जागिर त प्रशासनतर्फकै खानुपर्ने रहेछ

सुर्खेतको गुर्भाकोट नगरपालिकामा सूचना तथा सञ्चार प्रविधि अधिकृतका रुपमा कार्यरत नरेन्द्रकुमार विक एक कर्मशील व्यक्ति हुन् । इमान्दारिता र कर्मप्रतिको लगावकै कारण नगरपालिकाले उनलाई सूचना तथा तथा सञ्चारको जिम्मेवारी सुम्पिएको छ । उसो त उनी गुर्भाकोटकै स्थानीयवासी पनि हुन् । गुर्भाकोट–३ धारापानीमा २०४५ साल जेठ ३ गते उनको जन्म भएको हो । वुवा तस्विर र आमा जगर्ती विकको दोस्रो सन्तान विकले आफ्नो जीवनका संघर्षमय क्षणहरु यसरी सुनाए । प्रस्तुत छ कुराकानीको शारासं ः

ख्यालख्यालमै क्याम्पस टप
म मध्यम परिवारमा जन्मिएको हुँ । सानो छँदा पढाइको महत्व बुझेको थिइँन । गाउँकै साथीहरुसँगै रहरै रहरमा २०५५ सालतिर विद्यालय जान थालेँ । गाउँकै कालिका माविबाट औपचारिक रुपमा पढाइको सुरुवात गरेँ । त्यही स्कूलबाट कक्षा ८ सम्मको पढाइ पुरा गरँे । हाँसखेल गर्दै कक्षा ८ पास गरेको पत्तै भएन । कक्षा आठपछि ९ र १० जनसेवा माध्यमिक विद्यालय सहारेमा पढेँ । २०६५ सालमा सहरेबाटै उत्तीर्ण गरेँ । एसएलसीसम्मका ति दिनहरु निकै रमाइला थिए ।

एसएसलीपछिका दिनहरु भने संघर्षमय भए । एसएलसीदेखि माथि अध्ययन गर्नलाई आफ्नै खुट्टामा उभिनुपर्ने भयो । पढाइप्रतिको रुचीका कारण अध्ययनलाई अधुरै छोड्न सकिन । सहारेबाटै पढ्दै पढाउँदै प्लसटु पास गरेँ । प्लसटु सकिएपछि अंग्रेजी र कम्प्युटर विषयमा स्नातक गरेँ । दैनिकी चलाउन विभिन्न बोर्डिङ स्कूल र कम्युटर पढाउँदै स्नातक पुरा गरेँ । सायद यही संघर्षले होला स्नातक आइसीटीईतर्फ २०७३ सालमा ख्यालख्यालमै क्याम्पस टपेछु । उसो त म कम्प्युटर मेरो ठूलो रुचिको विषय थियो । यही रुचिका कारण स्नातकोत्तर नपढेर पुनः स्नातकमै कम्प्युटर साइन्स पढेको हुँ । विज्ञान प्रविधिको बढ्दो प्रयोग र नयाँ विषय भएका कम्प्युटरमै मैले केही सपना देखेको थिएँ । कम्प्युटर क्षेत्रमै केही गर्ने जोसजाँगर अहिले पनि उत्तिकै छ । तर राज्यले आइटी (सूचना प्रविधि) को क्षेत्रलाई महत्व दिएकै छैन ।

सूचना प्रविधिको क्षेत्रलाई अपमानजनक रुपमा कम्प्युटरका दरबन्दी कटौती गर्दै आएको छ । अहिलेको समयमा हरेक कार्यालयमा आइटी अफिसरको आवश्यकता छ । तर राज्यले यसको महत्व बुझ्न सकेन । जसकाकारण आज कम्प्युटर क्षेत्रमै केही गर्छु भनेर ठूलो धनराशी खर्चिएर पढेको विद्यार्थीहरु अर्काे क्षेत्र अंगाल्नु परेको छ ।


रुची प्रशासनतर्फ
म कम्प्युटर विज्ञान पढेको मान्छे । विज्ञान, प्रविधि मेरो रुचिको क्षेत्र पनि । तर जागिर त प्रशासनतर्फकै खानुपर्दाे रहेछ । मेरो दुई वर्षको छोटो अनुभवले कर्मचारी भए त प्रशासनतर्फको पो हुनु जस्तो लाग्छ । किनकी आइटीतिरको कर्मचारीलाई न राज्यले सम्मान गर्न सक्छ, न त अफिसमा महत्व नै हुन्छ । कम्प्युटरमा सबै जानेको छु भनेर के गर्नु ? जनतासँग प्रत्यक्ष घुलमिल हुनका लागि त प्रशासन नै चाहिने रहेछ । किनकी सेवाग्राहीले त आइटी क्षेत्रको कर्मचारी नै चिन्दैन । राज्य, समाज, अफिस र सेवाग्राहीले त प्रशासनकै कार्मचारी चिन्दा रहेछन् । आइटीलाई त न समाजले चिनेको छ, न त राज्यले नै यसको महत्व बुझेको छ । त्यही भएर म त अफिसरको तयारीमा जुटेको छु । सायद अब प्रशासनकै कर्मचारी भएर जीवन चलाउँछु होला ।

सबैले सेवाग्राहीलाई दुःख दिदैनन्
कर्मचारीका आ–आफ्ना स्वभाव र रुचीहरु हुन्छन् । को कर्मचारी कस्तो हुन्छ भन्ने विषय व्यक्तिअनुसार फरक होला । हुन त कर्मचारी भन्ने वित्तिकै जनतालाई दुःख दिन्छन्, पैसा नभइ काम गर्दैनन् भन्ने परेको छ । केही सिमित कर्मचारीहरु आचरण गुमेका, धेरै महत्वकाँक्षा राख्ने र नैतिक पतन भएका कर्मचारीहरु भ्रष्टाचारमा रमाउँछन् । तर सबै कर्मचारी त्यस्ता हुँदैनन् । समाजमा केही गरौंँ, सेवाग्राहीलाई छिटो काम गरेर पठाऔं भन्ने अशल नियत भएका कर्मचारीहरु पनि छन् । तर एक जना नराम्रो भयो भने ९९ जना पनि नराम्रा हुन्छन् भन्ने छैन ।

जीवनको पहिलो खुशी, श्रीकृष्ण र श्रीङ्खला
म सानैदेखि संघर्षमा हुर्किएको मान्छे । कर्म प्रतिको इमान्दारितामा रमाउने भएकै कारण वियोगान्त क्षणहरु छैनन् । उच्च शिक्षा अध्ययन गर्दाका केही दुःखका पलहरु भने छन् । यही कारण होला सानातिना दुःखलाई दुख नै भन्न छोडेको छु । तर खुशीका पलहरु पनि धेरै छैनन् । किनकी दुःख, संघर्ष र कर्मप्रतिको लगाव नै मेरो खुशीहरु हुन् । तर परिवारमा एकैपटक श्रीकृष्ण र श्रीङ्खला (जुम्ल्याह छोराछोरी) को आगमन नै मेरो जीवनको पहिलो खुशी हुन् ।

नरेन्द्रकुमार विक
सूचना तथा सञ्चार प्रविधि अधिकृत,
गुर्भाकोट नगरपालिका, सुर्खेत


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार