कालीकोटका ५५ जना क्वारेन्टाइनमा

कालिकोट, १५ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न कालीकोटका चार स्थानीय तहका ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट मजदुरी गरेर घर फर्किएका सान्नीत्रिवेणी गाउँपालिकाका ३९, रास्कोट नगरपालिकाका ९, पचालझरनाका ७ र पलाँता गाउँपालिकाका २ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

कोरोनाको शंकास्पद लक्षण देखिएका बिरामीलाई राख्न कालीकोट अस्पतालमा चार वटा आइसोलेसन बेड निर्माण गरिएको छ । चार दिनअघि कालीकोट र दैलेखको सिमाना दैखोलामा स्वास्थ्य सेवा कार्यालयको अगुवाइ तथा यहाँका नौ वटै स्थानीय तहको सहयोगमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको थियो । त्यसयता भारतबाट मजदुरी गरेर कालीकोट फर्किनेको संख्या दुई सय ३७ जना रहेको कालिकोट प्रहरीका डीएसपी श्यामबाबु ओलियाले बताए ।

भारतबाट घर फर्किएकाहरु सबैलाई क्वारेन्टाइनमा बस्न सल्लाह दिए पनि नमानिरहेका उनको भनाइ छ। उनका अनुसार सामान्य लक्षण देखिएका सबैलाई स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्न भनिएको छ ।  यहाँको सान्नीत्रिवेणी गाउँपालिकाले भारतबाट फर्किएका १८ जनालाई बिहीबारदेखि लुयाटास्थित विद्याज्योतिमा माविमा, १४ जनालाई डाँडाखेतस्थित कालिका माविमा र ७ जनालाई मुम्रास्थित डाँफे माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए। उनले भारतबाट फर्किएका सबैलाई १४ दिनसम्म परिवारबाट छुट्टै बस्न भनिए पनि अटेर गरेको सुनाए ।


पलाँता गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन समितिको बैठकमार्फत भारतबाट फर्किएका सबैलाई घरसम्मै खोजेर क्वारेनटाइनमा ल्याई राख्ने र त्यसका लागि खान, बस्न लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने निर्णय गरेको छ । ज्याला, मजदुरीको लागि यहाँका धेरै मानिस भारत जाने गरेका छन् । खीन र भौलागोहका प्रायः सबै घरका पुरुष मौसमी कमाइ गर्न भन्दै सीमापार जाने गर्दछन् ।

उक्त गाउँपालिकाले एक सय ८० बेड क्यारेन्टाइनको लागि तयार पारेको जनाएको छ । कोरोना रोकथामका लागि ६० लाख बजेट खर्च गर्ने निर्णय पनि गरेको छ । यसैगरी, खाडाचक्र नगरपालिकाले ७४, रास्कोट नगरपालिकाले एक सय, सान्नीत्रिवेणीले ६५, पचालझरनाले ४९, नरहरिनाथले ५०, शुभकालिका गाउँपालिकाले ४०, महाबैले ४१ र तिलागुफा नगरपालिकाले २० वटा गरी जिल्लाभर ६ सय १९ बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार