गृह जिल्लामा आफै खटिए राज्यमन्त्री रावत

सुर्खेत, २६ चैत ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्यका लागि सरकारका संयन्त्रहरु आ–आफ्नो ठाउँमा संक्रिय र व्यस्त छन् । विभागिय हिसाबले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको झन व्यस्तता छ । यसैबीच विभिन्न जिल्लाहरुमा आवश्यक स्वास्थ्य सामग्री नपुगेको जस्ता गुनासो आएपछि नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत स्वास्थ्य सामग्री लिएर आफै मैदानमा खटिएका छन् ।

काठ्माण्डौँबाट सोमबार सडक मार्ग भएर गृह जिल्ला फर्कनेक्रममा बाँके र नेपाल भारत सिमा क्षेत्र दशगजा क्षेत्रको क्वारेन्टाइनको अनुगमन गरेका उनले त्यहाँको अवस्थाका बारेमा स्वास्थ्यमर्की र स्थानीय प्रशासनसंग छलफल गरे । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिहरुसंग छलफल गरेका छन् ।

त्यस्तै वडा नं. ९ स्थित लाटिकोइल स्वाथ्य चौकी वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र वडा नं. ११ मा रहेको शहरी स्वास्थ्य क्लिनिकमा आफै पुगेर आफैले ल्याएको विभिन्न स्वास्थ्य सामग्री (मास्क,पञ्जा, स्यानीटाइजर, पीपीई लगायत) हस्तान्तरण गरेका छन् । बुधबार आफ्नो निर्वाचन क्षेत्रको बराहताल, पञ्चपुरी र चौकुनेका जनप्रतिनिधिहरुसंग छलफल गर्ने तथा त्यहाँका विभिन्न स्वास्थ्य संस्थाहरुको अनुगमन गर्ने मन्त्रि रावतको योजना छ ।

यसका साथै कर्णाली प्रदेशका दैलेख, जाजरकोट, र सल्यानमा पनि स्वास्थ्य सामग्री पु¥याउने र अनुगमन गर्ने कार्यक्रम रहेको मन्त्री रावतले बताए । ‘विभिन्न जिल्लामा स्वास्थ्य सामग्री नपुगेका गुनासा आएका छन्’ राज्यमन्त्री रावतले भने,‘त्यसैले म आफै केही सामग्री ल्याएर आएको छु र विभिन्न जिल्लामा अनुगमन गर्ने पनि योजना छ ।’

देशभरी नै जिम्मेवारी भएकाले आफ्नो निर्वाचन क्षेत्रमा आउन ढिला भएको बताउँदै मन्त्री रावतले यसपटक निर्वाचन क्षेत्रमा पनि सामग्री लिएर जाने बताए । यसअघि सेनाको स्काइ ट्रक मार्फत कर्णाली प्रदेशका लागि स्वास्थ्य सामग्री सुर्खेतमा हस्तान्तरण गरेर गरेका उनले देशै भरी जिम्मेवारी भएपनि कर्णालीमा बढी समस्या भएकाले ध्यान विशेष ध्यान दिएको बताए ।

‘खाडी र भारतबाट आउने मान्छेहरु गाउँघरमा गइसकेकाले अहिले शहरभन्दा गाउँ धेरै जोखिममा छन अझ कर्णालीका गाउँहरु धेरै जोखिममा छन’ वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिहरुसंगको छलफलका क्रममा उनले भने,‘मैले यो कुरालाई मन्त्रालयमा राखेको छु त्यसैले कर्णालीमा मेरो विशेष ध्यान केन्द्रीत छ ।’ यस्तै मन्त्री रावतले कोरोनाबाट बच्न कर्णाली प्रदेशलाई कुनै पनि किसिमको कमी हुन नदिने बताएका छन् ।

‘विगतमा कर्णालीको पहँुच नहुँदा राज्यका कतिपय सेवासुविधाबाट कर्णाली पछाडी पर्ने गरेको यथार्थ तपाइहामी सामू छ’ उनले भने,‘ढुक्क हुनुहोस अहिले म स्वास्थ्य मन्त्रालयमा छु अन्य प्रदेशको भन्दा कुनै पनि हिसाबमा कर्णाली प्रदेशलाई विभेद हुन दिन्न ।’ यसैबीच उनले सरकारले गरेको आग्रहलाई नेपाली जनताले मानेकाले कोरोनाको भयाबहस्थितिबाट अहिलेसम्म जोगिएको बताउँदै अब पनि लकडाउनभर घरभित्रै बसेर सहयोग गर्ने आग्रह गरे ।
अहिले नेपालमा एक व्यक्तिबाट अर्काे व्यक्तिमा संक्रमण भएकाले कोरोनाको दोस्रो चरणमा प्रवेश गरिसकेको बताउँदै उनले अब तेस्रो चरणमा जानबाट बच्नका लागि नागरिकले सरकार र विशेषज्ञहरुले दिएका सुझावलाई पालन गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया