सुर्खेत (सिम्ता), १७ चैत ।
सिम्ता गाउँपालिका सुर्खेतले एकै दिनमा भारत र तेस्रोमुलकबाट आएका आफ्ना नागरिकहरुको विवरण तयार गरेको छ । कोरोना भाईरसको सन्त्रास (कोभिड–१९) नियन्त्रण, रोकथामका लागि स्वास्थ्य अवस्था सहितको विवरण संकलन गरिएको हो । सिम्ता गाउँपालिकाले संकलन गरेको स्वास्थ्य अवस्थासहितको विवरणमा भारत र तेस्रोमुलुकबाट (देशबाट) फकिएका २ जना नागरिकमा ज्वरो देखिएको जनाइएको छ ।
ज्वरो देखिएका २ जनालाई घरमै आराम गरिरहेको जनाइएको छ । कोरोनाको लक्षण देखिएमा तत्काल उदार गरी उनीहरुको थप उपचारको व्यवस्था गाउँपालिकाले मिलाउने अध्यक्ष केसीले जानकारी दिए । भारत र तेस्रो मुलकबाट फर्किएका सबै नागरिकहरु होम क्वारेन्टाइनमा सुरक्षित रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सबै स्थानीय तहहरुलाई आ–आफ्नो कार्यक्षेत्र भित्र भारत तथा तेस्रो मुलकबाट आएका नागरिकहरुको तथ्याङ्क तथा स्वास्थ्य विवरण संकलन गरी उपलब्ध गराउन पत्राचार गरेको थियो । जिल्ला प्रशासनको पत्र प्राप्त भएपछि सबै वडाका टोल स्तरमा युनिट एक्सन ग्रुप गठन गरी सिम्ता गाउँपालिकाले एकै दिनमा आफ्ना नागरिकहरुको विवरण तयार गरेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए ।
सिम्ताका ९ वटा वडामा कोरोना भाईरसको सन्त्रासपछि भारत र तेस्रो मुलकबाट गरी १५२ जना घर फर्किएको पाइएको छ । भारतबाट १४५ जना, कतारबाट १ जना, मलेसियबाट २ जना र साउदीबाट ४ जना गरी १५२ जना नागरिक घर फर्किएको जनाइएको छ ।
सिम्ता गाउँपालिका–१ घोरेटामा भारतबाट ८ जना, कतारबाट १ र मलेसियबाट २ जना नागरिक यो घर फर्किएका छन् । सिम्ता–२ काफ्कोटमा भारतबाट ८ जना, सिम्ता–३ आग्रीगाउँमा भारतबाट २१ जना, सिम्ता–४ बजेडीचौरमा भारतबाट ११ जना, सिम्ता–५ बजेडाआलीमा भारतबाट ९ जना नागरिकहरु घर फर्किएका बजेडाआलीमा १ जनामा सामान्य ज्वरो देखा परेको छ ।
त्यसैगरी सिम्ता–६ राकममा भारतबाट २३ जना, सिम्ता–७ काप्रिचौरमा भारतबाट ११ जना, सिम्ता–८ डाँडाखालीमा भारतबाट २५ जना र साउदीबाट १ जना, सिम्ता–९ खानीखोलामा भारतबाट २९ जना र साउदीबाट ३ जना नागरिक यो अवधिमा घर फर्किएका मध्ये १ जनामा सामान्य ज्वरो देखिएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए ।
चिन र दक्षिण कोरियामा नियन्त्रणका लागि अपनाईएको विधि क्षेत्र तोकेर त्यहाँ युनिट गठन गरेर त्यहिका स्थानीय नागरिकलाई जागरुक बनाएर बाहिरबाट आउन नदिने, आएका नागरिकको निगरानी गर्ने, लक्षण देखिएमा तत्काल फैलिन नदिन कदम चाल्ने विधि अवलम्बन गरिएको छ ।
पालिकामा अध्यक्षको नेतृत्वमा पालिका स्तरिय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति गठन गरिएको छ । ९ वडामा वडा अध्यक्षको नेतृत्वमा वडा स्तरिय समन्वय समिति गठन गरिएको छ भने सबैभन्दा तल्लो टोल स्तरको समन्वय समिति युनिट गठन गरिएको छ । टोलको संयोजक वडा संयोजकसंग र वडा संयोजक गाउँपालिका संयोजकसंग समन्वय गर्ने गरिएको छ । सिम्ता गाउँपालिकामा ३ वटा तहमा काम भैरहेको छ । विवरण संकलन, रजिष्ट्रेसन, रेकर्ड, अवस्था पहिचान, घरको पारिवारिक विवरण राखेर दैनिक निगरानी गर्नेकाममा टोल युनिटको भूमिका महत्वपूर्ण रहेको छ ।
सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु समेत खटाइएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए । प्रत्येक दिन साँझ फोनबाट सूचना संकलन गरी आवश्यक कदम चालिने जनाइएको छ । यो विधि सबै स्थानीय तहहरुले अवलम्बन गरेको खण्डमा कर्णालीमा कोरोना भाईरस पूर्ण रुपमा नियन्त्रण हुने, फैलिन नपाउने हुँदा यो विधि सबैले अवलम्बन गर्न अध्यक्ष केसीको सुझाव छ ।
युग संवाददाता । । १७ चैत्र २०७६, सोमबार १३:४४