दुर्गममा छैनन् स्वास्थ्य उपकरण
सुर्खेत, १५ चैत ।
घटना ः १
कोरोनाको संक्रमण रोक्न जुम्लाको हिमा गाउँपालिकाले ६ वटा स्थानमा हेल्थडेस्क राखेको छ । तर ती हेल्थडेस्कमा ज्वरो नाप्ने मेसिन (थर्मल गन) छैन । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीकाअनुसार स्वास्थ्यकर्मीले जोखिम मोलेर हाल थर्मोमिटरबाट ज्वरो नाप्ने काम गर्दै आएका छन् ।
काखिमा च्यापेर ज्वरो नापिने थर्मोमिटरको प्रयोगले संक्रमण सजिलै अर्काे व्यक्तिमा सर्ने सम्भावना हुन्छ । यदीकुनै व्यक्तिमा कोरोनाको संक्रमण भएको खण्डमा थर्मोमिटरकै कारणसजिलै अरुमा संक्रमण हुनसक्छ । जबकी एक मिटर टाढाबाटै ज्वरो नाप्न सकिने भएकाकारण कोरोनाको चेकजाँचका लागि सरकारले थर्मल गन सिफारिस गरेको छ ।तर हिमा गाउँपालिकाले भने हेल्थडेस्क सुरु गरेको हप्तादिनसम्म पनि थर्मल गन पाउन सकेको छैन । यो कार्यले कोरोना रोकथाम होइन, संक्रण फैलाउन उन्मूख देखिन्छ ।उपचारमा खटिने स्वास्थ्यकर्मीसँग व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) मात्रै होइन, ग्लोव र सेनिटाइजरसमेत छैन । उनीहरुले मास्कको भरमा हेल्थडेस्क सञ्चालन गर्दै आएका छन् ।
घटना २
दुर्गम जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले पनि गाउँमा कोरोनाको संक्रमण भित्रिन नदिन सात स्थानमा हेल्थडेस्क राखेको छ । नगरपालिको खदाङ्ग, त्रिपुराकोट, जुफाल, दुनै, त्रिवेणी बजार, इल, र चौरीकोट हेल्थडेस्क राखेको छ । तर त्यहाँ पनि थर्मल गन छैन । त्रिपुराकोट हेल्थडेस्कमा खटिएका अहेव शेरबहादुर कठायतकाअनुसार थर्मल गनका लागि नगरपालिकासँग अनुरोध गरे पनि उपलब्ध नहुँदा थर्मोमिटरबाटै काम चलाउनु परेको छ । यसबाट ज्वरो नाप्दा छालाका रोगीहरु र कोरोनाको संक्रमण सजिलै अर्काेसँग सर्ने उनको भनाइ छ । यदी कोरोनाको संक्रमण स्वास्थकर्मीलाई सरे हेल्थडेस्कमा आउने सबैलाई कोरोनाको फैलिन उनको दाबी छ । त्यहाँ पनि स्वास्थ्यकर्मीलेमास्ककै भरमा हेल्थडेस्क सञ्चालन गर्दै आएका छन् ।
घटना ः ३
दैलेखको महावु गाउँपालिकाले पनि ४ वटा नाकामा हेल्थडेस्क राखेको छ । ती हेल्थडेस्कमा पनि थर्मल गन छैन । सबै हेल्थडेस्कमा थर्मोमिटरले नै चेकजाँच भइरहेको छ । जलजले हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मी प्रेम बिस्टका अनुसार गाउँपालिकाका कुनै पनि हेल्थडेस्कमा ग्लोव र सेनिटाईजर छैनन् ।
उपकरण नहँुदा सोही गाउँपालिकाको ताराघाट हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मीले भने सामान्य सोधपुछ मात्रे गर्दै आएका छन् । गिताचौर हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मी युवराज शाहीकाअनुसार गाउँपालिकाले स्वास्थ्यकर्मीलाई सर्जिकल माक्ससमेत उपलब्ध गराउन सकेको छैन । त्यहाँ पनि पीपीइ सेट, ग्लोव र सेनिटाइजरको अभाव छ । महावुको यो कार्य पनि स्वास्थ्यकर्मीलाई जोखिम मात्रै होइन कोरोनाको रोकथामको सट्टा संक्रमण फैलाउनेतर्फनै केन्द्रित ।
उल्लेखित घटना केवल प्रतिनिधिमुलक मात्रै हुन् । विश्वलाइ नै त्रसित तुल्याएको कोरोनाको संक्रण फैलिन नदिन गाउँगाउँमा हेल्थडेस्क स्थापना गरिएका छन् । तर दुर्गमका अधिकांश हेल्थडेस्कले संक्रमण रोकथाम गर्नेभन्दापनि फैलाउनतर्फ उन्मूख छ ।आधारभूत स्वास्थ्य सामग्रीको अभावमा हेल्थडेस्कमा बसेका स्वास्थकर्मी नै असुरक्षित छन् । हेल्थडेस्कमा विदेशबाट आएका नागरिक मात्रै होइन, सन्चो विसन्चो थाहा पाउन स्थानीय नागरिकसमेत चेकजाँच गराउँछन् । यदी संक्रमितलाई स्वास्थ्यकर्मीले चेकजाँच गरेको खण्डमा स्वास्थ्यकर्मीबाटै हजारौंसँग रोग फैलिने सम्भावना रहन्छ । स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भन्नका लागि पीपीई सेट, ग्लोव र सेनिटाइजर जस्ता सामग्रीहरु अनिवार्य मानिन्छ ।
तर दुर्गमका हेल्थडेस्कले आधारभूत सामग्रीबिना हेल्थडेस्क सञ्चालन गरेका छन् । सक्रमण फैलन नदिने उद्देश्यले सञ्चालन गरिएका हेल्थडेस्कले संक्रमण रोकथाम भन्दा फैलाउन सक्ने सम्भावन देखिन्छ । स्वास्थ्यकर्मीहरुले आधारभूत स्वास्थ्य सामग्री माग गरेपनि स्थानीय तहले भने हेल्थडेस्कलाई ख्यालठट्टाकै रुपमा लिएका छन् । यसबाट नागरिकहरु असुरक्षित छन् भने स्वास्थ्यकर्मी पनि सुरक्षित छैनन् । आवश्यक उपकरण र सामग्री नहुँदा दुर्गमका स्वास्थ्यकर्मी आफै असुरक्षित बनिरहेका हुन् ।
प्रदेश सरकारले नदिएको, स्थानीय तहको गुनासो
यता स्थानीय तहले भने प्रदेश सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा जोखिम मोलेर हेल्थडेस्क सञ्चालन गर्नुपरेको बताएका छन् । ‘प्रदेश सरकारले दिएन, आफै किन्न खोज्दा बजारमा पाएनौँ’ हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले भने ‘मास्क नै नपाउनेले पीपीई सेट र सेनिटाइजर त सपना जस्तोभयो ।’ भारतबाट आएका २४ जना नागरिकलाई क्वारेन्टाइनमा राखेको गाउँपालिकाले स्वाथ्य उपकरणहरु किन्न चाहेपनि बजारमा नपाउँदा समस्या भएको दाबी गरेको छ ।
भारत गएका नागरिकहरु फर्कनेक्रम बढेपछि ६ वटा विद्यालयमा क्वारेन्टाइन बनाएको गाउँपालिकाले संक्रमण फैलिन नदिन प्रत्येक व्यक्तिलाई मास्क र हरेक घरधुरीलाई साबुन बाँढ्ने अभियान थालेको छ । तर मास्क नपाएपछि साबुनमात्रै वितरण गरेको गाउँपालिकाले जनाएको छ ।त्यस्तै देलेखको महावु गाउँपालिकाले पनि प्रदेश सरकारले स्वास्थ्य सामग्री नपठाउँदा जोखिम मोलेर हेल्थडेस्क सञ्चालन गरेको दाबी गरेको छ । गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीका अनुसार स्वास्थ्य सामग्री पठाइदिन प्रदेश सरकारसँग आग्रह गरेको बताए । ‘हेल्थडेस्कमा चाहिने आवश्यक सामग्री प्रदेशसरकारसँग मागेका छौं’ शाहीले भने, ‘बजारमा किन्न पाइदैन, सरकारले नपठाउँदासम्म वितरण गर्न सक्दैनौं ।’यस्तै त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुुर बुढाले पनि हेल्थडेस्कको सामग्रीको लागि प्रदेश सरकारकै भर परेको बताए । ‘हामीले स्वास्थ्य सामग्री किन्न नखोजेको होइन, तर बजारमै नपाएपछि समस्या भएको हो ।’ उनले भने, ‘डोल्पाबाट मास्क र सेनिटाइजर किन्न नेपालगञ्ज जान सक्दैनौ, प्रदेश सरकारले पठाइदिनुपर्छ ।’
प्रदेशलाई पनि केन्द्रको आश
स्थानीय तहले सञ्चालन गरेका हेल्थडेस्कमा स्वास्थ्य सामग्रीको अभाव छ । स्थानीय तहलाई प्रदेश सरकारले पठाइदेला भन्नेआश छ । तर प्रदेश सरकार आफैं पनि केन्द्र सरकारकै मुख ताकेर बसेको छ । ‘प्रदेश सरकारसँग पनि स्वास्थ्य सामग्री छैन, हामीले पनि केन्द्र सरकारसँग माग गरेका छौं’ कर्णाली प्रदेश सरकारका प्रवत्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘प्रदेशमा उत्पादन नहुँदा समस्या भएको हो, केन्द्र सरकारले पठाउने वित्तिकै स्थानीय तहमा पठाउँने छौं।’
प्रदेश सरकारको बिहीबार बसेका मन्त्रिपरिषद बैठकले रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरू आपुर्तीका लागि केन्द्र सरकासँग माग गरेको छ । तर केन्द्र सरकारले तत्काल स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने भएको खण्डमा भने प्रदेश सरकार आफैले खरिद तथा आपुर्ती व्यवस्था मिलाउने जनाएको छ ।कोरोना प्रतिकार्यका ५० करोड विपद कोष, सुरक्षा र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिएको प्रदेश सरकारका लागि स्वास्थ्य सामग्री र औषधि व्यवस्थापन चुनौतिपूर्ण बनेको सरकारको भनाइ छ । कर्णालीका तीन ठूला अस्पताल आइसोलेसन कक्ष बनाउन (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताललाई एक÷एक करोड र चौरजहारी सामुदायिक अस्पत्ताललाई ५० लाख बजेट उपलब्ध गराउने भएको छ । त्यस्तै कोरोनाको प्रतिकार्यका लागि दश वटै जिल्लामा ५० लाख बजेट पठाउने तयारी गरेको छ ।
युग संवाददाता । । १६ चैत्र २०७६, आईतवार १५:४१