सम्पादकीय : गाउँमा निगरानी बढाऊ

यतिबेला कोरोना भाइसरको संक्रमणले विश्व नै त्रसित छ । कोरोनाको त्रासका कारण नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । नेपाल सरकारले कोरोना रोक्न विभिन्न उपायहरु अपनाएको छ ।

पूर्वतयारी स्वरुप विभिन्न उपायहरु अपनाएको सरकारले पछिल्लो सयम मानिसहरुको भीडलाई कम गर्ने रणनीति अपनाएको छ । यही कारण सरकारले २५ जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ । लामो दुरीमा गाडी चलाउन पनि रोक लगाइएको छ । शैक्षिक संस्था बन्द गरिएको छ भने अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु पनि बन्द भएका छन् ।

सरकारी कदमसँगै यतिवेला मानिसहरुले सहर छोड्न थालेका छन् । अधिकांश मानिसहरु कोरोनाको त्रासकै कारण गाउँ पसेका छन् । मानिसहरु गाउँ पसेपछि सहरमा सुनसान हुन थालेको छ भने भीडभाड पनि कम भएको छ । विगतमा दशैंको मौकामा सहरहरु सुनसान हुन्थे । ठिक त्यसैगरी यतिवेला गाउँमा मानिसहरुको चहलपहल बढेको छ । सहरबाट गाउँ जानेहरुको लर्को नै लागेको छ ।

मानिसहरु गाउँ पसेपछि गाउँमा भीडभाड पनि बढेको छ यतिबेला । मानिसहरु गाउँ पसैसँगै कोरोनाको त्रास गाउँसम्मै पुगेको छ । हिजोआज गाउँ पस्नेहरुमा पनि मजदुरीका लागि भारत गएकाहरुको संख्या पनि धेरै छ । भारतमा रोजगारीबाट फिर्ता भएकाहरु स्वदेश फिर्ता भएका छन् । यतिवेला भारतमा पनि कोरोनाको संक्रमण छ । त्यसकारण पनि भारतबाट फिर्ता भएकाहरु गाउँमा फिर्ता भएका कारण त्रास बढेको छ ।

अर्कोतर्फ एकाएक मानिसहरु गाउँमा गएपछि स्थानीयमा त्रास बढ्दो छ । सहरको तुलनामा गाउँ सुरक्षित छन् । यसकारण की गाउँमा घरहरु टाढा छन् । मानिसहरुको सम्पर्क कम हुन्छ । एक हिसावले भन्दा गाउँका घरहरु आफैमा आइसोलेसन हुन् । तर यतिबेला गाउँमा जुन भीडभाड बढेको छ, त्यसले जोखिम पनि त्यतिकै बढाएको छ । हालसम्मको अवस्था हेर्दा सरकारी प्रयासहरु सहरी क्षेत्रमा बढी केन्द्रीत छन् ।

यस्तो अवस्थामा गाउँमा निगरानी कसले गर्ने ? यो गम्भिर सवाल अहिले देखा परेको छ । गाउँमा अहिले पनि सामान्य रुघाखोकी र ज्वरो आएमा उपचार नगर्ने र घरेलु उपचार गर्ने संस्कार छ । यसले पनि कोरोना रोकथाममा समस्या देखा पर्ने खतरा छ । अधिकांश गाउँमा स्वास्थ्य संस्था छैनन् । नागरिकहरु चिकित्सकको पहुँचमा छैनन् । औषधि र उपकरणको पनि अभाव छ । यस्तो अवस्थामा गाउँमा कुनै महामारी र संक्रमण फैलिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुनसक्छ । यसकारण पनि सरकारले अब गाउँमा निगरानी र अनुगमन बढाउनु पर्दछ ।

मानिसहरुको चाप गाउँमा बढेकाले स्वास्थ्य सेवालाई गाउँमा पनि केन्द्रीत गर्न आवश्यक छ । धामीको भरपर्ने सस्कार भएको हाम्रो जस्तो सामाजिक चेतनास्तर भएको स्थानमा बेलैमा सरोकारवालाले ध्यान दिन आवश्यक छ । समस्या उत्पन्न भएर त्यसको समाधानमा समय खर्चनुभन्दा पनि समस्याको सुरुवात नै हुन नदिनेतर्फ राज्यका प्रयासहरु हुन आवश्यक छ । यसो भएको अवस्थामा मात्र कोरोना रोकथामका प्रयासहरु सफल हुनेछन् ।

तपाईको प्रतिक्रिया