‘व्यवसाय उस्तै, तर तरिका फरक’

गुल्मीमा जन्मिए पनि कर्मथलो सुर्खेत बनाएका सुदर्शन श्रेष्ठ आँटिला व्यापारी हुन् । जहाँ जोखिम त्यहीँ जम्ने शाहस बोक्ने श्रेष्ठ २०२८ सालमा गुल्मीमा जन्मिए । दुई वर्ष गुल्मीमै विताए पनि जीवनका आरोह अवरोह सुर्खेतमै वेतित गरिरहेका छन् । सबै परिवार सुर्खेत आएका श्रेष्ठ सानैदेखी जोखिमकै काम गर्न रुचाउँथे । खुलेरै आफ्ना संघर्ष साटेका सुदर्शन भन्छन्, ‘चलनचल्तीका काम त सबैले गरेकै छन् । त्यही व्यवसायलाई अलि फरक शैलीमा कसरी गर्ने र नागरिकलाई गुणस्तरिय सेवा दिनमै ध्यान दिइरहेँ ।’ आजको जम्काभेटमा प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

व्यवसायमा प्रवेश
कक्षा १० सम्म पढेका श्रेष्ठले जीवनमा थुप्रै संघर्ष गरे । कागजी शैक्षिक प्रमाणपत्र नभए पनि अध्ययनमा उनको जाँगरता ओइलाएको छैन । उनको अचम्मको स्वभाव के छ भने उनले जहाँ हात हाले, त्यहीँ तरङ्गीत पारेर आफ्नो व्यवसायलाई स्थापित गरेका छन् ।

२०४१ सालमा विस्तारै बस्तीको स्वरुप लिँदै गरेको वीरेन्द्रनगरमा सुर्खेतकै पहिलो चिउरा मिल र सेलर मिल स्थापना गरे । संघर्षशील बुवा आमाकै प्रेरणाले आज यो स्थानसम्म आइपुग्ने हिम्मत मिलेको श्रेष्ठ बताउँछन् । व्यवसाय प्रवेशसँगै उनको पढाइमा ब्रेक लाग्यो । २०४५ सालमा उनीसहितको टोलीले वीरेन्द्रनगरकै शनीहल लाइनमा शनी चलचित्र हलको स्थापना गरे । झण्डै दुई दशकसम्म शनिहलको नाम चर्चामै रह्यो ।

यातायात समितिमा आवद्ध
‘शनिहल सञ्चालन रहेकै बेला २०५४ सालमा सुर्खेतमा ट्रक समितिको स्थापना गरेका थियौं’ श्रेष्ठ भन्छन्, ‘अहिलेको जस्तो प्रविधिको विकास थिएन । सिक्ने अवसर कहीँबाट मिलेन । जति गरियो हेर्दै अनुभव बटुल्दै व्यवसायमा होमिरहेको थिएँ ।’ अहिलेको मध्यपश्चिमाञ्चल ट्रक तथा ट्याक्टर व्यवसायी समितिका श्रेष्ठ संस्थापक सचिव हुन् । देशमा सशस्त्र द्वन्द्व चल्दा उद्योगधन्दा, व्यापार व्यवसाय धराप प¥यो । २०५४ पछि २०६२ सम्म गरिरहेकै व्यवसायमा स्थापित बाहेक खास प्रगती श्रेष्ठले गरेनन् ।

द्वन्द्वको अवसानपछि श्रेष्ठले सुर्खेतमै पहिलो पटक माइक्रो गाडीहरु भियभयाउने योजना बुनेका श्रेष्ठलाई स्थापित केही यातायात समितिले अवरोध गरे । तर हिम्मत हारेनन् । ४१ दिनसम्म यातायात व्यवस्था कार्यालयमा धर्ना दिए । अन्ततः रुटपरमिट लिएर २०६२ सालमा मध्यपश्चिम माइक्रो यातायात समितिमार्फत किया गाडीहरुबाट सेवा सुरु गरे । ६ वर्षसम्म त्यहीँ समितिमा सचिव भएर काम गरेको श्रेष्ठ बताउँछन् ।

संस्कृति ज्वैलर्सको जन्म

माइक्रो गाडीको व्यवसाय स्थापित गरेपछि श्रेष्ठले वीरेन्द्रनगरमै पृथक व्यवसाय गर्ने योजना बुने । सुनचाँदी व्यवसाय शुरु गर्न उनले तीनवर्ष अनुसन्धान गरे । ‘पुर्खाले नगरेको व्यवसायप्रति ग्राहकहरुलाई कसरी विश्वास दिलाउने भन्ने चुनौती थियो’ श्रेष्ठ भन्छन्, ‘धेरै समय लगाएर अन्ततः संस्कृती ज्वैलर्सको आरम्भ गर्ने सोच जाग्यो । अन्तत सुन जाँच्ने मेशीन हुन्छ भन्ने थाहा पाएपछि एक करोड १५ लाखको लागतमा मेशीन भित्राएँ र २०७३ सालदेखी व्यवसाय शुरु गरँे ।’
सुनचाँदी पसल खोलेपछि निकै तरङ्गीत बनाएका श्रेष्ठले थुप्रै झमेला झेले । गुणस्तर प्रमाण चिन्ह पाएको सुन जाँच्ने टन्च मेशीन भित्राएकै कारण श्रेष्ठ विरुद्ध कुर्लिनेहरु आफै ठेगान लागे ।
‘फरक व्यवसाय गर्ने सोचकै कारण अहिले सुनचाँदी व्यवसायमा स्थापित भएको छु’ श्रेष्ठले भने, ‘राज्यकै नीति नियममा रहेर काम गरेँ । त्यसैले पनि होला सबैको माया र हौसला पाएको छु । ग्राहकहरुलाई पनि सुनचाँदीमा पूर्ण सुन्तुष्टि दिएको छु ।’
सुनमा किडिएम रसायन मिसाउने प्रवृत्ति रहेछ, सुन जाँचेर मात्रै ग्राहकलाई विक्री गरेपछि व्यवसाय सफल भएको उनको ठम्याई छ । संस्कृती ज्वैलर्सको शाखा नेपालगञ्जमा खोलेर व्यवसाय शुरु गरिसकेका छन् श्रेष्ठले । निकट भविष्यमै दैलेखमा पनि शाखा विस्तार गर्ने सोच रहेको उनले बताए । चाँदीको मात्रै छुट्टै पसल खोल्ने उनको योजना छ । हाल उनले दैनिक १९ जनालाई रोजगारी दिएका छन् ।

तपाईको प्रतिक्रिया