कोरोनाको परीक्षणमा कर्णालीका सबै रिपोर्ट नेगेटिभ (भिडियाे सहित)

सुर्खेत, २० चैत ।
सुर्खेतमा कोरोना भाइरसको परीक्षण सुरु भएको छ । प्रदेश अस्पतालको प्रयोगशालामा बिहीबारदेखि परीक्षण सुरु भएको हो । बिहीबार चार जनाको कोरोना परीक्षण गरिएको थियो । पहिलो दिन परीक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ आएका छन् । अर्थात उनीहरुमा कोरोनाको संक्रमण देखिएको छैन ।

वीरेन्द्रनगस्थित अशोका होटलमा राखिएका तीन जना र अर्का एकजना गरी चार जनाको कोरोना परीक्षण गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोसीले जानकारी दिइन् । क्वारेन्टाइनमा बसेका तीनै जना भारतबाट आएका हुन् । तर उनीहरुको ठेगाना गोप्य राखिएको छ । अर्का एकजना भने सुर्खेतकै स्थानीय हुन् । कोरोनासँग मिल्दाचुल्दा लक्षण देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए ।

परीक्षण सुरु गरिएको करिव ६ घण्टामा चार जनाको रिपोर्ट सार्वजनिक गरिएको हो । आज (शुक्रबार) बाट भने एक दिनमा १० देखि १५ जनाको कोरोना परीक्षण गरिने भण्डारीले जानकारी दिइन । आज परीक्षणका लागि १३ जनाको स्वाब थ्रोट संकलन भइसको छ । कोरोनाको परीक्षणका लागि प्रदेश स्वास्थ्य निर्देशनालय प्रयोगशालामा ११ जनाको टोली खटिएको छ । उक्त टोलीलाई संघीय सरकारले विशेषज्ञका रुपमा डाक्टर रामकृष्ण श्रेष्ठले गाइड गर्ने गरिरहेका छन् । प्रयोगशालामा खटिएका चिकित्सकलाई करिव एक हप्ता गाइड गरेपछि श्रेष्ठ काठमाण्डौं फर्किने छन् ।

यसअघि मेसिनको गुणस्तरियता मापन गर्न टेकुस्थिति केन्द्रिय प्रयोगशालामा पठाइने भनिए पनि सबै रिर्पाेर्टहरु नेगेटिभ आएका कारण तत्काललाई काठमाण्डौं पठाइने छैन । पुनः परीक्षण आफैमा महत्वपूर्ण भए पनि शंकास्पद नभएका कारण तत्काल काठमाण्डौ नपठाउने स्वास्थ्य निर्देशक भण्डारीले बताइन् । ‘ क्रसचेक गर्नु राम्रो हो, तर शंका गर्ने ठाउँ छैन । जसले गर्दा केन्द्रमा पठाउँदैनौँ’ भण्डारीले भनिन्, ‘केन्द्र सरकारले विशेषज्ञ खटाएको छ, तर पोजिटेभ केश आएको खण्डमा सोच्न सकिन्छ ।’ यसअघि बिरामीको नमूना परीक्षणका लागि काठमाण्डौ पठाउने गरिएको थियो । सुर्खेतमै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो भएको छ ।

सुर्खेतमा यो प्रविधि आएसँगै अब कर्णालीमा संकलन भएको नमूना यतै परीक्षण हुनेछन् । विश्वभर नै कोरोनाको त्रास फैलिएपछि नेपाल सरकारले चीनबाट कोरोना परीक्षण सहितका उपकरण ल्याएको थियो । चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेसिनसहित अन्य उपकरणहरु सुर्खेत ल्याइएको थियो ।

सुर्खेतमा कोरोना परीक्षण सुरु भएपछि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि कोरोनाको नमूना परीक्षणका लागि कर्णालीवासी काठमाडौको भर पर्नुपथ्र्याे । जिल्लाबाट कोरोना शंकास्पद बिरामीको नमूना परीक्षणका लागि स्वाव संकलगन गरी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने गरिन्थ्यो । नमूना पठाएको झण्डै एक हप्तादिन मात्रै रिपोर्ट आउने गरेको थियो ।

३२ वटा रिपोर्ट नेगेटिभ
कर्णाली प्रदेशबाट अहिलेसम्म परीक्षण गरिएका सबै रिपोर्ट नेगिटिभ (कोरोना नभएको आएको छ । स्वास्थ्य निर्देशक भण्डारीका अनुसार अहिलेसम्म कर्णालीमा ३२ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा सबै रिपोर्ट नेगेटिभ आएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौंमा पठाइएका २८ र प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशाला सुर्खेतमा चार जनागरी हालसम्म ३२ जनाको कोरोना परीक्षण गरिएको छ ।

केन्द्रमा ३१ वटा नमुना पठाएकोमा तीन जनाको रिपोर्ट आउन बाँकी छ । बुधबार हेलिकोप्टरबाट पठाएका तीन वटा नमुनाको रिपोर्ट आए पनि आधिकारीक रुपमा जानकारी आएको छैन । यद्यपी कर्णालीका सबै रिपोर्ट नेगेटिभ आउने निर्देशनालयको भनाइ छ । सुर्खेत, सल्यान, रुकुमपश्चिम र जुम्लाबाट संकलन गर्दै नमुना काठमाण्डौं पठाइएको थियो ।

रोजगारीका लागि अधिकांश नागरिक भारत गएका कारण कर्णाली प्रदेश कोरोनाको उच्च जोखिममा रहेको छ । प्रदेश सरकारले कोरोना फैलिन नदिन तेस्रो मुलुक र भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेर निगरानी गर्दै आएको छ । प्रदेश सरकारले र स्थानीय तहले गाउँगाउँमा क्वारेन्टाइन निर्माण गरेका छन् । भारतबाट गाउँ फर्किएका नागरिकलाई स्थानीय जनप्रतिनिधिले निगरानीमा राख्दै आएका छन् ।

https://www.youtube.com/watch?v=8K3YcxfetFw

तपाईको प्रतिक्रिया