कर्णालीको विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख सहयोग

सुर्खेत, १५ चैत्र ।
कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक सुर्खेतले १० लाख सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा उक्त रकमको चेक शनिबार हस्तान्तरण गरिएको छ ।

प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी शनिवार सिद्धार्थ बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोइरालाले १० लाख रुपैयाँको चेक र नौमुले गाउँपालिका–३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा ५१ हजार रुपैयाँको चेक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी रुपमा मानव जातिविरुद्ध आइपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदानप्रति मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गरे । ‘यो विश्वलाई नै कोरोनाले आक्रमण गरेको छ । यस्तो खालको आक्रमणबाट सबै जोगिन आवश्यक छ । त्यसका लागि अधिकतम प्रयास प्रदेश सरकारले गरिरहेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यो संकटको घडीको सामना गर्न सरकारले निर्माण गरेको कोषमा सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु ।

यसैगरी अन्य निजी क्षेत्रबाट पनि यसरी नै सहयोग हुने अपेक्षा गरेको छु ।’ विपद् कोषमा मुख्यमन्त्रीसहित मन्त्रीहरूले १ महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरिसकेका छन् भने मुख्यमन्त्री शाहीको निजी सचिवालयमा काम गर्ने राजनीतिक सल्लाहकार, प्रमुख सचिव, प्रेस सल्लाहकार लगायतले पनि एक महिनाको तलब जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया