कोरोना परिक्षण कछुवा गतिमा, ७ दिनमा ७३ जनाको नमूना परीक्षण

सुर्खेत, २७ चैत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको आज ७ दिन पुगेको छ । सात दिनको अवधिमा ७३ जनाको स्याम्पल परीक्षण गरिएको छ । आज साँझ ६ बजेसम्म ७३ जनाको परीक्षण सकिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार २० गते ४, २१ गते ११, २२ गते १५, २३ गते ११, २४ गते १३, २५ गते १२ र आज साँझ ६ बजेसम्म ७ वटा गरी कुल ७३ जनाको नमूना परीक्षण गरिएको जनाए ।

कोरोना परीक्षण मेसिनको क्षमता कम भएका कारण न्यून परीक्षण स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘रातदिन खट्दा पनि सुर्खेतको मेसिनले एक दिनमा १२ मात्रै परीक्षण गर्न सम्भव’ प्रयोगशाला संयोजक आचार्याले भने ‘एक दिनमा १५ जनाको परीक्षण गर्न सकिने अनुमान गरेका थियौँ तर मेसिनालाई आराम दिँदा १२ सम्म गर्न सकेका छौँ ।’ कोरोनाबाट बच्न विदेशबाट आएका र क्वारेन्टाइनमा बसेका सबैको नमूना परीक्षण गरिनुपर्ने आचार्यको भनाइ छ ।

एक सय ४ जनाको परीक्षण, सबै नेगेटिभ

कर्णाली प्रदेशबाट अहिलेसम्म १ सय ४ जनाको कोरोनाको नमूना परीक्षण गरिएको छ । सुर्खेतमा प्रयोगशाला स्थापना भएपछि ७३ र काठमाडौंमा परीक्षण गरिएका ३१ जनाको गरी कुल १ सय ३१ जनाको परीक्षण गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी जोसीले जानकारी दिइन । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ । सुर्खेतमा स्थापना भएको प्रयोगशालाको क्षमता न्यून भएपछि परीक्षणका लागि कर्णालीका अधिकांश रिपोर्ट काठमाडौंमै हुने निर्देशनालयले जनाएको छ । कोरोना परीक्षणका लागि विदेशबाट आएका र क्वारेन्टाइनमा बसेका सबैको स्याम्पल कलेक्सन भइरहेको छ । हिजो (मंगलबार) मात्रै कोरोना परीक्षणका लागि निर्देशनालले कर्णालीका ५ सय १ जनाको स्याम्पल काठमाडौं पठाएको थियो ।

कछुवा गतिमा परीक्षण, घुम्ती प्रयोगशाला माग

कर्णाली प्रदेश कोरोनाको उच्च जोखिममा छ । एकातिर छिमेकी अर्थात सुदुरपश्चिममा कोरोनाका संक्रमित बढ्दै जानु अर्काेतिर विदेशबाट आएका आठ हजार बढीको स्वास्थ्य परीक्षण नहुनु यि दुई कारणले कर्णालीमा कोरोनो उच्च जोखिम छ । तर कोरोनाको परीक्षण भने कछुवा गतिमा भएको छ । किनकी कोरोनाको त्रासपछि गाउँफर्किएका ८ हजारमध्ये हालसम्म १ सय ४ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । यद्यपी प्रदेश सरकारले भने कर्णालीमा घुम्ती प्रयोगशाला सञ्चालन गर्न संघीय सरकारसँग माग गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले विदेशबाट नागरिकहरुमा कोरोनाको संक्रमण हुन सक्नेभन्दै घुम्ती प्रयोगशाला परिक्षण सेवाको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गरेको सरकारमा प्रवत्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन । ‘कोरोनाको त्रासपछि ८ हजारबढी नागरिक गाउँ फर्किएका छन्’ मन्त्री केसीले भनिन् ‘उनीहरु सबैको परिक्षण आवश्यक देखिएको हुँदा संघीय सरकारलाई घुम्ती प्रयोगशाला राखिदिन अनुरोध गरेका छौँ ।’ तत्काल कर्णालीमा थप प्रयोगशाला राख्न नसकिने भएपछि केन्द्र सरकारको सहयोगमा परीक्षण गर्न अनुरोध गरेको सरकारको भनाइ छ ।

कोरोना परीक्षण पुनः काठमाडौं पठाइन

कर्णाली प्रदेशको सहजताका लागि यही चैत २० गते सुर्खेतमा प्रयोगशाला स्थापना भयो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा पहिलो दिनमै चार जनाको नमूना पनि परीक्षण गरियो । सुर्खेतमै प्रयोगशाला स्थापना भएपछि कोरोना परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको थियो । तर यहाँ सबै परीक्षण गर्न सम्भव नभएपछि पुनः नमूना काठमाडौं नै पठाइने भएको छ ।

सुर्खेतमा रहेको प्रयोगशालामा हाल दैनिक जम्मा १५ जनाको नमूना मात्र परीक्षण हुन्छ । तर कर्णालीमा विदेशबाट गाउँ फर्किएकाहरुको संख्या धेरै छ । कर्णालीमा करिब आठ हजार जनाको नमूना परीक्षण गर्नुपर्ने हुन्छ । यसका लागि सबैको नमूना परीक्षण गर्नमै वर्षदिन लाग्ने देखिन्छ । तेस्रो मुलुक र भारतबाट आएकाहरुको मात्र नमूना परीक्षण गर्दा करिव १७ महिना लाग्ने भएपछि नमून काठमाडौं पठाइने भएको हो । हाल सुर्खेतमा स्थापना भएको कोरोना परीक्षण गर्ने प्रयोगशालाले चाप थेग्न नसकेपछि अब नमूना काठमाडौं नै पठाउन सुरु गरिएको छ ।
दिनमा १५ जनाको परीक्षण गर्दा पनि आठ हजार जनाको चेकजाँच गर्न १७ महिनाभन्दा बढी समय लाग्ने भएको हो । सुर्खेतमा रहेको कोरोना जाँच गर्ने उपकरणले सबै नमूना जाँच्न सम्भव नभएपछि पुनः काठमाडौ नै पठाउनुपर्ने भएको हो । तत्काल कर्णालीमा थप प्रयोगशाला स्थापना गर्न नसकिने भएपछि नेपाली सेना र केन्द्र सरकारको सहयोगमा नमूना संकलन गरेर काठमाडौ पठाउन थालिएको हो । समयमै कोरोनाको परीक्षण गर्न कर्णाली प्रदेशले विभिन्न जिल्लाबाट नमूना संकलन गरी काठमाडौं पठाउन थालेको छ ।

यस्तै सुर्खेतको खुल्लामञ्चको क्वारेन्टाइनमा राखिएका सबैको नमूना संकलन भएको छ । खुल्लामञ्चमा राखिएका एक सय ८८ जना मध्ये मंगलबार मात्रै एकसय ६२ जनाको नमूना संकलन गरिएको हो । उनीहरु सबैको नमूना पनि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण हुनेछ । बाँकी २६ जनाको भने सुर्खेतमै नमूना परीक्षण गरी सकिएको छ । उनीहरुको सबैको नजिता नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पाँचसय जनाको नमूना काठमाडौं पठाइयो

सुर्खेतमा रहेको प्रयोगशालाको क्षमना न्यून भएपछि कोरोना परीक्षणका लागि मंगलबार पाँचसय एक जनाको नमूना काठमाडौं पठाएको छ । जसमा जुम्लाबाट सबैभन्दा बढी अर्थात तीनसय २४, सुर्खेतका एकसय ६२, दैलेखका दश र कालिकोटबाट पाँचवटा नमूना संकलन गरेर काठमाडौं पठाइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले जानकारी दिइन् । सुर्खेतको प्रयोगशालाले सबै परीक्षण गर्न नभ्याउने भएपछि काठमाडौं पठाइएको उनको भनाइ छ ।  ‘सुर्खेतका भएको प्रयोगशालाको क्षमता न्यून छ, कर्णालीमा दिनमा १५ जनाको मात्रै परीक्षण सम्भव छ ।’ भण्डारीले भनिन्, ‘विदेशबाट आएका र कोरोनासँग मिल्दाजिल्दा लक्षण देखिएका सबैको नमूना संकलन गरेर काठमाडौं पठायौं ।’

तपाईको प्रतिक्रिया