बाँकेको जमुनाह नाका एक साताका लागि बन्द

नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आइतबारबाट एक हप्ताका लागि बन्द गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको जानकारी दिए ।

‘सामानहरु आउँछन् तर यात्रुहरु आउन–जान पाउँदैनन्,’ उनले भने ।  प्रजिअ खड्काले अत्यावश्यक सेवामा भने रोक नलगाइने जानकारी दिए । भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो । छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) सहभागी थिए ।

यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो । भारतसँग जोडिएको खुल्ला सिमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि त्यहाँ कार्यरत नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् । सरकारले कोरोना भाइरसको रोकथामका लागि अन्तर्रा्ष्ट्रिय हवाई उडानलाई रोके पनि भारतसँग जोडिएका सीमानाका बन्द गरेको छैन ।

भारतीय सीमाबाट आएकालाई होम क्वारेन्टाइनमा राख्न निर्देशन

सरकारले भारतीय सीमाबाट नेपाल भित्रिएका नेपाली नागरिकलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । साथै होम क्वारेन्टाइनमा बसे नबसेको हेर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु पछिल्लो समय घर फर्किने क्रम बढ्दो छ । सीमा नाकाहरुमा चेकजाँच गरेर कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखिएकालाई अस्पताल लगिने गरिएको छ भने अन्य आ–आफ्नो घर जाने गरेका छन् । तर सबैको कुन जिल्ला, कुन स्थानीय तह र वडामा जाने हो, त्यसको विवरण राख्न भनिएको छ ।

यो विवरण सम्बन्धित जिल्ला वा स्थानीय तहलाई जानकारी गराइने छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा भन्छन्, ‘त्यसआधारमा क्वारेन्टाइनमा बसेनबसेको हेर्न निर्देशन दिएका छौं ।’ मन्त्रालयले विदेशबाट आएको व्यक्ति होम क्वारेन्टाइनमा नबसेको पाइए खबर गर्न समेत आग्रह गरेको छ । गृह मन्त्रालयले सीमा क्षेत्रमा अनुगमनलाई तीब्र बनाएको छ ।  महामारीको मौका छोपेर हुनसक्ने कालोबजारी नियन्त्रण र अनुगमनलाई पनि तीब्र बनाइएको जनाइएको छ । जिल्लाका कर्मचारीलाई पनि कोभिड–१९ रोकथाम तथा नियन्त्रण लागि बनाइएको ‘एक्सन प्लान’ मा केन्द्रीत गरिएको अधिकारीले बताए ।

आाजदेखि सार्वजनिक यातायात बन्द

सरकारले लामो दूरीमा चल्ने निजी सवारीलाई नरोक्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनमा चैत १० गते (आज) बाट लामो दूरीका सबै किसिमका यात्रुबहाक सवारीलाई रोक्ने घोषणा गरेका थिए ।

यसलाई स्पष्ट गर्दै प्रधानमन्त्री कार्यालयले लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई नरोक्ने बताएको छ । यसअघि यातायात व्यवस्था विभागले लामो दूरीमा कार र मोटरसाइकलमा पनि यात्रा गर्न नपाइने भनेको थियो ।

प्रधानमन्त्रीको घोषणालाई ब्याख्या गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्च स्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले लामो दूरीका यात्रु बोक्ने सार्वजनिक सवारी मात्रै रोकिने बताए । उनले एम्बुलेन्स सहित अत्यावश्यक सेवामा सार्वजनिक सवारी पनि चलिरहने जानकारी दिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने गरी सार्वजनिक सवारी रोकिने बताउँछन् । उपत्यकाको नाकाहरुबाट जान र आउन नपाउने गरी सार्वजनिक यातायातका साधन बन्द हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया