कोरोनाको त्रास ः सडकमा बार, टोलमा निषेध, विराेध

सुर्खेत, २५ चैत ।

कोरोना भाइरसको संक्रमण रोक्न देशभर लकडाउन गरिएको छ । सोमवार मात्र सरकारले आउँदो बैशाख ३ गतेसम्मका लागि लकडाउनको समय थप्ने निर्णय गरेको छ । तर पनि मानिसहरु घरबाहिर निस्कन र आउजाउ गर्न नछाडेपछि स्थानीयले नै आउजाउ रोक्ने प्रयास गर्न थालेका छन् ।

देशभित्र संक्रमण फैलिन थालेपछि स्थानीय तहले आफ्ना सिमा नाकाहरु बन्द गरेका छन् । तर पनि मानिसहरु गाउँमा डुल्न नछोडेपछि सडकमै बार लगाउन थालिएको छ । सडकमा बार लगाएर मानिसहरुको आवतजावत रोक्ने प्रयास भएको छ भने कतिपयले आफ्नो टोलमा नयाँ मानिसलाई प्रवेश गर्न प्रतिबन्ध नै लगाएका छन् । टोलमा प्रवेश निषेध लेखेर स्थानीयले संक्रमण भित्रिन नदिने प्रयास गरेका हुन् ।

शहरी क्षेत्रमा प्रहरीको उपस्थितीले सुनसान देखिए पनि गाउँमा भने नागरिकहरुको आवतजावत बढिरहेको छ । वीरेन्द्रनगरका अधिकांश टोलहरुमा स्वतस्फूर्त रुपमा स्थानीयले धमाधम टोल नै लकडाउन गर्न थालेका हुन् । वीरेन्द्रनगर नगरपालिका क्षेत्रका दर्जन भन्दा बढी टोल विकास संस्थाको अगुवाइमा टोलमा प्रवेश गर्न प्रतिवन्ध नै गरिएको छ ।

सडक र बाटोमा बार लगाएर प्रवेशमा रोक लगाइको हो । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा रहेको लालिगुराँस टोल विकास संस्थाले वस्तीमा छिर्ने चारवटै नाका बन्द गरेको छ । ‘शुरुका दिनमा आवतजावत पूरै बन्द भयो’ स्थानीय सजना सुनारले भनिन्, ‘विस्तारै लकडाउन थपिदै गएपछि बाह्य र अन्य टोलका व्यक्तिहरु पनि सहज रुपमा आवतजावत गर्न थालेपछि सोमबारदेखि टोलमा छिर्ने सबै नाका पूर्ण रुपमा बन्द गरेका हौं ।’

वडा नम्बर १ मा १४ टोल छन् । स्थानीयहरु जुवातास खेल्न जम्मा हुने, ग्रुपमा बस्ने, भारतबाट फर्किएकाहरु पनि भित्रिने क्रम नरोकिएपछि स्थानीय युवाहरु मिलेर टोल प्रवेशमा रोक लगाएको सुनारले उल्लेख गरिन् । यस्तै वीरेन्द्रनगर– २ को थापा टोल, सिद्धार्थ रिसोर्ट जाने सडक, भैरवस्थान प्रवेश गर्ने भित्रि टोलका नागरिकहरुले पनि सडकमै टीन र बासका बार लगाएर सडक बन्द गरेका छन् । सडकमा बार लगाएर स्थानीयले आफ्नो टोलमा संक्रमण भित्रिन नदिने प्रयास गरिरहेका हुन् ।

सार्वजनिक बाटो बन्द गर्नुहुँदै

पत्रकार महांसघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले सार्वजनीक बाटो तुरुन्त खोल्न भनेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण लकडाउन गरिएको अवस्थामा स्थानीय नागरिकहरु आफ्नो घरमा बस्न छोडि सार्वजनिक बाटो बन्द गराउने काममा सक्रिय भएका छन् ।


यसरी बाटो बन्द गर्नु राम्रो नभएको भन्दै तत्काल सार्वजनिक बाटो खोल्नुपर्ने भन्दै आफ्नो फेसबुकमा उनले स्टाटस पोष्ट गरेका छन् । उनको भनाईमा धेरै जनाले सहमति समेत जनाएका छन् । सार्वजनिक बाटो बन्द गर्दा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा संचारकर्मीलाई आवतजावतमा समस्या भएको उनले उल्लेख गरेका छन् । दैनिक उपभोग्य सामाग्री आयातमा समेत समस्या परेकाले आफ्नो टोल समुदायका सार्वजनिक बाटो बन्द गर्नुभन्दा सचेतनापूर्वक हातधुन लगाउनुपर्ने, नयाँ मान्छे प्रवेश गरे निगरानी गर्नुपर्ने सुझाव दिइएको छ ।

एकसय ८८ जना क्वारेन्टाइनमा
वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनमा एकसय ८८ जना रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्थास्थ्य अधिकृत चेतननिधि वाग्लेले जानकारी दिएका छन् । क्वारेन्टाइनमा एकसय ७९ पुरुष र नौ महिला छन् ।

उनकाअनुसार क्वारेन्टाइनमा बसेका ४३ जनाको स्वाब परीक्षण गरिएको छ । ‘हालसम्म परीक्षण भएका सबैको रिपोर्ट नेगेटिभ आएको छ’ वाग्लेले भने, ‘बाँकीको पनि स्वाब परीक्षण गर्ने काम जारी छ ।’ यस्तै, नेपाल भारत नाका कैलालीको गौरीफान्टाबाट सुर्खेत आएका ३८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कैलालीबाट सुर्खेत आएका २६ जना वीरेन्द्रनगरको खुलामञ्चको क्वारेन्टाइनमा रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्लेले जानकारी दिए ।  ‘उहाँहरु सुर्खेत प्रवेश गरेकै दिन क्वारेन्टाइनमा बस्नु भएको छ’ वाग्लेले भने, ‘४० जना मध्य बाँकी १३ पनि हाम्रै सम्पर्कमा दुइ जनाको खोजी भइरहेको छ । उहाँहरुको स्वास्थ्य अवस्था पनि सामान्य नै छ ।’

टोलमा छिर्न नदिन गस्ती

वीरेन्द्रनगर नगरपालिका–२ मा रहेको लवस्था गाउँका नागरिकहरु वस्तीमा नयाँ व्यक्तिलाई प्रवेश गर्न नदिनका लागि गस्ती गरिरहेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चौकीदार राखेर उनीहरुले उच्च सर्तकता अपनाएका हुन् । टोलमा नयाँ मानिसहरु आए उनीहरुको विवरण राख्ने गरिएको छ । चौधरी र मगर समुदायको बाहुल्यता रहेको लवस्तामा स्थानीयहरु आलोपालो नै गरेर गाउँको निगरानी गर्दै आएका छन् ।

गाउँका सबै नागरिकहरुलाई कोरोना भाइरसबाट बच्ने उपायबारेसमेत घरदैलो अभियान गरेर सचेतना फैलाउने गरेका छन् । गाउँलेहरु नै मिलेर विहान पाँच बजेबाट राती ९ बजेसम्म पालो लगाएर गाउँ प्रवेश गर्ने नाकामा निगरानी गरिरहेको स्थानीय शनिराम चौधरीले जानकारी दिए । गाउँबाट घाँस दाउरा काट्न र गोठाला जानेहरुलाईसमेत बाह्य व्यक्तिहरुसँग सम्पर्क नगर्न सिकाउने गरिएको छ ।

तर विदेशबाट आउने नागरिकसँगै गाउँमा पनि संक्रमणको उच्च जोखिम रहेकाले उनीहरुको विवरण स्पष्ट राख्ने गरेको चौधरीले बताए । निकास टोल विकास संस्था अन्तरगत रहेको लवस्था टोलमा ४२ घरधुरी छन् । अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन गाउँलेहरुलाई रोक लगाइएको छ ।

शहरभन्दा गाउँमा चुनौती
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले शहरभन्दा ग्रामीण क्षेत्रमा लकडाउन कार्यान्वयन गर्न चुनौती रहेको बताए । ‘शहरमा भन्दा गाउँमै प्रहरीले गस्ती बढाएका छौं, तर गाउँमा घाँस काट्न र गोठाला जानेहरुको भीड हुन्छ’ रायमाझीले भने, ‘उनीहरुलाई भीडभाड नगर्न र उच्च सर्तकता अपनाउन आग्रह गरेका छौं ।’ समग्रमा जिल्लाका शहरी क्षेत्रहरुमा लकडाउन कार्यान्वयनमा रहे पनि ग्रामीण वस्तीहरुमा कम पालना गरिरहेको सूचना अधिकारी रायमाझीले जनाए ।



ताजा समाचार