सुर्खेत, १७ चैत्र ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत कर्णाली प्रदेशका लागि प्राप्त हुने स्वास्थ्य सामाग्रीसहित सुर्खेतका लागि उडने तयारी गरेका छन् । नेपाली सेनाको स्काइ ट्रक हेलिकाेप्टरमार्फत कर्णालीका लागि प्राप्त स्वास्थ्य सामाग्री लिएर राज्यमन्त्री रावत (विहान ७ः४५ बजे यो समाचार तयार गर्दा) सुर्खेत आउने तयारीमा रहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री ल्याएर राज्यमन्त्री आउन लागेका हुन ।
स्वास्थ्य राज्यमन्त्री रावतले www.yugnews.com युग न्यूज अनलाईनसंग कुरा गर्दै कोभिड–१९ को नियन्त्रण, उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री सरकारले जुटाईरहेको बताए । उनले भने ‘सरकारले कोभिड–१९ परिक्षण केन्द्र सातै प्रदेशमा स्थापना गर्ने निर्णय गरेको छ । सोही निर्णय बमोजिम कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा विशेषज्ञ स्वास्थ्यकर्मी समेत खटाईएको छ ।’ कर्णाली प्रदेश अस्पतालमा कोभिड–१९ परिक्षण विशेषज्ञ डा. महेन्द्र प्रसाद भट्ट, रामकृष्ण श्रेष्ठ, सुनिल प्रसाद लेखक खटाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।
कर्णाली प्रदेशका लागि प्राप्त स्वास्थ्य सामाग्री सुर्खेत विमानस्थलमा झारी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरी कर्णालीका सबै अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु सम्म पुग्ने व्यवस्था मिलाइने जनाइएको छ ।
सरकारसँग किनेका र अनुदानका सहित अब करीव एक लाख ‘टेस्टिङ किट्स’ हरु छन् । सोमबार सबै प्रदेशमा ती सामान र उपकरण पुगेपछि एक साताभित्रै धेरैमा परीक्षण गर्ने तयारी छ । एक सातामा सातै प्रदेशबाट ३० हजारभन्दा बढी मान्छेको परीक्षण गर्न सकिने आँकलन भए पनि सरकारले संख्या भने तोकेको छैन ।
विदेशबाट आएर क्वारेन्टाइनमा बसेका वा विदेशबाट आएर पनि स्वास्थ्य परीक्षण गर्न नचाहेकाहरुलाई खोजी–खोजी परीक्षण गर्ने सरकारी अधिकारीहरु बताउँछन् । त्यसका लागि प्रदेश सरकार र स्थानीय सकारलाई बढी जिम्मेवारी दिइने छ । धेरैजसो स्थानीय तहले विदेशबाट आएकाहरुको विवरणसमेत संकलन गरिसकेका छन् ।
प्रदेशस्तरमा ल्याब स्थापनाका लागि केही सामान आइसकेकाले सोमबारबाटै काम शरु हुने विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार प्रादेशिक अस्पताल जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा कर्मचारी तथा विज्ञहरुको टिम खटाइसकिएको छ । मन्त्रालयका अनुसार सोमबार बिराटनगर, बुटवल, सुर्खेत र धनगढीका लागि आवश्यक उपकरण तथा चिकित्सक सुरक्षा सामाग्रीहरु सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण हुँदैछन् ।
स्रोतका अनुसार एउटा प्रादेशिक अस्पताललाई यो चरणमा एक हजार थान पीपीई (चिकत्सकका व्यक्तिगत सुरक्षा उपकरण) दिइनेछ । त्यस्तै स्वास्थ्यकर्मीलाई आवश्यक एन–९५ मास्क १० हजार थान दिइनेछ भने १० हजार थान सर्जिकल मास्क दिन तयार पारिएको छ । केन्द्र सरकारले प्रदेशलाई २ हजार थान ग्लोब (पञ्जा), चार चार सय किलोग्राम क्लोरिन र दश–दशवटा थर्मल गन हस्तान्तरण गर्ने भएको छ । यति भएपछि पहिलो चरणमा परीक्षणको काम सहज हुने र अरु सामान एक दुई दिनमै पुनः सरकारले ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विभागका महानिर्देशक श्रेष्ठले भने– हामीले मगाएका अत्यावश्यक सामानहरु आइसकेका छन् । अब ती ठाउँमा ल्याब तत्काल शुरु गरेर बढी भन्दा बढी परीक्षण गर्ने काम थाल्छौं । हामीले विदेशबाट फर्किएकाहरुलाई आफैं परीक्षण गर्न आउनुस भनेका छौं र खोजेर ट्रेस गर्छौं र सबै ठाउँमा धेरै संख्यामा परीक्षण गर्छौं ।
चीनबाट के–के आयो
चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका छन् । पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी आशंकित व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण गर्ने भएको छ । चिकित्सकहरुको व्यक्तिगत सुरक्षा उपकरण पीपीएसहितका टेस्ट किटहरु आइसकेकाले अब तीब्र रफ्तारमा संक्रमण परीक्षण हुने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आइतबार मिडियामा बताए ।
चिनियाँ निजी कम्पनी र दूतावासमार्फत अनुदानमा आएका सामानसमेत सातै प्रदेशमा वितरण गरिने स्वास्थ्य मन्त्री ढकालले बताए । ती सबै सामान र उपकरण संक्रमण परीक्षणका लागि आवश्यक हुन् ।
के–के आए सामान ?
नेपाल सरकारले चीनबाट किनेर ल्याएका अत्यावश्यक सामाग्रीमध्ये प्रोटेक्टिभ गगल्स ५ हजार थान छन् । त्यस्तै कोभिड १९ कै लागि निर्मिर्त यापिड डायग्नोस्टिक किट ७५ हजार थान आइपुगेका छन् । मन्त्रालयका अनुसार पाँचवटा पोर्टेबेल पीसीआर मेसिन ल्याइएको छ भने त्यसका लागि आवश्यक किट २० हजार थान आइपुगेका छन् । यो बाहेक सर्जिकल मास्क, पञ्जा, क्लोरिन, थर्मल गन पीआईआर लगायतका सामान छन् । चीनका विभिन्न व्यापारिक कम्पनी र सिचुवान प्रदेशबााट अनुदानमा ल्याइएका एन ९५ मास्क, पीपीईलगायतका आवश्यक मेडिकल सामग्रीहरु सोमबारबाटै तोकिएका अस्पतालहरुमा पु¥याइँदैछ ।
अहिले आएका सामग्री तत्काल धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गर्नका लागि पर्याप्त रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । सरकारले काठमाडौं बाहिर पनि कोभिड १९ संक्रमणको जाँच गर्न सोमबारबाटै ल्याबहरु स्थापना गर्दैछ । त्यसका लागि पनि आवश्यक सामाग्रीहरु आइसकेकाले अब सरकारको ध्यान धेरैभन्दा धेरै मान्छेमा परीक्षण गरेर ढुक्क हुनेतर्फ केन्द्रित रहने मन्त्रालयका अधिकारीले बताएका छन् ।
काठमाडौं बाहेक धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाटै कोभिड १९ संक्रमणको जाँच प्रयोगशाला शुरु भइसकेको छ । सोमबार विहान १० बजेभित्र सातै प्रदेशका सरकारलाई चीनबाट किनेर ल्याइएका उपकरण तथा अन्य सामाग्री हेलिकोप्टरबाट लगेर हस्तान्तरण गरिने मन्त्री ढकालले बताए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले सरकारले खरिद गरेका ११ प्रकारका सामग्रीहरुमध्ये अधिकांश चिकित्सकको सुरक्षा पीपीई र प्रयोगशालामा नमूना परीक्षणका लागि आवश्यक छन् । यसको वितरण आइतबारबाटै शुरु भइसकेको र प्रदेशहरुमा सोमबार विहानै पठाइने उनले बताए ।
देवकोटाले भने, ‘यो वितरण भयो भने धेरै समस्या हल हुन्छ । हामी धेरैभन्दा धेरै व्यक्तिमा परीक्षण गर्न सक्छौं । अहिलेसम्म जो–जो संक्रमित छन, उनीहरुका सम्पर्कका व्यक्ति ट्रेस भइसकेका छन् । उनीहरुसहित अन्य आशंकितहरुलाई पनि परीक्षण गरिनेछ । अब किट्स, पीपीई वा अन्य उपकरण नभएर परीक्षण हुन सकेन भन्ने अवस्था रहँदैन ।
अहिलेसम्म सरकारले एक हजारभन्दा तलको संख्यामा मात्रै नमूना परीक्षण गर्नुको कारण यी उपकरण र सुरक्षा सामाग्री नभएकै कारण हो त ? यो प्रश्नको सपाट जवाफ छैन । तर, चिकित्सकको व्यक्तिगत सुरक्षा सामग्री र टेकु बाहेक अन्यत्र प्रयोगशालासमेत नभएका कारण धेरै व्यक्तिको नमूना परीक्षण हुन नसेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
युग संवाददाता । । १७ चैत्र २०७६, सोमबार ०८:१५