प्रदेशबाट ३० लाख वीरेन्द्रनगरलाई, अस्थायी बसाेबास गर्ने गरिव ५२५५ परिवार

सुर्खेत, २५ चैत ।

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख रकम दिने निर्णय गरेको छ । नगरपालिकामा अस्थायी रुपमा बसोबास गर्ने न्यून आयस्रोत भएका परिवारलाई राहत बाँडन उक्त रकम दिने निर्णय भएको छ ।

वीरेन्द्रनगर संगै सरकारले लकडाउन थप गरेसँगै कर्णालीका स्थानीय तहहरुलाई राहत वितरणका लागि कर्णाली सरकारले रकम दिने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण, उपचार, राहात तथा आवश्यक व्यवस्थापन गर्न प्रदेश विपत व्यवस्थापन कोषमा जम्मा भएको रकम पालिकाहरुलाई दिने मन्त्रीपरिषद्को बैठकले दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मंगलबार बसेको बैठकले वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य नगरपालिकाहरूलाई २० लाख र गाउँपालिकाहरूलाई १५ लाख दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

‘देश बाहिर र प्रदेश बाहिर अलपत्र पर्नुभएका कर्णालीवासी नागरिकहरुको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध पनि गरिएको छ’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेकी प्रवक्ता केसीले भनिन, ‘कोरोना भाईरस (कोभिड÷१९)को सम्भावित जोखिम न्युनिकरण गर्न संघीय सरकारद्वारा गरिएको लकडाउन थप गर्ने निर्णयलाई कडाईपुर्वक कार्यान्वयन गर्ने गराउने निर्णय पनि बैठकले गरेको छ ।’

बैठकले ठुलो संख्यामा भारत लगायत अन्य देशहरुवाट आएका कर्णाली प्रदेशका नागरिकहरुमा कोभिड–१९ को संक्रमण भएको हुन सक्ने र एक अर्को व्यक्तिमा संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्न घुम्भी प्रयोगशाला परीक्षण सेवाको तत्काल व्यवस्थापन गर्न केन्द्र सरकारसँग अनुरोध गरिएको केसीको भनाई छ ।


प्रदेशमा कोरोनाको संक्रमणसँगै गर्मीयाममा अन्य मौसमी महामारी हुनसक्ने अवस्थालाई ख्याल गर्दै औषधि, उपकरण र विशेषज्ञ सहितको टोली तयारी अवस्थामा राखि आवश्यक परेको अवस्थामा यस प्रदेशमा पठाउन नेपाल सरकारलाई अनुरोध गरिएको केसीले बताइन् ।

गरिव ५२५५ परिवार अस्थायी
वीरेन्द्रनगर नगरपालिकाभित्र अस्थायी बसोबास भएका न्यूय आय भएका परिवारको विवरण संकलन गरिएको छ । नगरपालिकाले न्यून आयस्रोत भएका, ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका स्थायी बसोबास गर्ने परिवारका लागि खाद्यान्न वितरण गर्दा अस्थायी बसोबास गर्ने परिवार छुटेका थिए ।

नगरपालिकासंग सिमित स्रोत, साधन भएकाले मापदण्ड बनाएर नगरभित्र स्थायी बसोबास गर्ने न्यून आयस्रोत भएका नागरिकलाई वडापालिकामार्फत राहत सामाग्री वितरण गरिएको नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले जानकारी दिइन । ‘हामीले मापदण्ड बनाएर स्थायी बसोबास भएका गरिव परिवारलाई खाद्यान्न वितरण गरेका छौं । वडापालिका मार्फत अस्थायी बसोबास भएको परिवारको पनि लगत संकलन भएको छ । उहाँहरुलाई राहत वितरण गर्न प्रदेश सरकारले बजेट दिएको छ ।’

वीरेन्द्रनगर–१ मा २२७ परिवार, वडा नं. २ मा १३७ परिवार, वडा नं. ३ मा ५०६ परिवार, वडा नं. ४ मा ८०० परिवार, वडा नं. ५ मा ३५९ परिवार, वडा नं. ६ मा ४३६ परिवार, वडा नं. ७ मा २२४ परिवार, वडा नं. ८ मा ३५९ परिवार, वडा नं. ९ मा ४०९ परिवार, वडा नं. १० मा ७०१ परिवार, वडा नं. ११ मा १७९ परिवार, वडा नं. १२ मा ९१८ परिवार गरी कुल ५२५५ परिवार अस्थायी रुपमा बसोबास गरिरहेको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार