न्यून संख्यामा मात्र मानिसहरु क्वारेन्टाइनमा बसेका छन् । विशेषगरी स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह नगर्दा क्वारेन्टाइन प्रयोगविहीन छन् भने गाउँमा त्रास छाएको छ ।

कतिपय स्थानीय तहले नै क्वारेन्टाइनमा बसेकाहरुलाई धमाधम घर पठाउने काम गरिरहेका हुन् । दैलेखको ठाँटीकाँध गाउँपालिकाले मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउन नसक्ने बताएपछि त्यहाँ हालसम्म क्वारेन्टाइन छैन । भारत र तेस्रो मुलुकबाट आएका एकसय २८ जना सबै घर परिवारसँगै बस्दै आएका छन् । विदेशबाट आएकालाई ज्वरो नोपर घर पठाउने ठाँटीकाँध मात्रै एक्लो होइन ।

कर्णालीका ७९ वटै स्थानीय तहले विदेशबाट आएकालाई ज्वरो नाप्दै घर पठाउने काम गरिरहेका छन् । कतिपयले मापदण्ड अनुसार क्वारेन्टाइन बनाउन नसक्ने बताएका छन् भने बनाएकाले पनि क्वारेन्टाइन रित्तै राखेका छन् । भारत लगायत देशबाट रातारात घर पुगेकाहरु क्वारेन्टाइनमा नबस्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढ्न थालेको हो । स्थानीय तहले बाहिरबाट भित्रिएकाहरुको तथ्यांक संकलन गरेर अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने भए पनि अधिकांश तहले यसतर्फ चासो दिएका छैनन् ।

यस्तै बराहताल गाउँपालिकामा एक सय ८८ जना भित्रिएका छन् । तर गाउँपालिकाले हालसम्म क्वारेन्टाइन नै बनाउन नसकेको अध्यक्ष तेजबहादुर बस्नेतले जनाए ।  चिङ्गाड गाउँपालिकामा पनि कोरोनाको त्रासपछि भारतबाट ८७ जना आएका छन् । तर कोही पनि क्वारेनटाइनमा बकेका छैनन् । गाउँपालिकाले भने एकसय वेड क्षमताको क्वारेन्टाइन बनाएको अध्यक्ष देबबहादुर चन्दले जनाए । भेरीगंगा नगरपालिकाले पनि २४ बेडको क्वारेन्टाइन बनाएको छ । तर भारत र तेस्रो मुलुकबाट आएका ८८ जना व्यक्ति घरमै बसेका छन् । त्यस्तै सिम्ता गाउँपालिकामा एकसय ५२ जना आएको मध्ये कोही पनि क्वारेन्टाइनमा बसेका छैनन् । गाउँपालिकाले भने बागेश्वरी माविमा तयार पारेको २८ बेडको क्वारेन्टाइन खाली छ । त्यस्तै वीरेन्द्रनगर नगरपालिकामा एक सय ८५ जना तेस्रो मुलुक र भारतबाट आएका सबै होम क्वारेन्टाइनमा छन् ।

सुर्खेतमा तीन सय ४० वेडका क्वारेन्टाइनमा १५ जना मात्रै !

सुर्खेतको गुर्भाकोट नगरपालिकामा तेस्रो मुलुकका १२ र भारतबाट ८१ जना गरी ९३ जना नागरिक गाउँ फर्किएका छन् । तर एकजना पनि क्वारेन्टाइनमा बसेका छैनन् । नगरप्रमुख हस्त पुनकाअनुसार मेहलकुनाको सिटीहल र सहारे स्वास्थ्यचौकीमा निर्माण गरिएको ४२ बेडको क्वारेन्टाइन नै खाली छ ।

त्यस्तै लेकवेशी नगरपालिकामा तेस्रो मुलुक र भारतबाट गरी ८६ जना गाउँ फर्किएका छन् । तर हाल एकजना मात्रै क्वारेन्टाइनमा बसेका छन् । नगर प्रमुख गगनसिंह सुनारका अनुसार नगरपालिकाले तीन ठाउँमा २१ वेडको क्वारेन्टाइन बनाए पनि खाली नै छन् ।  जिल्लाको पञ्चपुरी नगरपालिकामा पनि कोरोनाको त्रासपछि एकसय ३५ जना नागरिक गाउँ फर्किएका छन् । तर नगरपालिकाका विभिन्न ठाउँमा बनाइएका ६५ वेड क्षमताका क्वारेन्टाइन खाली छन् ।

नगरप्रमुख उपेन्द्र थापाका अनुसार कुइनेमा १५ बेडको क्वारेन्टाइनमा भने नौ जना जाजरकोटका र एक जना घाटगाउँका गरी १० जना बसेका छन् । चौकुने गाउँपालिकामा भित्रिएका चार सय २२ जनामध्ये दुईजना मात्रै क्वारेन्टाइनमा बसेका छन् । जबकी गाउँपालिकासँग ६० बेड क्षमताको क्वारेन्टाइन छ ।

जाजरकोटका क्वारेन्टाइन रित्तै

जाजरकोटमा तयार पारिएका एकसय ३७ वटा क्वारेन्टाइन खाली छन् । क्वारेन्टाइन बनाउन अटेर गरेका स्थानीय तहले जिल्ला प्रशासनको उर्दीपछि जिल्लाभर एकसय ३७ वटा क्वारेन्टाइन बनाएका छन् । तर एक जनालाई पनि क्वारेन्टाइनमा राख्न नसकिको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु साहनीले जानकारी दिए । जबकी लकडाउनकै अवधिमा १६ जना तेस्रो मुलुक र दुइसय १४ भारतबाट आएका छन् ।

यस्तै हुम्लामा एकसय २० वेडको क्वारेन्टाइनमा २२ जना मात्रै बसेका छन् । स्थानीय तहले बनाएका अधिकांश क्वारेन्टाइनहरु खाली छन् । हुम्लामा नाम्खा, सिमकोट र खार्पुनाथमा २२ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । डोल्पामा भने एकजना नागरिक पनि विदेशबाट गाउँ फर्किएको छैनन् । जिल्ला प्रशासन कार्यालय डोल्पाले १३ दिनसम्म अध्ययन गर्दा भारत र तेस्रो मुलुकबाट एक जना पनि नभित्रिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

यस्तै कालिकोटका विभिन्न स्थानीय तहल ६ सय ९७ बेड क्षमताको क्वारेन्टाइन बनाएका छन् । तर जिल्लाभर ८७ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । जसमध्ये कालिकोटको खाँडाचक्र नगरपालिकाले मान्मामा ४९ बेडको बेडको क्वारेन्टाइन बनाएको छ । त्यस्तै राष्टकोट नगरपालिको भने प्रत्येक वडामा १०÷१० र नरपालिकामा १० गरी एक सय बेडको क्वारेन्टाइन तयार पारेको छ । शान्नित्रिवेनी नगरापलिकाले ६ ठाउँमा क्वारेन्टाइन बनाएको छ । तर ४ जना क्वारेन्टाइनमा बसेका छन् । गाउँपालिकामा भारतबाट ४० र कतारबाट २० जना आएका छन् । पचालझरना गाउँपालिकाले पनि ९ वटै वडा क्वारेन्टाइन बनाएको छ । त्यस्तै रुकुमपश्चिममा पनि दुई सय तीन बेड क्षमताको क्वारेन्टाइनमा २६ जना मात्रै बसेका छन् ।

मुगुमा ६ जना मात्र क्वारेन्टाइनमा

मुगुको मुगुमकार्माेरोङ गाउँपालिकाले ६० बेडको क्वारेन्टाइन बनाएको छ । भारत र अन्य मुलुकबाट कुनै पनि नागरिक गाउँ नफर्किए पनि अध्ययनका लागि काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट एकसय ६० भन्दा बढी नागरिक गाउँ पुगेका छन् । तर उनीहरु क्वारेन्टाइनमा बस्न मानेका छैनन् ।

त्यस्तै खत्याड गाउँपालिकाले ८२ बेडको क्वारेन्टाइन पारिएको छ । एकसय बढी नागरिकहरु गाउँ भित्रिए पनि ६ जना मात्रै क्वारेन्टाइनमा बसेको गाउँपालिकाका अध्यक्ष उब्जन बहादुर शाहीले जनाए । रारा छायानाथ नगरपालिकामा ४३ जना नागरिक गाउँ फर्किए पनि ३१ बेडको क्वारेन्टाइन खाली रहेको नगरप्रमुख हरिशजंग शाहीले जनाए । ३० बेडको क्वारेन्टाइन तयार पारेको सोरु गाउँपालिकाको क्वारेन्टाइन पनि खाली छ ।

यस्तै जुम्लाका विभिन्न स्थानीय तहले २ सय ४१ वटा क्वरोन्टाइन तयार पारेका छन् । तर विदेशबाट आएका तीन सय ८४ जना मध्ये ७१ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । चन्दननाथ नगरपालिको ३०, हिमा ३२, पातारासीे १०, गुठिचौरले ६, तिलाले ५३, कनकासुन्दरीले २०, तातोपानीले ५० र सिजां गाउँपालिकाले ४० बेडको क्वारेन्टाइन तयार पारेका छन् ।

तपाईको प्रतिक्रिया